गोदाम खाद्य संस्थानलाई हस्तान्तरण «

गोदाम खाद्य संस्थानलाई हस्तान्तरण

वीरगन्ज- प्राकृतिक प्रकोपमा खाद्यान्न सुरक्षाका लागि भण्डारण गरिने खाद्यान्नको लागि अमेरिका सरकारले निर्माण गरिदिएको गोदाम हस्तान्तरण गरिएको छ । खाद्य संस्थान क्षेत्रीय कार्यालय वीरगन्ज परिसरमा निर्माण गरी दिएको अत्याधुनिक गोदाम बुधबार संस्थानलाई हस्तान्तरण गरेको हो ।
काठमाडौंस्थित अमेरीकी दूतावासका सुरक्षा प्रमुख एवं अमेरीकी सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) ग्रेगोरी पाइप्सले खाद्य संस्थानका निमित्त महाप्रबन्धक श्रीमणि खनाललाई गोदामको कागजात हस्तान्तरण गरेका हुन् । गोदाम हस्तान्तरणमा बोल्दै कर्णेल पाइप्सले नेपालमा हुने विभिन्न खाले दैवी प्रकोपबाट उत्पन्न खाद्य संकट समाधानका लागि खाद्यान्न सुरक्षाको क्षेत्रमा अमेरीकी जनताको तर्फबाट यो उपहार स्वरुप निर्माण गरिएको बताए ।
संस्थानका निमित्त महाप्रबन्धक खनालले खाद्य संस्थानका गोदामहरु पूरानो भईसकेको अवस्थामा अमेरिकाको यो सहयोगमा निर्माण गरिएको अत्याधुनिक गोदामले संस्थानलाई खाद्यान्न भण्डारण गर्न थप सुविधा मिलेको बताए । नेपाल सरकारले सार्क फुड बैंकमा ८ हजार मेट्रिक टन र राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा २५ हजार मेट्रिक टन गरी ३३ हजार मेट्रिक टन खाद्यान्न संचित राख्ने जिम्मेवारी खाद्य संस्थानलाई दिएकाले संस्थानलाई अब आधुनिक गोदाममा खाद्यान्न संचित राख्न झन सहज भएको उनले बताए । हाल संस्थानसंग मुलुक भर गरी १ सय ५३ वटा खाद्यान्न गोदाम रहेकोमा यो अत्याधुनिक गोदाम गरी अब १ सय ५४ वटा गोदाम भएको छ । ती मध्ये अधिकांश २०४० साल भन्दा पुराना रहेकाले तीनमा खाद्यान्न भण्डारण गर्न थुप्रै समस्या आएको उनले बताए ।
वीरगन्जमा मात्र ४ हजार ५ सय क्षमताको ५ वटा गोदाम रहेको र अहिले एक हजार मेट्रिक टन क्षमताको अत्याधुनिक गोदाम निर्माणसंगै ५ हजार ५ सय मेट्रिक टन क्षमताको गोदाम भएको श्रीमणि खनालले जानकारी दिए । अमेरिकाले यस्तै खाले खाद्यान्न गोदाम यसै बर्षको जेठ महिनामा संस्थान हेटौंडा शाखा परिसरमा पनि निर्माण गरी हस्तान्तरण गरी सकेको छ । २ वटा नया गोदाम समेत गरी संस्थानको खाद्य भण्डारण क्षमता अब १ लाख मेट्रिक टन पुगेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्