स्याङ्जाका ५० मध्ये अधिकांश होमस्टे बन्द

स्याङ्जा– २८ वर्षअघि स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुबारीमा २०५४ मै नेपालकै पहिलो ग्रामीण पर्यटन (होमस्टे) को सुरुआत भएको मानिन्छ । नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो मानिएको होमस्टेसँगै परिचत सिरुबारी ग्रामीण पर्यटनको पाठशालामा रुपान्तरण बन्न सफल भयो । ग्रामीण पर्यटनका नायक क्याप्टेन स्व. रुद्रमान गुरुङको परिकल्पनामा स्थापित सिरुबारी सामुदायिक होमस्टे (घरबास) देश–विदेशमा सधै चर्चामा छ ।
सिरुबारीजत्तिकै चर्चा हुने होडमा होमस्टे सुरुआतदेखि हालसम्म जिल्लामा ५० वटा दर्ता भएको गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जिल्लाका ११ स्थानीय तहमा दर्ता भएर सञ्चालनमा रहेका भनिएका अधिकांश होमस्टे पछिल्लो समय गुमनामजस्तै छन् । तर, सिरुबारीको भने उस्तै चर्चा छ । मन्त्रालयको तथ्यांकमा ५० होमस्टे भए पनि जिल्लास्थित उद्योग तथा पर्यटन कार्यालयमा १७ वटाले मात्रै अद्यावधिक गरेका छन् ।
प्रदेश पर्यटन मन्त्रालयका अनुसार गल्याङ नगरपालिकामा १७, पुतलीबजार नगरपालिका आठ, वालिङ नगरपालिकामा सात, फेदीखोला गाउँपालिकामा पाँच, आँधीखोला गाउँपालिकामा चार, कालीगण्डकी गाउँपालिकामा तीन, भीरकोट नगरपालिकामा दुई, अर्जुनचौपारी, बिरुवा, चापाकोट र हरिनास गाउँपालिकामा एक/एक वटा होमस्टे दर्ता भएका छन् । पर्यटन मन्त्रालय गण्डकीले ग्रामीण क्षेत्रका सम्भावनालाई उजागर गर्दै पर्यटन विकासमा होमस्टे प्रवर्द्धन र व्यवस्थित गर्दै आएको थियो ।
स्वरोजगार, आयआर्जन र समृद्धिमा योगदान पुर्याउने उद्देश्यले २०७५ मा मन्त्रालयले पूर्वाघार निर्माण, सडक निर्माण गरेकै एक वर्षमा ४१ वटा होमस्टे स्थापना भए भने २०७५ पछि सात वर्षमा ६ वटा मात्रै होमस्टे निर्माण भएका थिए । जिल्लामा पुतलीबजारको हुनिकोट, कोल्मा र खर्सु, फेदिखोलाको रामकोट र अयरपानी, वालिङको सुन्तलाबारी, कालीगण्डकीको लालीगुराँस, अर्जुनचौपारीको लामडाँडा प्रचारसँगै सञ्चालनमा रहेका छन् भने गल्याङ र भीरकोटसमेतका सबै होमस्टे बन्द छन् ।
सडक, खानेपानी, बिजुली, इन्टरनेटजस्ता आधारभूत सुविधा अभावमा अधिकांश होमस्टे बन्द भएको बताइन्छ । प्रचार–प्रसारको कमी, घरबास सञ्चालन गर्ने व्यावसायिक सीप अभावले केही होमस्टे बन्द भएको मन्त्रालयले बताएको छ । नयाँ पुस्ताको विदेश मोह, स्थानीय समुदायको सहकार्यमा अनिच्छा हुँदा धेरै होमस्टे बन्द हुन बाध्य भएका छन् ।
ग्रामीण कला–संस्कृति र स्थानीय स्वादका खानेकुरा हराउँदै जानु तथा बजारिया खानेकुरा खुवाउँदा होमस्टेमा पर्यटक आकर्षण घटेको र बन्द हुँदै गएको पर्यटनमा सक्रिय व्यवसायी अनन्त श्रेष्ठ बताउँछन् । सिरुवाबारी होमस्टे स्थापना भएको १८ वर्षपछि २०७२ मा फेदीखोला–५ मा बौद्ध सामुदायिक होमस्टे स्थापना भएको र २०७३ देखि सञ्चालनमा आएको हुनिकोट होमस्टे निरन्तर चलिरहे पनि अधिकांश बन्दजस्तै छन् ।