आर्थिक विकासमा वित्तीय शिक्षाको महत्व

आर्थिक कारोबार गर्नका लागि चाहिने शिक्षालाई वित्तीय शिक्षा भनिन्छ । अझ व्यापक अर्थमा भन्ने हो भने आफूसँग भएको धनसम्पत्ति र आम्दानीलाई सही तरिकाले प्रयोग गर्न, सही स्थानमा लगानीका लागि उपायहरू खोज्न सिकाउने शिक्षा नै वित्तीय शिक्षा हो । आम्दानीको निश्चित रकम बचत गर्ने, आम्दानीलाई बैंक खातामा सुरक्षित गर्ने, आफूसँग भएको सम्पत्तिको उचित व्यवस्थापन गर्न सिकाउने शिक्षालाई वित्तीय शिक्षा भनिन्छ । वित्तीय प्रणालीका बारेमा ज्ञान नहुँदा धेरै मानिसले आर्थिक नोक्सानी बेहोर्नुपर्ने अवस्थाको सिर्जना हुन्छ । पुँजी निर्माणका लागि गर्नुपर्ने प्रयत्न, पुँजीको सुरक्षा र सही स्थानमा उपयोग गर्न सिकाउँदै धनसम्पत्तिको महत्व बुझ्दै मितव्ययिता अपनाएर कानुनी रूपमा नाफामूलक आर्थिक कारोबार गर्ने ज्ञान नै वित्तीय साक्षरता भनेर बुझिन्छ ।
वित्तीय शिक्षाको अभावमा आम्दानी र व्यवसाय जोखिममा पर्छ, नाफा कमाउन कठिन हुन्छ र भएको पुँजीको उचित परिचालन गर्न सकिँदैन । वित्तीय साक्षरताभित्र आम्दानी गर्ने, आम्दानीअनुसार खर्च गर्ने, बजेट व्यवस्थापन गर्ने, बचत गर्ने, ऋण लिने-दिने, बीमा गर्नेलगायतका विषयहरू पर्छन् । हामीले वित्तीय शिक्षाका बारेमा विद्यालय तहदेखि नै जानकारी र शिक्षा दिन सकेमा यसले आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । यसबाट लगानी सुरक्षित तथा बचत अनि आम्दानीका विभिन्न स्रोत खोज्ने वातावरण सिर्जना हुन्छ । समयमा नै धनको महत्व बुझेर धनको अभावमा आइपर्न सक्ने समस्याबाट मुक्त हुन सकिन्छ ।
वित्तीय शिक्षाअन्तर्गत वित्तीय प्रणाली पनि आउँछ । यसको अर्थ आर्थिक लेनदेन कार्य गर्ने निर्देशनहरूको व्यवस्था हो । अर्थतन्त्रलाई गतिशील बनाउन संकलित पुँजीलाई आवश्यक क्षेत्रमा परिचालन गर्नका लागि वित्तीय संस्था, वित्तीय उपकरण र वित्तीय मध्यस्थताको सामूहिक स्वरूप नै वित्तीय प्रणाली हो । नेपालमा वित्तीय प्रणालीअन्तर्गत केन्द्रीय बैंक, वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त र वित्तीय कारोबार गर्ने सहकारीहरू पर्छन् । यस्तै आर्थिक कारोबार गर्ने कम्पनी वा संस्थाहरूलाई वित्तीय संस्था भनिन्छ । हाल नेपालमा राष्ट्र बैंकको वि.सं. २०७९ को प्रतिवेदनअनुसार चार वर्गका बैंक तथा वित्तीय संस्थाहरू रहेका छन् ।
वित्तीय शिक्षाअन्तर्गत सफा नोट पनि पर्छ । हामीले नोटलाई जतनका साथ प्रयोग गर्नुपर्छ । नोटको जतन गर्दा यसको आयु पनि बढ्छ । यसले राज्यले नयाँ नोट छाप्ने रकमको समेत बचत हुन्छ । त्यसैले नोटमा केरमेट गर्ने, अनावश्यक कुरा लेख्ने, पूजाआजा गर्दा अबिर, केसरी तथा अन्य रंगहरूको प्रयोग गर्ने कार्य कहिल्यै गर्नु हुँदैन । साथै, नोटलाई दोबारेर राख्ने, फोहोर पार्नेजस्ता कार्य एक सचेत नागरिकले गर्नु हुँदैन । नोटलाई जतनका साथ राख्ने बानीको विकास गर्नुपर्छ । यस्ता कार्यले असल नागरिकको पहिचानसमेत दिने भएकाले यसलाई हामीले ध्यान दिनुपर्छ । नोटमा देशको राष्ट्रिय चिह्न र विभिन्न पहिचान समावेश गरिएको हुन्छ । तसर्थ, नोटको जतन गर्नु एउटा असल नागरिकको कर्तव्य पनि हो भन्ने वास्तविकता हामी सबैले मनन गर्नुपर्छ । विदेशी नागरिकमा सफा नोटका बारेमा ज्यादा सजगता रहेको हामी देख्न सक्छौँ ।
