पोखराबाट भुटान एयरको चार्टर उडान

पोखरा– भुटानको सरकारी ध्वजावाहक भुटान एयरलाइन्सले पर्यटनको राजधानी पोखरादेखि थिम्पु–पोखरा चार्टर उडान गर्ने भएको छ । भुटान एयरले असोज दोस्रो सातादेखि सातामा चार वटा चार्टर उडान गर्ने भएको हो । आउँदो असोज १२ देखि दुई सातामा चार वटा चार्टट उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमति प्राप्त भएको युनिभर्सल टुर्स एन्ड ट्राभल्स (युटीटी) ले जनाएको छ ।
युटीटी भुटान एयरको सेल्स एजेन्ट हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चरणमा चार वटा चार्टर फ्लाइट गर्ने, त्यसपछि पर्यटक तथा व्यवसायी यात्रु संख्याका आधारमा अघि बढिने युटीटीका कार्यवाहक अध्यक्ष परासर प्रसाईंले बताए । युटीटीको सक्रियतामा भुटान एयरलाइन्सले पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने भएसँगै कम्पनीले चार रात पाँच दिनको प्याकेजसमेत सार्वजनिक गरेको छ ।
हाल भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटान एयरलाइन्सले सातामा चार उडान गर्दै आएको छ । पोखरामा पर्यटनको धेरै सम्भावना देखेर पहिलो चरणमा चार वटा चार्टर उडान सुरु गर्न लागेको र त्यसपछि माग एवं व्यवसायीको सुझावअनुसार अघि बढ्ने उनले जानकारी दिए । चार्टर उडानले नेपाल र भुटानबीचको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रसाईंका भनाइ छ ।
पर्यटकलाई दुवै देशका प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताको अनुभव आदान–प्रदान गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । चार रात पाँच दिनको प्याकेजमा कम्पनीले प्रतिव्यक्ति एक लाख ८४ हजार ५ सय रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । भुटानमा प्रतिदिन एक जना पर्यटकले एक सय डलर खर्च गर्नुपर्ने बाध्यकारी नियम छ । एक सय २६ सिटे भुटान एयरका दुई जहाजले पोखरा–भुटान र भुटान–पोखरा उडान गर्नेछन् ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखरा–भुटान सीधा चार्टर उडानले यस क्षेत्रको पर्यटन विकासमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । पोखरा विश्वकै सुन्दर ठाउँ, प्राकृतिक, सांस्कृतिक, साहसिक खेलकुद गतिविधिको केन्द्र भएकाले भुटान एयरको उडानबाट पर्यटन प्रवर्द्धन सघाउ पुग्ने विश्वास व्यक्त गरे । पर्यटन सिजनमा पोखरा–भुटान सीधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धन सहयोग पुग्ने पोखराका मेयर धनराज आचार्यले बताए ।
पोखरादेखि चीनको सिचुवान एयरलाइन्सको छेन्दुसम्म चार्टर उडान हुनु र हिमालयन एयरलाइन्सले पोखराबाट ल्हासा उडान गर्नुले पोखरामा अन्तर्राष्ट्रिय उडानको लागि बाटो खुलेको उनले दाबी गरे । ‘पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न यसले महत्त्वपूर्ण योगदान गर्नेछ । पोखराबाट हुने कुनै पनि अन्तराष्ट्रिय हवाई उडानलाई प्रभावकारी बनाउन सबै व्यवसायीले सहयोग गर्नुपर्छ’, उनले भने ।
पोखरा–पारोबीच सीधा हवाई सम्पर्क स्थापना गरी दुवै क्षेत्रको पर्यटनलाई थप टेवा पुर्याउने पोखरा पर्यटन परिषद्का निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । पोखराका पर्यटन व्यवसायीको छलफलमा सहभागीले पोखरा–भुटान चार्टर उडान नियमित गर्न सहुुलियत दरमा प्याकेज ल्याउन कम्पनीलाई आग्रह गरे ।
यसअघि गत असार ७ असारमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै ल्हासामा हिमालयन एयरलाइन्सले उडान गर्दै आएको छ । पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानका लागि चासो देखाएको छ ।