Logo

अर्घाखाँचीकाे ठाडामा इलाका प्रशासन खुल्ने

अर्घाखाँची– नागरिकता लिन वडाको सिफारिस बनाएर अर्घाखाँचीको सन्धिखर्क प्रशासनमा पुग्न तीन दिन लाग्छ । बर्खाको समय अझ निकै कठिनाइ छ । वडामा पुग्न यातायात नहुने, बर्खामा बाटा भत्किने गर्दा नागरिकता बनाउनकै लागि तीन दिन लाग्ने, सन्धिखर्कमा काम समयमा नहुँदा सदमुकाममा समेत बास बस्नुपर्ने समस्या शितगंगाबासीको हो ।

भौगोलिक रुपमा विकट शितगंगा नगरपालिकाका नागरिक दाङ, कपिलवस्तु पुगेर सन्धिखर्क आउनुपर्ने हुन्छ । जलुके, लाहापे, सिद्धाराबासीलाई कठिनाइ भएपछि शितगंगामा इलाका प्रशासन कार्यालयको माग गरेको १० वर्षमा बल्ल सम्बोधन भएपछि खुसीयाली छाएको छ । हरेक निर्वाचनमा इलाका प्रशासन कार्यालय तत्काल स्थापना गर्छौं भन्ने चुनावी नारा अब समाधान भएको छ ।

सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने तयारी गरेको छ । भदौ ९ को मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषद् समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयन प्रक्रिया अगाडि बढाउनेछ । २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्ने विषय गृहको वार्षिक बजेटमै समावेश छ ।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न गृहले प्रस्ताव पठाएको थियो । गृहले प्रस्ताव गरेका २३ इलाका प्रशासन कार्यालयमध्ये अर्घाखाँचीको शितगंगा नगरपालिका पनि परेको छ ।

देशकै ठूलो नगरपालिका शितगंगाको ठाडामा इलाका प्रशासन कार्यालय खुल्ने भएपछि त्यहाँका नागरिक र जनप्रतिनिधि उत्साहित छन् । भूगोल धेरै भएका कारण त्यहाँका नागरिकलाई सदरमुकाम आउन कठिन थियो । इलाका प्रशासन कार्यालय खुलेसँगै त्यहाँका नागरिकलाई सहज हुने स्थानिय अराज बेल्वासेले बताए ।

शितगंगा नगरका मेयर छविलाल पौडेलले धेरै मिहिनेतपछि इलाका प्रशासन थपिने भएकामा खुसी व्यक्त गरे । ‘मन्त्रिपरिषद् निर्णयबाट निर्णय भएको सुन्नमा आएको छ, ‘समाचारमा थपिने भन्ने निर्णय सुनियो । हाम्रो पालिकाको नामसमेत त्यसमा समावेश भयो । निकै खुसी छौं । नगरपालिकाको टोली पटक–पटक सिंहदरबार पुगेपछि सफलता मिलेको हो । जनताले भोग्नुपरेको कठिनाइ अब सहज हुनेछ’, मेयर पौडेलले भने ।

नागरिकता, पासपोर्टदेखि प्रशासनको काम गर्न निकै कठिनाइ थियो । यहाँका नागरिक इलाका प्रशासन खुल्ने घोषणापछि खुसी भएको उनको भनाइ छ । नेपालकै सबैभन्दा ठूलो नगरपालिका शितगंगामा १४ वडा छन् । ६१०.४३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको नगरपालिकाको अधिकांश भूभाग दक्षिणतर्फ फर्किएको पानीढलोको रुपमा छ ।

जंगलैजंगल रहेको यो नगरपालिका चुरे क्षेत्र दक्षिणको मैदानबाट क्रमश अग्लो भई एक हजार पाँच मिटरको उचाइसम्म फैलिएको छ । जिल्लाको आधा भूगोल ओगटेको यो नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ अनुसार ४३ हजार तीन सय ७३ जनसंख्या छ ।

२३ इलाका प्रशासन
अर्घाखाँचीको शितगंगासहित ताप्लेजुङको सिरिजंघा, खोटाङको हलेसी, ओखलढुंगाको घोराखोरी, सिरहाको सुखिपुर, धनुषाको धनुषाधाम, सर्लाहीको बलरा, पर्साको पोखरिया, सिन्धुलीको दुधौली, काठमाडौंको टोखा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, बझाङको देउरा, अछामको साँफेबगरमा इलाका प्रशासन खोलिनेछ ।

यस्तै, डोटीको बीपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली, संखुवासभाको हेदंगवा, रुपन्देहीको गैडहवा, तनहुँको भीमाद र चितवनको खैरहनीमा इलाका प्रशासन कार्यालय खुल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्