१२ वर्षमा बल्ल बन्यो मध्य भोटेकोशी, बाह्रबिसे प्रसारणलाइन पनि सफल परीक्षण

दोलखा– सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना १२ वर्षमा तयार भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे मुख्य प्रवद्र्धक रहेको आयोजनाले एक साताअघि परीक्षण थालेको छ ।
मध्य भोटेकोशी जलविद्युत लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले आयोजनाको ३ वटा युनिटमध्ये पहिलो युनिट परीक्षण गरेर दोस्रो युनिटको परीक्षण भइरहेको जानकारी दिए । आयोजनामा ३४ मेगावाट क्षमताका ३ वटा युनिट छन् । अहिले प्रसारण ग्रिडले १०२ मेगावाटको पूर्ण क्षमताको उत्पादनलाई धान्न सक्छ कि सक्दैन भनेर ‘लोड रिजेक्सन’ परीक्षण भइरहेको छ ।
तीनवटै युनिटको सफल परीक्षण गरेर ग्रिड समेतको परीक्षणपछि आयोजनाको १५ दिनको परीक्षण उत्पादन सुरु हुनेछ । त्यसमा कुनै समस्या नआए असोज दोस्रो सातादेखि आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन सुरु हुनेछ । आयोजनाको विद्युत खिम्ती–बाह्रबिसे प्रसारणलाइनमा पर्ने बाह्रबिसे–३ पतालिमा रहेको बाह्रबिसे सबस्टेसनमा जडान गरी राष्ट्रिय ग्रिडमा प्रवाह गरिएको हो ।
खिम्ती–बाह्रविसे ४ सय केभी ४० किलोमिटर र चाकु–बाह्रविसे २२० केभी ४ किलोमिटर प्रसारणलाइनको परीक्षण समेत सफल भइसकेको छ ।
बाह्रबिसे–काठमाडौंको ४ सय केभी प्रसारणलाइन र लप्सीफेदी सबस्टेसन पूरा नभएका कारण बाह्रविसे–खिम्तीबाट न्यू खिम्ती ग्रिड हुँदै खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न लागिएको हो ।
न्यू खिम्ती ग्रिड प्रमुख मनोजकुमार साहले खिम्ती–ढल्केबर प्रसारण लाइनबाट अहिले ८ सय मेगावाटसम्म विद्युत प्रवाह भइरहेको र थप १०२ मेगावाट प्रवाहको परीक्षण पनि भइरहेको बताए । अहिलेकै अवस्थामा १२ सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्ने प्रसारण लाइनको क्षमता भएको उनले जानकारी दिए ।
मध्य भोटेकोशी आयोजनाको निर्माण २०७० सालबाट सुरु भएको थियो । २०७३ सालमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको भए पनि ९ वर्ष ढिलो गरी आयोजना पूरा भएको छ । आयोजना सुरु भएपछि २०७१ को जुरे पहिरो, २०७२ वैशाख १२ गतेको भूकम्प, त्यही वर्षको असोजदेखि भारतले लगाएको ५ महिना लामो नाकाबन्दी, बाढीपहिरो, कोरोना महामारी लगायत विविध कारणले आयोजनाको निर्माणमा ढिलाइ भएको थियो । ढिलाइ हुँदा आयोजनाको निर्माण लागत २० अर्बभन्दा बढी पुगेको छ ।
आयोजनाको लट–१ को सिभिल र हाइड्रोमेकानिकलको ठेक्का सम्झौता चिनियाँ कम्पनी ग्याङ्सी हाइड्रोइलेक्ट्रिक कन्स्ट्रक्सन ब्यूरोसँग ईपीसी मोडलमा २०७० पुस १७ गते भएको हो । इलेक्ट्रोमेकानिकलको ठेक्का एन्द्रीज हाइड्रो प्रालि भारतसँग २०७१ असार २६ गते भएको थियो । त्यसैगरी आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि विद्युत गृहदेखि बाहबिसे सबस्टेशनसम्म ४ किमी २२० केभी सिंगल सर्किट प्रसारण लाइन निर्माणको लागि ठेकेदार ऊर्जा एसजेभीसँग २०७५ साउन ११ गते सम्झौता भएको थियो । लट–१ र लट–२ को ठेक्का ढिला भएकाले लट–३ को ठेक्का सम्झौता ढिला भएको हो ।
चीनको सीमा भोटेकोशी गाउँपलिका चाकुमा बाँध तथा बाह्रबिसे नगरपालिकाको जम्बुमा पावरहाउस रहेको आयोजनाको सुरुङ ७.५ किमी रहेको छ । गत वर्ष सुरुङमा पानी पठाएपछि चुहिएकाले मर्मत गरिएको थियो । सुरुङमा पानी चुहिएका कारण मर्मतमै एक वर्ष धकेलियो ।
यो आयोजना रन अफ द रिभरमा आधारित आयोजना हो । आयोजना सुरु गर्ने समयमा १२ अर्ब ३३ करोड २८ लाख लगात अनुमान गरिएको थियो । तोकिएको समयमा आयोजना पूरा गरेर विद्युत उत्पादन गर्न नसक्दा कम्पनीले दैनिक ५० लाखभन्दा बढी ऋणको ब्याज मात्र तिरिरहेको छ । लगानी बढेकाले प्रतिमेगावाट विद्युत उत्पादन लागत २१ करोड नाघ्ने अनुमान रहेको छ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । वार्षिक ५४ करोड २२ लाख विद्युत उत्पादन हुने लक्ष्य रहेको उक्त आयोजनाबाट वार्षिक २ अर्ब ८० करोड आम्दानी हुने अनुमान रहेको छ ।
प्रवर्द्धक कम्पनीमा ५१ प्रतिशत संस्थापक सेयरधनी मध्ये चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रो पावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रो पावर लिमिटेडको १–१ प्रतिशत सेयर स्वामित्व छ ।
त्यस्तै, ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५ प्रतिशत, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीको १ प्रतिशत, सिन्धुपाल्चोकबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर लगानी रहेको छ । कम्पनीमा साधारण लगानीकर्ता १० लाख ७५ हजार जना रहेका छन् । कम्पनीको सेयर पुँजी ६ अर्ब रहेको छ ।