Logo

देशका विभिन्न मूख्य स्थानमा जेनजी पुस्ताको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं- सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले देशका विभिन्न स्थानहरुमा साेमबार प्रदर्शन सुरू गरेको छ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरुद्धमा जेन–जी पुस्ताले प्रदर्शन गरेको हो । काठमाडौंको माईतीघर मण्डलामा भेला भइ उनीहरुले यतिबेला प्रदर्शन गरिरहेका छन् ।

यस्तै, गण्डकी प्रदेशको राजधानी पोखरामा पनि जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले प्रदर्शन गरेका छन् । पोखरा सभागृह अगाडि जेनजीले भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध प्रदर्शन गरेका हुन् । भ्रष्टाचार विरोधी नारा लेखिएको प्लाकार्ड लिएर उनीहरूले प्रधानमन्त्री केपी ओलीविरूद्ध नाराबाजी पनि गरेका छन् ।

‘मान्छे बेच्न पाइँदैन, भ्रष्टाचार मुर्दावाद, केपी ओली मुर्दावाद’ नारा लगाएका हुन् । विभिन्न कलेज र स्कुलका विधार्थी पनि प्रदर्शनमा सहभागी छन् । सामाजिक सञ्जाल बन्द हुँदा धेरैको व्यवसाय ठप्प हुनुका साथै रोजिरोटी गुमेको जेनजीको प्रदर्शनमा आएकाहरूले बताएका छन् ।

साथै, कोशी प्रदेशको राजधानी विराटनगरमा पनि जेनजी पुस्ताले प्रदर्शन गरेका छन् । बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् । बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् ।

भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको उनीहरुको भनाइ छ । जेन–जीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको उनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्