वित्तीय शिक्षाअन्तर्गत बैंक खाता पनि रहेको हुन्छ । वित्तीय कारोबार गर्नका लागि सर्वसाधारण व्यक्ति वा संस्थाको नाममा खाता खोलिन्छ । व्यक्ति वा संस्थाको नाममा रहेको विवरण नै बैंक खाता हो । बैंक खाता खोलेपछि ग्राहकले रुपैयाँपैसा जम्मा गर्दा भौचर पाउँछन् । आफूले राखेको रकम झिक्न चेकबुक र कारोबार विवरण हेर्न बैंक स्टेटमेन्ट उपलब्ध हुन्छ । बैंक तथा वित्तीय संस्थाहरूले तीन प्रकारका खाता खोल्न सक्छन् । चल्ती, बचत र मुद्दती गरी तीन प्रकारका बैंक खातामार्फत ग्राहकले कारोबार गर्न सक्छन् । चल्ती खातामा एक दिनमा जति पटक पनि रकम झिक्न र राख्न मिल्छ ।
चल्ती खातामा ब्याज भने ग्राहकले प्राप्त गर्न सक्दैनन् । बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न पाइन्छ । यस्तो सीमा भने सम्बन्धित बैंकले नै तोक्ने गर्छ । यस्तो खातामा बैंकले ब्याज प्रदान गर्छ । यस्तो बैंक खाता ससाना बचतकर्ताहरूका लागि ज्यादा उपयोगी हुन्छ । मुद्दती खातामा ग्राहकले निश्चित समयावधि तोकेर खाता खोली रकम जम्मा गर्ने व्यवस्था गरिएको हुन्छ । यस्तो खाता तीन महिना, ६ महिना, एक वर्ष, दुई वर्ष वा अन्य यस्तै समय तोकेर रकम राखिन्छ । यस्तो रकम तोकिएको समयभन्दा अगाडि झिक्न पाइँदैन । यस्तो खातामा ब्याज पनि अन्यको भन्दा बढी नै दिइने गरिन्छ ।
वित्तीय साक्षरताअन्तर्गत एटिएम पनि पर्छ । कुनै पनि विद्युतीय कार्डमार्फत रकम झिक्ने व्यवस्था यसमा मिलाइएको हुन्छ । कुनै पनि बैंक तथा वित्तीय संस्थामा खाता खोलेपछि कार्ड प्रदान गरिन्छ । यस कार्डबाट मेसिनको सहायताले रकम झिक्न वा मौज्दातबारे जानकारी लिन सकिन्छ । यसमा खातामा भएको रकम मात्र झिक्न पाइन्छ । यसमा बैंकले गोप्य पिन नम्बरको सहयोगबाट आफ्नो खातामा भएको रकम झिक्न सकिन्छ । यसैगरी क्रेडिट कार्डलाई पनि वित्तीय शिक्षाको एक भागको रूपमा लिइन्छ । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना विश्वासिला ग्राहकलाई खातामा आवश्यक रकम मौज्दात नभए पनि वस्तु तथा सेवा खरिद गर्न सकून् भनेर विद्युतीय कार्ड उपलब्ध गराउँछन् । यसैलाई नै क्रेडिट कार्ड भनिन्छ । सेवाग्राहीले आफूसँग रकम भएको बेला बैंकलाई कर्जा भुक्तानी गर्छन् । यसको प्रयोग पनि डेबिड कार्डजस्तै हो, तर, रकम खर्च गर्ने निश्चित सीमा तोकिएको हुन्छ । डेबिड कार्ड प्रयोगकर्ताले यो सुविधा लिएबापत निश्चित रकम निजको बचतबाट घट्ने व्यवस्था गरिन्छ । यस्तै एसएमएस बैंकिङ सेवालाई पनि वित्तीय साक्षरताको तत्व मानिन्छ ।
