Logo

मुक्तिनाथले बेच्याे ५५ लाखका सुन्तलाका बिरुवा

स्याङ्जा– मुक्तिनाथ कृषि कम्पनीले ५५ लाख बराबरको सुन्तलाका बिरुवा बिक्री गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ फापरथुममा अनुसन्धान तथा नर्सरी केन्द्र (फर्म) बनाएको कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा झण्डै ५५ लाखका २५ हजार सुन्तलाको बिरुवा बिक्री गरेको हो ।

फर्मबाट सुन्तलाका प्रतिबिरुवा २२० रुपैयाँमा बिक्री गर्दै आएको कम्पनीले पछिल्लो ३ वर्षदेखि व्यावसायिक रुपमा सुन्तलाजन्य बिरुवा उत्पादन गर्न थालेको छ । नर्सरीमा हाल ‘स्याङ्जा स्थानीय, खोको स्थानीय र बाँसखर्क स्थानीय’ गरी ३ जातका सुन्तला र सुन कागतीका कलमी बिरुवा उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।

कम्पनीको फर्ममा तयार भएको कलमी बिरुवाले छिटो उत्पादन दिने र गुणस्तरीय रहेको स्थानीय सुन्तला उत्पादक कृषक जितेन्द्र ठकुरीले बताए । सुन्तलाका बिरुवा तयार गरेकै वर्ष लगाएको बोटले उत्पादन दिन थालेको ठकुरीले सुनाए । फर्ममा उत्पादित बिरुवा स्याङ्जाका साथै तनहुँ, पाल्पा, गोर्खा, पर्वत, धरान र धनकुटालगायतका जिल्लामा निकासी हुँदै आएको छ ।

कम्पनीले उत्पादन गरेका बिरुवा कृषकबीच लोकप्रिय बनेसँगै फर्मको उत्पादन क्षमता वृद्धि गरिएको कम्पनीका क्षेत्रिय कार्यालय पोखराका प्रमुख नगेन्द्र पौडेलले बताए । गत वर्ष २५ हजार बिरुवा उत्पादन गरेको फर्ममा बिक्रीका लागि हाल ६५ हजार सुन्तलाका बिरुवा तयार छन् । चालु आर्थिक वर्षभित्र एक लाख बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको प्रमुख पौडेलले जानकारी दिए ।

कम्पनीले ३५ रोपनी जग्गा भाडा लिएर सुन्तला र कागतीका बिरुवा उत्पादन गर्दै आएको छ । जग्गाको अधिकांश भागका टनेलभित्र बिरुवा उत्पादन भएको नर्सरीमा करिब एक दर्जन युवायुवतीले प्रत्यक्ष रोजगारी पाएका छन् । गण्डकी प्रदेशमा क्रियाशिल नाफा परियोजनासँग सहकार्य गर्दै बिरुवा उत्पादन गरेको कम्पनीले चालु आर्थिक वर्षमै बिरुवा बिक्रीबाट एक करोडको कारोबार गर्ने जनाएको छ ।

कम्पनीले स्याङ्जा, चितवन र धनकुटामा कृषकको माग र भूगोल सुहाउँदो विभिन्न जातका बिरुवा उत्पादन गर्दै आएको छ । स्याङ्जामा सुन्तला र कागतीका बिरुवासँगै कम्पनीले लहरे तरकारी बालीको बीउ उत्पादन परीक्षण गरिरहेको छ । कम्पनीले सरकारी निकाय, परियोजना, कृषकसँग बीउविजन व्यवस्थापन, उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण गर्दै आएको बताएको छ ।

झण्डै दुई हजार २५० हेक्टरमा सुन्तला खेती गर्दै आएका कृषकले गत वर्ष १५० हेक्टरमा सुन्तला खेती थपेका छन् । उत्पादन छिटो दिने र गुणस्तरीय बिरुवा पाउन थालेपछि सुन्तला खेती बिस्तार गरेको कृषकहरु बताउँछन् । जिल्लामा मुक्तिनाथसँगै सञ्चालित एक दर्जन नर्सरीबाट सुन्तलाका बिरुवा उत्पादन हुन्छ । वार्षिक झण्डै डेढ अर्बको सुन्तला उत्पादन हुने जिल्लामा राष्ट्रिय कृषि आधुनिकीकरण सुन्तला सुपरजोनले सुन्तला खेती प्रवर्द्धन गर्दै आएको छ ।

स्थानीय तहसँगको सहकार्यमा टोल विकास संस्था र स्थानीय कृषकको उत्पादन र उत्पादकत्व वृद्धिमा कम्पनीले सहयोग गर्दै आएको छ । उत्पादन वृद्धिमा उन्नत जातको बीउ र प्रविधिमार्फत लागत कम गर्न कृषकसँग हातेमालो गर्दै अगाडी बढेको कम्पनीले जनाएको छ । कम्पनीले खेतीबालीमा हुने संक्रमण, रोग तथा किरा नियन्त्रण गर्न बाली शिविर पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्