‘हामी उभिएको धरातल’को रिमिक्स म्युजिक भिडियो

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर प्रांगणमा ‘हामी उभिएको धरातल’ बोलको गीतको रिमिक्स म्युजिक भिडियो छायांकन गरिएको छ । ग्रेटर नेपाल नामक संस्थाले रिमिक्स गरी अहिलेको परिवेशअनुसार सम्पदादेखि सहरसम्मको दृश्यलाई कैद गर्दै नयाँ स्वरुपमा छायांकन गरी म्युजिक भिडियो निर्माण सुरु गरेको हो ।
म्युजिक भिडियोको शुभमुहूर्त गर्दै प्रतिनिधिसभा सदस्य एवं कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाले सम्पदादेखि वातावरण संरक्षण गर्ने सन्देश बोकेको गीतलाई अन्तर्राष्ट्रिय स्तरको भिडियो निर्माण गरी सबैमा सन्देश फैलाउने उद्देश्य रहेको बताए । सांसद थापाले देशमा लोकतन्त्र आएपछि शिक्षा, स्वास्थ्य, सञ्चारलगायत क्षेत्रमा आमूल परिवर्तन आएको दाबी गरे ।
सामाजिक र राजनीतिक क्षेत्रको कालजायी गीतले देशलाई युवा पुस्ताले माया गर्ने सन्देश प्रवाह गर्दै सम्पदादेखि वातावरण संरक्षणसम्म, सडकदेखि संरचनासम्म भएको विकासलाई सन्देशपूर्ण रुपमा लैजाने थापाको धारणा थियो । चाँगुनारायणका मेयर जीवन खत्रीले ऐतिहासिक चाँगुनारायण मन्दिर सम्पदालाई नगरकोट भ्रमण वर्ष अवसरमा विश्वभर प्रचारमा लाग्न म्युजिक भिडियो सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री एवं कांग्रेस नेता कृष्णलाल भँडेल र चाँगुनारायण मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले मन्दिरको उत्पत्तिदेखिको ऐतिहासिक पक्षबारे चर्चा गरेका थिए । म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी सुचित्रा श्रेष्ठले गरेकी हुन् । कार्यक्रममा संगीतकार सुनील उप्रेती, गायक प्रवेशमान शाक्य, प्राश्ना शाक्य, भीम तुलाधार, रविन महर्जन, कलाकार रश्मी भट्टलगायत कलाकार सहभागी थिए ।