पोखरामा हुवावे सुपर ईभी फास्ट चार्जिङ सेन्टर

पोखरा– पर्यटकीय नगरी पोखरामा अत्याधुनिक प्रविधिसहितको सुपर फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । इनर्जी इन्भाइरोमेन्ट कस्ट्रक्सन एन्ड इन्जिनियरिङ (क्लिक इनर्जी)ले पोखरा–सिमलचौरमा ५०० किलोवाट लोड क्षमताको सुपर फास्ट हब ईभी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।
२ करोड ४ लाख लागतमा सञ्चालनमा आएको उक्त ईभी चार्जिङ स्टेसन चौबीसै घन्टा खुला हुने कम्पनीका अध्यक्ष इन्दिरा शर्मा भण्डारीले बताइन् । चार्जिङ स्टेसनमा एकैपटक १० वटा ईभी चार्ज गर्न सक्ने क्षमता रहेको उनको भनाइ छ । स्टेसन गाडीचार्ज प्रालिसँगको साझेदारीमा ‘गाडीचार्ज फ्रेन्चाइज मोडल’अन्तर्गत स्थापना गरिएको हो ।
हबमा पाँच वटा चार्जर राखिएका छन्, जसअन्तर्गत तीन वटा डुअल गन डिस्पेन्सरले २४० किलोवाट क्षमतामा ६ वटा गाडी एकैसाथ चार्ज गर्न सक्नेछन् । बाँकी २ वटा डुअल गन चार्जरमार्फत ८० किलोवाट क्षमतामा थप ४ वटा सवारी चार्ज गर्न सकिनेछ ।