मोबाइलबाट सन्देश आदानप्रदान गरेर पनि वित्तीय कारोबार गर्न सकिन्छ । मौज्दात थाहा पाउने, अरूको खातामा रकमान्तर गर्ने, तोकिएको बिलको भुक्तानी गर्नेजस्ता कार्य यस सेवाबाट प्राप्त गर्न सकिन्छ । वित्तीय शिक्षाले आफूसँग भएको पैसालाई बैंक तथा वित्तीय संस्थामा बचत गर्न, सेयर वा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गरी पुँजी वृद्धि गर्न सहयोग गर्छ । वित्तीय शिक्षाले मानिसलाई नियमित रूपमा बचत गर्न पनि सिकाउँछ । त्यति मात्र नभएर व्यक्तिलाई आय आर्जन गर्न, आम्दानी बचाउन, सही स्थानमा खर्च गर्न, ऋण लिएर लगानी गर्नेजस्ता वित्तीय कारोबारका लागि सक्षम पनि बनाउँछ । यसैगरी ऋण लिँदा हुने फाइदा र ऋणको दुरुपयोग गर्दा हुने बेफाइदाका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।
वित्तीय शिक्षाले निष्क्रिय पुँजीलाई सक्रिय बनाई आर्थिक सम्पन्नताको मार्गमा जान सकिन्छ । साथै, पैसाको महत्व बुझेर त्यसको सदुपयोगबाट आर्थिक तथा सामाजिक सुरक्षा गर्न सहयोग गर्छ । वित्तीय शिक्षाले बैंक खाता खोल्ने, एटिएम चलाउने, मोबाइल सेवा लिने, बैंकिङ एप्लिकेसनमार्फत विद्युतीय बारोबार गर्ने आदि सीप सिकाउँछ । आफ्ना आर्थिक क्रियाकलापलाई सरल र सहज बनाउने ज्ञान प्राप्त हुन्छ । यति मात्र नभएर दलाल वा ठगहरूबाट कसरी जोगिन सकिन्छ ? वित्तीय जोखिमलाई कसरी कम गर्न सकिन्छ ? आफ्नो आम्दानी र खर्चलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारेमा ज्ञान प्राप्त हुन्छ । वित्तीय शिक्षाले व्यक्तिमा उद्यमशीलताको भावना विकास भई नयाँ उत्पादन गर्दै आर्थिक रूपमा सबल र सक्षम बन्न सकिन्छ ।
हामीहरूले विद्युतीय उपकरणहरूको प्रयोगमार्फत कारोबार गर्दा नगद बोकेर हिँड्नु पर्र्दैन । जसका कारण चोरी हुने, लुटिने वा ज्यानको जोखिमसमेत कम हुन्छ । यसको प्रयोगले सहज रूपमा छिटो रकम प्राप्त गर्न सकिन्छ । समयको पनि बचत गर्न सकिन्छ । साथै, श्रम तथा यातायात खर्चको समेत बचत गर्न सकिन्छ । रकम कति बचत रहेछ भन्ने सहजै थाहा हुन्छ । अनावश्यक झन्झटको सामना पनि गर्नु पर्दैन । आजको व्यस्तताले ग्रसित समाजमा बैंकिङ सेवाबाट विभिन्न प्रकारका लाभ लिन सकिन्छ । आर्थिक विकासका लागि हरेक व्यक्तिले वित्तीय शिक्षा लिनुपर्छ । आफूसँग रहेको रकमको सही रूपमा उपयोग गरी फाइदा लिन सकिन्छ ।
समयअनुसारका प्रविधिको प्रयोग गर्न पनि वित्तीय शिक्षाले सहयोग गर्छ । मोबाइलको प्रयोगबाट विभिन्न जानकारी लिन सकिन्छ । तर, हामीले विद्युतीय सेवा लिन सचेतना भने अपनाउनुपर्छ । पासवर्ड गोप्य रूपमा राख्नुपर्छ । खाता नम्बरको प्रयोग गर्दा सतर्कता अपनाउनुपर्छ । समाज परिवर्तनशील भएकाले विभिन्न प्रकारका नवीन प्रविधिको विकास भएका छन् । तिनीहरूको सही तरिकाले उपयोग गर्न पनि हरेकले वित्तीय शिक्षा लिनुपर्छ । पछिल्लो समय मनिसमा मानवता हराउँदै गएको छ, त्यसैले प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्नुपर्छ । आज सहयोग, सद्भाव मित्रताको अभाव भएर गएको अवस्था छ ।
एक असल समाजका लागि यो सकारातमक विषय होइन । आर्थिक रूपमा सबल र सक्षम बन्नका लागि वित्तीय शिक्षा लिएर सही तरिकाले उपयुक्त स्थान वा क्षेत्रमा मात्र लगानी गर्न सक्नुपर्छ । आजको समय भनेको वित्तीय शिक्षा र प्रविधिको उपयोग गर्न सक्नेहरूको नै भएकाले यसमा हामी गम्भीर हुनु जरुरी छ । वित्तीय शिक्षाबिना आर्थिक विकासको कल्पनासमेत गर्न सकिन्न । आम्दानी वृद्धि गर्न, समयअनुसार अगाडि बढ्न पनि वित्तीय शिक्षा अपरिहार्य बनेको छ ।