कैलाली उवासंघमा ५० जनाको उम्मेदवारी

धनगढी– कैलाली उद्योग वाणिज्य संघको भदौ २८ मा हुने निर्वाचनमा ५० उद्योगी व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन् । ९ पदाधिकारी र १३ सदस्य गरी २२ पदका लागि हुने निर्वाचनमा २१ जनाले पदाधिकारी र २९ जनाले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
शुक्रबार दर्ता गरिएको उम्मेदवारीउपर दाबी विरोध र फिर्ता लिने समय शनिबार तोकिएको थियो । निर्वाचन समितिले शनिबार नै उजुरीउपर छानविन गरी अन्तिम नामावली प्रकाशन गरेको हो । अध्यक्षमा व्यवसायी पुष्करराज ओझा र रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । ओझा संघको वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् भने स्वाँर पूर्वमहासचिव हुन् ।
ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमबहादुर विष्टलगायतले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशीलगायतले उम्मेदवार दर्ता गराएका छन् । तीन जना पदाधिकारी र तीनै जना सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । भदौ २८ मा हुने मतदानमा संघमा आबद्ध दुई हजार दुई ७४ जना सदस्यले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।