इजरायली राजदूतसँग दुईपक्षीय व्यापार छलफल

विराटनगर– नेपाल र इजरायलबीचको द्विपक्षीय व्यापार, प्रविधि हस्तान्तरण तथा निजी क्षेत्रको सहकार्य विस्तारबारे उद्योग संगठन मोरङ र नेपालका लागि इजरायली राजदूत स्मुलिक एरिक वासबीच विराटनगरमा अन्तरक्रिया सम्पन्न भएको छ ।
उद्योग संगठन मोरङ अध्यक्ष नन्दकिशोर राठीले इजरायलसँग प्रविधि, नवप्रवर्तन र कृषि क्षेत्रको अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै हरितगृह प्रविधि, बाली व्यवस्थापन र कृषि प्रशोधनजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने बताए । उनले निजी क्षेत्रमार्फत दीर्घकालीन साझेदारी र संयुक्त लगानी अवसर पहिचान गर्न आवश्यक रहेकामा जोड दिए ।
राजदूत वासले व्यापारिक सहकार्य आर्थिक वृद्धिसँगै सामाजिक रुपान्तरणको आधार हुने भन्दै नेपालसँगको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न इजरायल सकारात्मक रहेको धारणा व्यक्त गरे । कार्यक्रममा संगठनका कोषाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन समिति संयोजक पारस लुनियाले दुई देशबीचको व्यापार सन्तुलन इजरायलतर्फ झुकेको तथ्यांक प्रस्तुत गर्दै नेपाली गलैंचा, हस्तकला र छालाजन्य वस्तु निर्यात भइरहेको जानकारी दिए ।
इजरायलबाट नेपालले औषधी, प्रसारण तथा कृषि उपकरण आयात गरिरहेको बताए । उनले ड्रिप सिचाइ, सूचना प्रविधि र कागज, डाइपर, उड, फार्मिङलगायत क्षेत्रमा इजरायलसँग सहकार्य सम्भावना रहेको उल्लेख गरे ।