रोल्पाबाट साढे ८ अर्बको कृषि उपज निर्यात

रोल्पा– रोल्पाबाट गत आर्थिक वर्ष २०८१/०८२ मा करिब २ लाख १८ मेट्रिक टन कृषि उपज निर्यात भएको छ । यो अवधिमा जिल्लामा उत्पादित ३ करोड ३ हजार रुपैयाँ बराबरको कृषि उपज अन्य जिल्लामा निर्यात भएकोे हो । जसमध्ये ८६ हजार मेट्रिक टन कृषि उपज जिल्लामै खपत हुने गरेको छ ।
कृषि उपज निर्यातबाट गत आवमा जिल्लामा झण्डै साढे ८ अर्ब भित्रिएको कृषि ज्ञान केन्द्र रोल्पाले जानकारी दिएको छ । जिल्लाबाट सबैभन्दा बढी हरियो तरकारी निर्यात हुने गरेको छ । त्यसपछि क्रमश: आलु, फलफूल, कोदो, दलहनलगायतका बाली रहेका छन् । गत आर्थिक वर्ष १ लाख ३९ हजार ४६६ मेट्रिक टन तरकारी निर्यात हुँदा ६ अर्ब ६९ करोड ४३ लाख रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै गत आवमा ३९ हजार ४१७ मेट्रिक टन आलु निर्यात हुँदा ९४ करोड ६० लाख, १३ हजार ७०४ मेट्रिक टन फलफूल निर्यात गर्दा ६० करोड २९ लाखको कारोबार भएको थियो । त्यसैगरी ६८७ मेट्रिक टन कोदो निर्यात हुँदा १ करोड ८१ लाख, २४१ मेट्रिक टन दलहन निर्यातबाट १ करोड ८ लाख र ११ हजार, ९१२ मेट्रिक टन मसला बाली निर्यातबाट ५७ करोड १७ लाख र १३ मेट्रिक टन मह निर्यातबाट ९१ लाखको कारोबार भएको केन्द्रका सूचना अधिकारी तथा बागवानी प्राविधिक अधिकृत प्रेमबहादुर वलीले जानकारी दिए ।
जिल्लाा विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका हाटबजार सहकारी र व्यावसायिक फर्महरुबाट कृषि उपज बिक्री हुने गरेको उनले बताए । जिल्लामा पछिल्लो समय आलु र तरकारी खेतीप्रति किसान आकर्षित हुँदै गएको कृषि ज्ञान केन्द्र रोल्पाले जनाएको छ । ‘अन्य खेती उत्पादनको क्षेत्र घट्दै गएको छ, तरकारी उत्पादनमा वृद्धि हुँदै गएको छ’, केन्द्रका सूचना अधिकारी वलीले भने, ‘सडकको सहज पहुँच भएकाले तरकारी खेतीप्रति किसान आकर्षित बनेका छन् ।’
स्थानीय, प्रदेश र संघ सरकार साथै विभिन्न दातृ निकायले समेत कृषिमा विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दा खेतीप्रति किसानको लगाब बढ्दै गएको छ । पछिल्लो समय किसानले आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्न थालेपछि उत्पादनमा समेत वृद्धि भएको हो । यसका साथै व्यापारमा पनि सहजता भएकाले किसानहरु तरकारी खेतीमा आकर्षित बनेको केन्द्रले जनाएको छ ।