Logo

प्रदर्शनी हलबारे भृकुटीमण्डपका व्यापारीको धारणा

भृकुटीमण्डपमा काठमाडौं महानगरपालिकाले अत्याधुनिक मेगा हल निर्माण गर्दा व्यापारीहरूलाई व्यवस्थापन गरेर मात्रै निर्माण गर्न माग गरिएको छ ।
सोमबार भृकुटीमण्डप निम्न व्यापारी संघको २७औं वार्षिक साधरणसभामा सहभागी भृकुटीमण्डप बजारका अधिकांश व्यापारीहरूले यस्तो धारणा राख्नु भएको हो । भृकुटीमण्डपका व्यापारीहरूले फोहोर फाल्ने स्थान सफा गरेर व्यवसाय गर्ने बातावरण बनाएकाले अब यहाँका व्यापारीहरूलाई व्यापार गर्ने स्थायी संरचना बनाएर मात्रै प्रदर्शनी हल बनाउनुपर्ने माग गरेका थिए । विगत लामो समयदेखि भृकुटीमण्डपमा व्यापार गर्दै आएका व्यापारी शंकर पोखरेलले ठूला ठूला प्रदर्शनी हल बन्नु राम्रो विषय भएको बताए । तर, उनले भृकुटीमण्डपमा निम्न वर्गीय व्यापारीहरूले व्यवसाय गरेर परिवार पाल्ने गरेको भन्ने ख्याल गर्नुपर्ने बताए । उनले मेगा हल बनाए पनि भृकुटीमण्डपमा व्यापार गर्दै आएका १५ सय व्यापारीका लागि स्थायी ठाउँको व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने, ‘भृकुटीमण्डपमा अत्यन्तै निम्न वर्गीय मानिसहरूले व्यापार गर्दै आएका छन् । यहाँ व्यापार गर्ने १५ सय व्यापारी हल बन्नेबित्तिकै कहाँ जानू । सरकारले व्यापार गर्ने यस्तै अर्को स्थायी संरचना निर्माण गरिदिनुपर्छ । हामीले गुणस्तरीय सामान ग्राहकहरूलाई बेच्दै आएका छौं ।’
त्यस्तै अर्को व्यवसायी पुष्करकुमार अधिकारीले सरकारले यस्ता खालका गुरुयोजना बनाउने तर काम नगर्ने बताउनुभयो । उहाँले यो योजना पनि त्यस्तै हो । तर, सरकारले बनाउनु परे पनि फोहोरको ढङ्गुर फालेर निम्न वर्गीय ग्राहकको सपिङ स्थल बनाएको बताए । अधिकारीले हल बनाए पनि खासै असर नपर्ने बताए ।
त्यस्तै, व्यवसायी संगीता ढुङ्गेलले भृकुटीमण्डप महिलामैत्री बजार भएको बताए । उनले यो बजार महिलामैत्री बजार भएकाले बच्चा च्यापेर व्यापार गरिरहेको बताए । ढुङ्गेलले यसरी १५ सयभन्दा बढिले रोजगारी पाएको स्थानमा हल बनाउँदा सरकारले यहाँका व्यापारीलाई उचित व्यवस्थापन गरेर मात्रै काम गर्नुपर्ने बताए ।
काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको दुई सय १२ रोपनी क्षेत्रफलमा अत्याधुनिक मेगा हल निर्माण गर्ने योजना बताएको छ । महानगरपालिकाले एक वर्ष अगाडी नै मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अत्याधुनिक मेगा हलको योजना अघि बढाएको हो । महानगरले निर्माण गर्ने मेगा हलको प्रस्तावित डिजाइनसमेत तयार पारिसकेको छ । १ लाख १४ हजार वर्गमिटरभन्दा केही बढीको पाँचतले मेगा हल निर्माणका लागि प्रस्तावित डिजाइन तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्