Logo

दसैंको अग्रिम टिकट बुकिङ घटस्थापनाको हप्ता अगाडि

फाइल तस्बिर

काठमाडौं : दसैंतिहारमा काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ घटस्थापना भन्दा एक हप्ता अगाडि खोल्ने तयारी गरिएको छ ।

यातायात व्यवस्था विभागका निर्देशक नरहरि तिवारीका अनुसार २५ भदौमा सरोकारवालाहरु यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीय तह र सडक विभागबीच छलफल गरी अग्रिम टिकट खुलाउने निर्णय हुनेछ । विगतमा पनि घटस्थापना भन्दा एक हप्ता अगाडि अग्रिम टिकट खुला गर्ने अभ्यास रहेकोमा यस वर्ष पनि सोहीअनुसार तयारी थालेको निर्देशक तिवारीको भनाइ छ ।

भदौ अन्तिमबाट बुकिङ खोल्ने आन्तरिक तयारी रहेको उनले बताए । उनले भने, ‘विभागले आन्तरिक रुपमा अनौपचारिक छलफल जारी राखेको छ । सरोकारवाला निकायसँग बृहत् छलफल गरेर बुकिङ खोल्ने तयारी विभागको छ ।’ अहिले भने अनलाइन टिकट चुस्त बनाउने, सडक तथा राजमार्गको अवस्था अनुगमन र मूल्यांकन गर्ने काम विभागले गरिरहेको छ । सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएपछि विभागले अनुगमन गर्ने निकाय पनि परिचालन गर्नेछ ।

विभागले यातायात व्यावसायीहरुलाई अग्रिम टिकट बुकिङ गर्दा यथासक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउन भनेको छ । विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, लोत्से बहुउद्देश्यीय तथा उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने विभागको भनाइ छ । विभागका अनुसार सवारी चालकले यात्रुलाई खाना खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्नु पर्नेछ । आधिकारिक काउन्टरमा परिचयपत्र र पोशाक लगाएका व्यक्तिहरुबाट मात्र टिकट बिक्री गर्नुपर्ने गरी व्यवस्थापन गर्न लागिएको विभागले जनाएको छ । विगतमा जस्तै यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर रुट परमिट खुला गर्ने निर्णय विभागले गरेको निर्देशक तिवारीले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार सडक सुधारमा सरकारले गर्नुपर्ने कामका विषयमा जानकारी गराइएको छ । सडक विभागले भने काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुको सहजताका लागि राजमार्ग सुधार जारी रहेको बताएको छ । दसैंलाई लक्षित गरी राजमार्गहरु चुस्तदुरुस्त बनाउने काम भइरहेको विभागका उप–महानिर्देशक प्रभातकुमार झाले बताए ।

प्रतिक्रिया दिनुहोस्