ओझेलमा काठमाडौंको बागवानी केन्द्र

धेरैलाई थाहा छैन होला काठमाडौं उपत्यका भित्र फलफूलको ठूलो बागवानी छ भनेर । काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर नगरपालिकामा रहेको समशितोष्ण बागवानी केन्द्र नजिकै भएर पनि ओझेलमा छ ।
२०१९ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको समशितोष्ण बागवानी केन्द्र धेरै सम्भावना भएर पनि खुम्चेर बसेको छ ।
नेपालको मध्यपहाडमा हुने सबै प्रकारका फलफूलको प्रसारको लागि बिउ, बेर्ना, बिरुवा, उत्पादन गर्ने भएपनि सरकारको प्राथमिकतामा क्रमशः खुम्चँदो छ ।
अंगुर, नासपाती, आरु, किवी, एभोकाडो, हलुवावेद, अम्बा, वयर तथा सुन्तला जातका फलफूलको ५० भन्दा बढी जातका बिरुवा यस केन्द्रले उत्पादन गर्दै आएको छ । यस केन्द्रमा उत्पादन हुने जापनिज नासपाती र वाइनको लागि राम्रो मानिएको स्टुवेन अंगुर विशेष रहेका छन् । यस्तै यो केन्द्रले मुख्यगरी बिरुवा उत्पादन गरेर कृषक तथा व्यवसायीहरुलाई बिक्री वितरण गर्दै आएको केन्द्रकी सुचना अधिकारी सरिता गौतमले बताए ।
यति धेरै सम्भावना र महत्व भएको बागवानी केन्द्र अहिले अतिक्रमणमा परेको छ । स्थापना कालमा करिब ४०० रोपनीमा फैलिएको यो केन्द्र सरकारी निकायको कार्यालय, सडक लगायतले क्रमशः अतिक्रमण गर्दै गएका छन् । ४०० रोपनीमा फैलिएको यो बागवानी केन्द्र अहिले २७५ रोपनीमा खुम्चन पुगेको छ ।
काठमाडौं लगायतका मध्यपहाडी क्षेत्रमा समशितोष्ण जलवायुमा उपयुक्त हुने फलफूलको बिरुवा उत्पादन गर्न यो केन्द्रको प्रचार–प्रसार र क्षमता वृद्धि गर्न आवश्यक छ । बजारको अभाव नभएको तर माग अनुसार उत्पादन दिन नसकिएको यो समयमा यस्ता बागवानी केन्द्रको भूमिका अहम् हुन्छ ।