पुस १३ देखि भृकुटीमण्डपमा राष्ट्रिय औद्योगिक प्रदर्शनी «

पुस १३ देखि भृकुटीमण्डपमा राष्ट्रिय औद्योगिक प्रदर्शनी

काठमाडौं-राष्ट्र समृद्धिको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने मूल नाराका साथ १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । यही पुस १३ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरूको राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको हो ।
१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी व्यवस्थापन मूल समितिका संयोजक नवराज गौतमले सोमबार आयोजित पत्रकार सम्मेलनमा मेलाको उद्देश्यका बारेमा प्रकाश पारे । नेपालभर छरिएर रहेका उद्योगहरूबाट उत्पादन भएका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरू उपभोक्ताहरूले एउटै छानामुनि अवलोकन तथा छनोट गरी प्रतिपस्र्धी मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्नु प्रदर्शनीको उद्देश्य छ । उद्योगहरूले आफ्ना उत्कृष्ट उत्पादनहरूको प्रदर्शनी गरी उत्पादन तथा निकासी अभिवृद्धि गर्ने कार्यमा प्रदर्शनीबाट सहयोग पुग्ने पत्रकार सम्मेलनमा मूल समिति संयोजक पौडेलले बताए । प्रदर्शनी १ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको संयोजक गौतमले बताए ।
प्रदर्शनी अवधिभर खरिद गरिएका जुत्ता चप्पल र वस्तुहरूमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिए । नयाँ डिजाइनका जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरू अवलोकन गर्न पाइनेछ । शारीरिक अशक्तता तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
त्यसैगरी, स्कुल तथा कलेजबाट अवलोकनका लागि युनिर्फमा आउने विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था छ । प्रदर्शनी अवधिभर सेलिब्रेटीहरूको उपस्थितिमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । राष्ट्रिय पोसाकमा आउनेलाई समेत निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्