हिमालय हाइड्रो एक्स्पोमा ५० विदेशी कम्पनीको सहभागिता रहने «

हिमालय हाइड्रो एक्स्पोमा ५० विदेशी कम्पनीको सहभागिता रहने

यही पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने हिमालय हाइड्रो एक्स्पो– २०१८ मा जलविद्युतसँग सम्बन्धित ५० विदेशी कम्पनीले सहभागिता जनाउने भएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको हिमालयन हाइड्रो एक्स्पोमा एक सय स्टलमध्ये ५० प्रतिशत विदेशी कम्पनीले सहभागिता जनाउन लागेका हुन् । राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्वमा हुन लागेको एक्स्पोमा ५० विदेशी कम्पनी रहने तथा एक्स्पोमा जलविद्युत्सँग सम्बन्धित सबै निकायको एकै साथ सहभागिता रहने इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए । उनका अनुसार, राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने एक्स्पोमा जलविद्युत् निर्माता, सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक-वित्त कम्पनीहरूको सहभागिता रहने छ । विशेषगरी भ्वाइथ, क्यासटल, फ्लोभेल, भापटेक, माभेल, बीएफलजस्ता बहुराष्ट्रिय कम्पनीको सहभागिता रहने एक्स्पोमा जलविद्युत् सम्बन्धी विश्वका विकसित आधुनिक प्रविधिबारे समेत जानकारी दिने कार्यक्रम रहेको इप्पानले जनाएको छ ।
एक्स्पोमा भारत, चीन, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, स्वीडेन, इटलीलगायतका देशका कम्पनीहरूको सहभागिता रहने निश्चित भएको इप्पानका कार्यकारी प्रबन्धक प्रवल भट्टराईले जानकारी दिए । उनका अनुसार, एक महिनामै एक किमि सुरुङ खन्नसक्ने टनेल बोरिङ मेसिनबारे प्रस्तुतीकरणका साथै नयाँ फलसिङ प्रणालीका साथै ऊर्जा उत्पादनका लागि जेनेरेटरको महत्व, हिमालय देशमा साना जलविद्युत्को विकास, नयाँ प्रविधि, जोखिम व्यवस्थापन, जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनलगायत सेमिनारको समेत आयोजना गर्न लागिएको छ ।
एक्स्पोमै युवा पुस्तालाई लक्षित गर्दै हाइड्रो पावर क्षेत्रमा अभिरुचि भएकाहरूलाई आकर्षित एवं प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए । उनका अनुसार, जलविद्युत्सम्बन्धी उत्पादन र सर्भिसको विकाससम्बन्धी प्रतिस्पर्धा गराई विद्यार्थी र नयाँ आविस्कार गर्नेहरू मध्येबाट उत्कृष्ट छनोट गरी प्रथम हुनेलाई ५० हजार रुपैयाँभन्दा बढी तथा द्वितीय र तृतीयलगायत अन्य सान्त्वना पुरस्कार प्रदान गरिनेछ । उनका अनुसार सरकारको ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकोमा एक्स्पोले जलविद्युत् आयोजना निर्माणका लागि ज्ञान, सीपदेखि उपकरणहरूको जानकारी दिएर अघि बढाउन सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्