चीनसँगको पारवहन प्रोटोकलमा बेइजिङमा वार्ता «

चीनसँगको पारवहन प्रोटोकलमा बेइजिङमा वार्ता

चीनसँग व्यापार तथा पारवहन सम्झौताको कार्यविधि (प्रोटोकल) लाई अन्तिम रूप दिन गठित नेपाली टोली र चिनियाँ प्रतिनिधिमण्डलबीच बुधबार बेइजिङमा दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।
बैठकमा नेपालको नेतृत्व वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले गरेका थिए । नेपाली टोलीमा परराष्ट्र, अर्थ, कानुन, भौतिक पुनर्निर्माण तथा यातायात मन्त्रालयका अधिकारी पनि सहभागी थिए । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व यातायात उपमन्त्री लिउ स्याउमिङले गरेका थिए । बैठकले तेस्रो परामर्श बैठक काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी दुवै पक्षबीच यातायात तथा पारवहन प्रोटोकललाई छिट्टै अन्तिम रूप दिने विषयमा गहन छलफल भएको जनाएको छ । यसअघि गत महिना प्रधानमन्त्री केपी शर्माओलीको चीन भ्रमणका क्रममा तयारी नपुगेको भन्दै हस्ताक्षर हुन सकेको थिएन । तर गतसाताको मन्त्रिपरिषद् बैठकले नेपाल चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलसम्बन्धी वार्ता गरी हस्ताक्षर गर्न घिमिरेको संयोजकत्वमा ९ सदस्यीय टोली बेइजिङ पठाउने निर्णय गरेको थियो । सम्झौता प्रोटोकलमा हस्ताक्षर गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोली असार २३ गते बेइजिङ गएको थियो ।
नेपाल र चीनबीच व्यापार तथा पारवहन प्रोटोकलको मस्यौदामा शृङ्खलाबद्ध रूपमा छलफल भइसकेका छन । तर अझै केही विषयलाई अन्तिम रूप दिन बाँकी छ । नेपालले चिनियाँ पक्षसँग तेस्रो मुलुकसँगको व्यापार गर्न चीनको भूभागबाट पारवहन सुविधा उपलब्ध गराउन अनुरोध गर्दै ६ वटा बन्दरगाहा प्रदान गर्न माग गरेको छ । सात वर्ष पुरानो समझदारी कार्यान्वयनका लागि सरकारले पटक पटक प्रयास गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्