महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड मार्फत टुर प्याकेज खरिद गर्न सकिने

काठमाडौं- महालक्ष्मी विकास बैंकले क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको छ । आगामी चाडपर्वलाई लक्षित गर्दै नेपालीहरु विभिन्न देश घुम्न जाने प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजनाको सुरुवात गरेको हो ।
सो अन्तर्गत बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीहरुसँग व्यवसायिक सहकार्यको लागि सम्झौता समेत गरिसकेको छ । प्रारम्भिक चरणमा पर्यटकहरुले गुरु ट्रभाल्स लि., दरबारमार्ग र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स, उत्तरढोका, काठमाडौं मार्फत यो सुविधा लिन सक्नेछन् ।
सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका क्रेडिट कार्ड वाहकहरुले ट्राभल एजेन्सी मार्फत विभिन्न टुर प्याकेज खरिद गर्दा महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्नेछन् । साथै आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ देखि १२ महिनासम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
आफूले खरिद गरेको टुर प्याकेजको बिल पेश गरे पश्चात बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ । यसरी मासिक किस्तामा परिवर्तन गर्दा बैंकले इएमआई प्रोसेसिङ शुल्क लिने छैन । यस कार्यको सुरुवातसँगै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र चाडपर्वलाई थप उत्साहमय र अर्थपूर्ण बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।