Logo

राडी व्यवसायले पुनर्जीवन पाउँदै

लोप हुदै गएको राडीको माग पछिल्लो समय बढ्न थालेको छ । आधुनिक गलैंचा आएसँगै सुस्ताएको राडी व्यवसाय अहिले बौरिन थालेको छ । भेडाको ऊनबाट बुनिने राडीको माग बढ्न थालेको व्यवसायी बताउँछन् । गलंैचा र राडी एउटै प्रयोजनमा प्रयोग गरिने भए पनि गलैंचाभन्दा राडी धेरै टिक्ने र राडीको माग बढ्दै गएको उनीहरूको भनाइ छ ।
पहुना आउँदा ओछ्याउन प्रयोग गरिने राडी आधुनिकतासँगै विभिन्न साइज र डिजाइनमा बजारमा आएपछि राडी लोप हुने अवस्थामा पुगेको थियो । साथै, भेडापालन व्यवसायसमेत लोप हुन थालेसँगै राडी उत्पादनमा कमी आएको थियो । केही समय गलैंचाले बजारमा एकाधिकार जमायो । तर, अहिले भने अवस्था फेरिन थालेको छ । देश विदेशबाट माग बढेपछि राडी व्यापार बढ्न थालेको बताइएको छ । माग बढ्न थालेपछि व्यवसायी समेत हर्षित भएका छन् ।
ट्याम्के मैयुङ गाउँपालिका–२ की गंगा गुरुङ भेडाको उनबाट राडी बुनेर गुजारा चलाउँदै आएकी छिन् । व्यापार घटेपछि खिन्न बनेकी उनमा व्यापार फस्टाउन थालेसँगै उर्जा थपिएको छ । उनले घरायसी काम सकेर राडी बुन्ने गरेकी छन् । “मेरा तीन जना छोरा र छोरी छन्, उनीहरूलाई खाना पकाएर खुवाएर स्कुल पडाउँछु । अनि घरको अन्य काम सकेर मात्र राडी बुन्न बस्छु,” उनले सुनाइन् । राडी बुनेर उनले परिवार मात्र धानेकी छैनन्, छोरा–छोरीलाई पढाउने खर्च समेत जुटाएकी छन् । उनले राडी बुनेर मासिक २५ हजार कमाउने गरेको बताइन् ।
गुरुङले चार प्रकारको राडी बुनेर बेच्ने गरेकी छिन् । उनले मान्द्रे राडी पाँच हजार, रंगौला राडी चार हजार, चित्रे राडी तीन हजार र चकटी राडी दुई हजारमा बिक्री गर्ने गरेको बताइन् । राडी बुन्न आवश्यक ऊन भने भेडी गोठबाट ल्याउने गरेको उनको भनाइ छ । भेडाको ऊन धार्नीको १२ सय पर्ने गरेको छ ।
उनले उत्पादन गरेको राडी भोजपुर, खोटाङ, सुनसरी, मोरङ काठमाडौं र बेलायतसम्म पुग्ने गरेको बताइन् । बेलायतमा बसोबास गर्नेहरू आएका वेला कोसेलीका रूपमा राडी लैजाने गरेका छन् । राडीलाई बजारको समस्या नभएको भन्दै उनले माग धान्न नसकेको सुनाइन । उनको घरमै राडी किन्न मानिसहरू आउने गरेका छन् ।
अर्जुन बस्नेत

प्रतिक्रिया दिनुहोस्