पोखराबाट तीन गन्तव्यमा उडान तयारी, सिचुवान र भुटान एयरको चासो

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने तयारी भएको छ । चिनियाँ सिचुवान एयरलाइन्सले काठमाडौं–छेन्दु–अस्ट्रेलिया र काठमाडौं–सिंगापुर–अस्ट्रेलिया उडान अनुमति माग्दै नियामक नेपाल उड्डयन प्राधिकरणमा निवेदन दिएको हो ।
भुटानको वायुसेवा कम्पनी भुटान एयरलाइन्सले पनि पोखरा विमानस्थलमा चार्टर उडान गर्न चासो देखाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुयान तथा जनरल सेल्स एजेन्ट(जीएस)ले पोखरामा उडान भर्ने चासो व्यक्त गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
उनले भने, ‘चीनको सिचुवान एयरलाइन्सले काठमाडौं–छेन्दु हुँदै अस्ट्रेलिया र काठमाडौं–सिंगापुर हुँदै अस्ट्रेलिया उडान तयारी गरेको हो । भुटान एयरले पनि उडान भर्ने चासो राखेको छ ।’ सिचुवान र भुटान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति माग गरिसकेको उनको भनाइ छ । उडान अनुमति दिने विषय प्रक्रियामा रहेको उनले बताए ।
सिचुवानले अस्ट्रेलिया सरकारसँग प्रक्रिया अगाडि बढाइसकेको र नेपालमा प्राधिकरणले आवश्यक गृहकार्य गरेर पोखरा र भैरहवाबाट उडान भर्न अनुमति दिन समस्या नभएको सूचना अधिकारी भुलले बताए । उडान अनुमतिका लागि जीएएसँग अनौपचारिक छलफल भएको उनले जानकारी दिए ।
‘चाँडै उडान भर्ने योजनासहित वायुयान कम्पनीले प्रक्रिया अगाडि बढाएका छन् भने औपचारिक रूपमा उडान अनुमतिका लागि अस्ट्रेलिया सरकारसँग द्विपक्षीय छलफल भइरहेको छ’, सूचना अधिकारी भुलले भने । भुटान एयरलाइन्सले पारो–पोखराका लागि सातामा दुई/तीन वटा चार्टर उडान अनुमति मागेको उनले बताए । पहिलो चरणमा चार्टर उडान गर्ने र पछि व्यवसायीक उडान भर्ने योजना अगाडि सारेको उनको भनाइ छ ।
भुलका अनुसार भुटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन चार्टर उडानका लागि अनुमति मागेको हो । तोकिएका गन्तव्ययमा उडान भएसँगै नेपाल हुँदै तेस्रो देश जाने र सीधा अस्ट्रेलिया यात्रा गर्ने नेपालीलाई थप सहज हुनेछ । यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । सिचुवान एयरलाइन्सको पहिलो चार्टर उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २०२४ डिसेम्बर २६ मा सञ्चालन गरेको थियो ।
यो उडानमा एक सय २६ चिनियाँ सहभागी थिए । त्यसै क्रममा सिचुवान एयरलाइन्सले २०२५ मार्च १८ मा पहिलो पटक व्यावसायिक चार्टर उडान सुरु गरेको थियो। कम्पनीले चेनग्दुबाट पोखरा उडान भरेको हो । उक्त दिन एक सय २८ चिनियाँ कर्मचारी पोखरा आएका थिए भने सोही दिन एक सय २६ नेपाली यात्रु लिएर फिर्ता भएको थियो । त्यस्तै, २०२५ मार्च २५ मा पनि चार्टर उडान सञ्चालन भएको थियो । दुई देशले चेनग्दु–पोखरा रुटमा नियमित व्यावसायिक उडान सम्भावना भएको बताए पनि अहिलेसम्म चार्टर उडान मात्रै सञ्चालनमा छन् ।
भुटान एयरले २०२३ सेप्टेम्बर ९ मा पहिलो व्यावसायिक (चार्टर) अन्तर्राष्ट्रिय उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गर्यो । चार्टर उडान दिगो भए काठमाडौंजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ । सुरुमा भुटान एयरलाइन्सले काठमाडौं–पारो–काठमाडौं उडान गर्नेछ । उडान नियमित भए पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने एयरलाइन्सको योजना रहेको सूचना अधिकारी भुलले बताए ।