नेपालमा पहिलो पटक हिमालयन हाइड्रो एक्स्पो–२०१८

जलविद्युत् क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(ईपान)ले यही पुस २१ गतेदेखि २३ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ को आयोजना गर्ने भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरको हिमालयन हाइड्रो एक्स्पो हुने भएको छ । यो एक्स्पो ३ दिनसम्म चल्नेछ । यस मेलाले सरकारको ७ वर्षमा १७ हजार विद्युत् उत्पादन गर्ने लक्ष्यलाई सहयोग गर्ने इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।
यस मेलामा झन्डै सयवटा स्टल रहने छन् । जसमध्ये करिब ५० प्रतिशत स्टल विदेशी कम्पनीहरूको सहभागिता रहने स्वतन्त्र उत्पादक संघ (ईपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, बेलायत, ब्राजिल, इटलीलगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरूको सहभागिता रहने भएको छ । विशेष गरी बहुराष्ट्रिय कम्पनी एक्स्पोमा सहभागी हुने र दर्जनौ विदेशी कम्पनी सहभागिता रहने भएकाले नेपालको जलविद्युत्को बजार विस्तारका साथै अनुभव आदान–प्रदान गर्ने एक्स्पोले महत्वपूर्ण योगदान पु¥याउने आयोजकको दाबी छ ।
एक्स्पो अवधिमा हाइड्रो पावरका मुख्य–मुख्य विषयमा सेमिनारसमेत सञ्चालन हुनेछ । त्यस्तै यस हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रो पावरसम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थीहरू एवं व्यक्तिगत तवरबाट आविस्कार गरेको वस्तु तथा सेवाबीच प्रतिस्पर्धासमेत हुने भएको छ । यस वस्तु तथा सेवा विकास गर्नेहरूबाट उत्कृष्ट छनोट गरी पुरस्कृतसमेत गरिने आयोजकले जनाएको छ । जसमा प्रथम हुनेलाई ५५ हजार ५ सय ५५, द्वितीय हुनेलाई २२ हजार २ सय २२ र तृतीय हुनेलाई ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदान गरिनेछ ।
एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, जनसंख्या वातावरण मन्त्रालयको संरक्षकत्व गरेको छ । नेपाल विद्युत् प्राविधिकरण, नेपाल उद्योग वाण्ज्यि सघं, नेपाल टनेलिङ एसोसियसन, नेपाल–भारत उद्योग वाणिज्य सघंलगायत स्वदेशी तथा विदेशी कम्पनीहरूले एक्स्पोलाई सहयोग गरेको पाइन्छ ।
एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सीएमसी दी रभेन्ना कम्पनीले गर्ने भएको र अफिसियल पार्टनरका रूपमा होटल अन्नपूर्ण, नेपाल सिपिङ एन्ड एयर लजिस्टिक प्रालि र एनएनबी बैंक लिमिटेड छन् । तीन दिनसम्म चल्ने यो प्रदर्शनी मेलामा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरीएको छ ।