Logo

कार्यान्वन भएनन् खानेपानीका ९९ योजना

दाङ– दाङमा खानेपानीका करिव एक सय योजना कार्यान्वन हुन सकेनन् । खानेपानी तथा सरसफाई कार्यालय दाङ अन्र्तगत आर्थिक वर्ष २०८१/०८२ मा ९९ वटा योजना कार्यान्वय हुन नसकेका हुन् । २६६ वटा योजना रहेको खानेपानी तथा सरसफाई कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले जानकारी दिए ।

कार्यालयमा कुल २६६ वटा योजना रहेका थिए । संघन खानेपानी विकास कार्यक्रम अन्र्तगत १९५ वटा योजना रहेकोमा १४ वटा योजना सम्पन्न भएका थिए । ४१ वटा योजना ८० प्रतिशतभन्दा माथि प्रगति, २० वटाको ५० देखि ८० प्रतिशतसम्म प्रगति, ४४ वटा योजनाको ५० प्रतिशत भन्दा कम प्रगति भएको थियो ।

खानेपानी आयोजना मर्मत सुधार तथा विस्तार कार्यक्रम अन्र्तगत ९ वटा योजना रहेकामा ६ वटा ५० देखि ८० प्रतिशत, २ वटा ५० भन्दा कम काम भएका थिए भने एउटा योजना कार्यान्वन हुन सकेन् । सरसफाइ तथा ढल व्यवस्थापन कार्यक्रम अन्र्तगत २ वटा योजना रहेकोमा ८० प्रतिशत काम भएको थियो । खानेपानी आयोजना गुणस्तर अभिवृद्धि तथा श्रोत संरक्षण कार्यक्रम अन्र्तगत २ वटा योजना रहेकोमा २ वटैको ८० प्रतिशत प्रगति भएको छ ।

जलवायु अनुकुलित बृहत खानेपानी आयोजना अन्र्तगत ८ वटा योजना रहेकोमा २ वटा सम्पन्न हुँदा एउटा योजना कार्यान्वय हुन सकेन भने ५ वटा ८० प्रतिशत, २ वटाको ५० देखि ८० प्रतिशत काम भएको थियो । तराई–मधेश खानेपानी सुधार कार्यक्रम अन्र्तगत ५० वटा योजना रहेकोमा १४ वटा सम्पन्न हुँदा ७ वटा योजना कार्यान्वन हुन सकेनन् । २५ वटा योजना ८० प्रतिशत, १८ वटा योजना ५० देखि ८० प्रतिशत काम भएको थियो ।

योजना कार्यान्वनका लागि आयोजनाहरुमा जनश्रमदान समयमा परिचालन नहुनु, मर्मत सम्भार कोषमा ध्यान नहुनु, विद्युत प्राधिकरणबाट टि.ओ.डि./स्मार्ट मिटर समयमा उपलब्ध नहुनु, विभिन्न निकायबाट ह्याण्ड पम्प वितरण गरिनु अधिक आयोजना संख्या र न्यून बजेट उपलब्धता, निकुञ्ज/मध्यवर्ती क्षेत्रभित्र आयोजना सञ्चालनमा असहयोग जस्ता समस्या रहेको कार्यालयले जनाएको छ ।

सडक विस्तारले पाइपलाइनमा क्षति, विस्तृत लागत अनुमान गर्दा सिंगल पाइपलाइनमा गरिएकोमा आयोजना निर्माण गर्दा दोहोरो पाइपलाइनको आवश्यकता हुनु, पानीका मुहान सुक्दै जानु, पानीमा चुना जम्ने समस्या अधिक रहनु, अनावश्यक स्थानमा आयोजना माग भई खानेपानीका संरचना निर्माण हुनु, उपभोक्ताको चासो नहुनु, आयोजनामा दोहोरोपना रहेको बताइएको छ ।

६५.४९ प्रतिशत नागरिक खोपानीको पहुँचमा
जिल्लाका ६५.४९ प्रतिशत नागरिकले पाइप प्रणालीबाट खोपानी प्राप्त गरेका छन् । पाइप प्रणालीबाट एक लाख छ हजार २७५ घरधुरीका चार लाख ४६ हजार ३५५ जनाले पानी पिउने गरेका छन् । कुवा, इनार र जरुवा आदिबाट २९.२५ प्रतिशतले खानेपानीको प्रयोग गर्ने गरेको खानेपानी तथा सरसफाई कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले जानकारी दिए । जिल्लामा ९४.७४ प्रतिशत नागरिक खानेपानीको सुविधा प्राप्त गरेका छन् । जिल्लाको कुल जनसंख्या छ लाख ८१ हजार ५१७ रहेको कार्यालयको तथ्यांक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्