Logo

फर्निचर एक्स्पो भदौ अन्तिम साता

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ ।
कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी २३ देखि २७ भदौसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।
नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजकको छ ।
संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्राय अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ । फर्निचर व्यवसायमा आबद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको पनि जोशीले बताए। पछिल्लो पटक २०७६ भदौ अन्तिम साता सातौँ संस्करणको एक्स्पो आयोजना भएकोमा कोरोना महामारीका कारण पछिल्ला २ वर्षसम्म एक्स्पो आयोजना हुन सकेको थिएन ।
५ दिनसम्म चल्ने एक्स्पोमा १ सय २० भन्दा बढी स्टल रहनेछन्। किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्