दुई नयाँ एम-२८ स्काइट्रक प्रदान गर्दै अमेरिकाद्वारा विपद् प्रतिकार्य क्षमता विस्तार

काठमाडौं- अमेरिकाले नेपाली सेनालाई ३ करोड ७० लाख अमेरिकी डलर (करिब सवा ५ अर्ब रुपैयाँ) बराबरको विदेशी सैन्य वित्तपोषण (एफएमएफ) अनुदानमार्फत दुई ओटा नयाँ एम-२८ स्काइट्रक विमान प्रदान गरेको छ ।
जसबाट नेपालको हवाई उद्धार क्षमतामा अभिवृद्धि भएसँगै यी थप विमानहरू अब नेपालमा स्काइट्रक विमानको संख्या पाँच पुगेको छ । जसमा अमेरिकाले नै सन् २०१९ मा प्रदान गरेका दुई र नेपाल आफैँले खरिद गरेको एक विमान समाविष्ट छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आयोजित एक समारोहबीच परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, वरिष्ठ सरकारी अधिकारीहरू, प्रधानसेनापति अशोक राज सिग्देल, अमेरिकी विदेश मन्त्रालयको सुरक्षा सहायतासम्बन्धी प्रमुख उपनिर्देशक मेरी ए आर्चर र विमान निर्माता कम्पनी पीजेडएल मिएलेकका प्रतिनिधिहरूको उपस्थितिमा अमेरिकी राजदूत डिन थम्पसनले ती विमान नेपाली सेनाका वरिष्ठ नेतृत्वलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए ।
सो समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री देउवाले भनिन्, ”यो क्षण नेपाली सेनाको विपद् प्रतिकार्य क्षमता वृद्धिका लागि मात्र नभई नेपाल र अमेरिकाबिचको चिरस्थायी मित्रता र सहयोगको प्रतीकको रूपमा पनि महत्त्वपूर्ण छ । अमेरिका नेपालको एक अडिग विकास साझेदार र भरपर्दो मित्र रहिआएको छ जसले हामीलाई शासन सञ्चालन, मानवीय सहायता, विपद् प्रतिकार्य, शान्ति स्थापना र क्षमता निर्माणमा सहयोग गर्दै आएको छ ।”
”यी विमानहरू यन्त्र मात्र होइनन् । यी त जीवनरेखा हुन् । यिनले देशको कुनै पनि कुनाको आपत्कालीन अवस्थामा अझ छिटो र प्रभावकारी रूपमा प्रतिक्रिया जनाउन नेपाललाई मद्दत गर्नेछन्,” राजदूत थम्पसनले भने । ”यो सहयोगले हाम्रो बृहत्तर सुरक्षा सहकार्यको केवल एउटा सानो हिस्सालाई प्रतिनिधित्व गर्दछ, जुन सहकार्यमा प्रशिक्षण, आदानप्रदान, उपकरण हस्तान्तरण र योजना निर्माण लगायत समावेश छन् । यसले नेपाललाई अझ उत्थानशील, सक्षम र सुरक्षित बनाउने हाम्रो जारी प्रतिबद्धतालाई उजागर गर्दछ ।”
लकहिड मार्टिन नामक कम्पनीको पोलिस सहायक कम्पनी पीजेडएल मिएलेकद्वारा निर्मित यी विमान नेपालको चुनौतीपूर्ण भौगोलिक अवस्थाका निम्ति विशेष रूपमा उपयुक्त छन् । ”सर्ट टेकअफ एन्ड ल्यान्डिङ” क्षमताका कारण यी विमानलाई दुर्गम र विषम धावनमार्गहरूमा सञ्चालन गर्न सकिन्छ ।
बिहीबार प्रदान गरिएका विमानमध्ये एउटा एअर एम्बुलेन्स हो जुन बिरामी तथा घाइतेको उद्धार र स्ट्रेचरमार्फत गरिने ओसारपसारका निम्ति सुसज्जित छ । यी विमानले नेपाली सेनाको विपद् प्रतिकार्य, घाइते उद्धार र मानवीय सहायता कार्यसम्बन्धी क्षमता सुदृढ गरी मानव जीवन जोगाउन देशभर सहयोग पुर्याउनेछन् ।