मेगा बैंकको कामु सीईओमा पोखरेल नियुक्त

मेगा बैंक नेपालको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् । मेगा बैंक सञ्चालक समितिले ९ पुसदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो । विगत २७ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक हुन् ।
बैंक सञ्चालनमा आउनुभन्दा अघि नै १ वैशाख २०६७ बाट पूर्वसञ्चालन अवस्थाको कार्यकारी प्रमुख बनेर प्रस्तावित बैंकको दर्ता, लाइसेन्स लिने तथा बैंकका लागि आवश्यक पूर्वाधार तयार पार्ने कामको नेतृत्व गर्दै मेगा बैंकमा सेवा प्रारम्भ गरेका पोखरेल बैंकको सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, वरिष्ठ नायब महाप्रबन्धक हुँदै कामु सीईओ बनेका हुन् ।
उनी स्थापनाकालदेखि नै बैंकको उच्च व्यवस्थापनमा रही विभिन्न विभागहरुको विभागीय जिम्मेवारी बहन गर्नुका साथै कम्पनी सचिवको जिम्मेवारी समेत निर्वाह गरेका थिए । नवदुर्गा फाइनान्सको सहायक प्रबन्धकको रुपमा करिब तीन दशक अघि करिअर सुरु गरेर नायब प्रमुख कार्यकारी अधिकृत बनेका पोखरेल बैंकमा आबद्ध हुनुअघि फ्रुडेन्सियल फाइनान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत समेत थिए ।
यसैगरी, मेगा बैंकबाट स्वेच्छिक अवकास लिएकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिले धन्यवाद दिएको छ । उनको सम्मानस्वरुप आयोजना गरिएको बिदाई कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाह तथा सञ्चालक समितिका सदस्यहरुले बैंकमा १३ वर्ष भन्दा बढी अवधि सेवा गरेकी श्रेष्ठलाई बैंकलाई पुर्याएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिएको छ ।