Logo

कास्कीको खेल प्रवर्द्धन गर्न कोरियासँग सम्झौता

पोखरा–पोखरा क्षेत्रको समग्र खेलकुद विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगर र कोरियाको चियोङ योङ काउन्टी खेलकुद समितिबीच समझदारी भएको छ । मंगलबार पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चियोङ योङ काउन्टी खेलकुद समिति अध्यक्ष हान ग्वाङ सियोकले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ र अध्यक्ष हानबीच पनि सम्झौता भएको छ । कार्यक्रममा पोखराका मेयर धनराज आचार्य, परियोजना संयोजक तोरणबहादुर बानिया, सह–संयोजक प्रकाश उदास, अन्तर्राष्ट्रिय पदकधारी खेलाडी गणेशबहादुर भट्टराईलगायत सहभागी थिए ।

खेलाडी आदान–प्रदान, प्रविधि र उपकरणमा सहकार्य, सीप विकास, मैत्रीपूर्ण प्रतियोगिता आयोजनाजस्ता विषय सम्झौतामा समेटिएको छ । फुटबल, बक्सिङ, टेबल टेनिस, टेनिस, एथलेटिक्स, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, म्याराथनलगायतका खेल प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्