समुदाय र अभियानमैत्री सहकारी कानुन
नेपालको संविधान, २०७२ को घोषणा भई कार्यान्वयन प्रक्रिया अघि बढेपछि राजनीतिक परिवर्तनका मुद्दा टुंगिएका छन् । मुलुक सुशासन, आर्थिक समृद्धि एवम् आत्मनिर्भरताका लागि अघि बढ्नुपर्ने जिम्मेवारीको प्रस्थानबिन्दुमा उभिएको छ । यद्यपि संविधानप्रतिको असन्तुष्टि व्यवस्थापन र राजनीतिक रूपमा कार्यान्वयनका कामहरू बाँकी नै छन् ।
राजनीतिक मुद्दालाई टुंगो लगाएर सबै तहका निर्वाचनमार्फत संविधान कार्यान्वयनलाई पूर्णता दिन अग्रसर हुनु राज्य र राजनीतिक दलहरूको प्राथमिक कर्तव्य बनेको छ । यसपछि संविधानले संकल्प गरेको आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने अभिभारा पूरा गर्नेतर्फ अघि बढ्नुपर्ने हुन्छ ।
सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य पूरा गर्नका लागि सबै नेपाली जनता अग्रसर हुनु अहिलेको आवश्यकता हो ।
आर्थिक समृद्धि र आत्मनिर्भर अर्थव्यवस्थाका लागि नीति, स्रोत र साधनहरूको संयोजन र सहजीकरण गर्ने दायित्व राज्यको हो र त्यसमा योगदान र सहयोग आमनागरिक र सम्बद्ध निकायहरूको जिम्मेवारी हो । संवैधानिक र नीतिगत रूपमा आर्थिक समृद्धिका निम्ति राज्य, निजी र सहकारीको त्रिपक्षीय सहभागिता र विकासको अनिवार्यतालाई सबैले स्वीकार गरेका छन् ।
सहकारी अभियान नेपालमा सफल आर्थिक, सामाजिक सञ्जालका रूपमा अघि बढिरहेको छ । हाल ३३ हजार सहकारीमा ५३ लाख मानिस संगठित छन् । कुल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशत, वित्तीय क्षेत्रमा २० प्रतिशत, १ लाख प्रत्यक्ष रोजगारी, १० लाख स्वरोजगारी र ५ खर्बको स्रोत परिचालन सहकारीले गरिरहेको छ । ग्रामीण तथा सीमान्तीकृत समुदायलाई आर्थिक तथा सामाजिक रूपान्तरणको मूल प्रवाहमा ल्याउने कार्यमा सहकारीले महत्वपूर्ण ढंगले काम गरिरहेको छ ।
सहकारीमा राज्य र निजी क्षेत्रका महत्वपूर्ण विशेषताहरू सम्मिलित छन् । समुदायलाई एकताबद्ध रूपमा संगठित गरेर चेतना, कर्तव्य र जिम्मेवारीका लागि प्रतिबद्ध बनाउने कार्य सहकारीले गरिरहेको हुन्छ । छरिएर रहेको पुँजीलाई एकीकृत गरेर सामाजिक पुँजी निर्माण गर्ने र सामूहिक उद्यम–व्यवसायको माध्यमबाट समुदायको विकासमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
सहकारीले व्यवसाय, पुँजी, मुनाफा, उत्पादन र विस्तारको काम गरिरहेको हुन्छ । सहकारीमार्फत स्थानीय तहमा ससाना उद्यम र कारोबार ठूला व्यवसायका सहयोगी बन्न सक्छन् । सहकारीहरू निजी क्षेत्रको प्रतिस्पर्धी नभएर सहयोगी र परिपूरक हुन् । नेपाली समाजले खोजेको आर्थिक लोकतन्त्र, समविकास र समृद्धि यात्राका लागि सहकारी एक अपरिहार्य विधा हो । यस क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्छ ।
सहकारी अभियन्ता, समुदाय, राज्य र निजी क्षेत्र सबैले सहकारीको माध्यमबाट नेपाली समाजको आर्थिक समृद्धि र सामाजिक एकतालाई फराकिलो बनाउन सकिने सम्भावनालाई सदुपयोग गर्नुपर्छ । सबै प्रकारका बेथिति, जोखिम र दुरुपयोग नियन्त्रण गरेर सहकारीलाई सुशासित, अनुशासित र विकासवान् सामुदायिक एवम् व्यावसायिक अभियान बनाउन सक्नुपर्छ ।