स्थानीय जातका गाई र हल गोरु पाल्ने कृषकलाई अनुदान

पर्वत– पर्वतको विहादी गाउँपालिकामा लोपोन्मुख स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गर्ने भएको छ । गाउँपालिकाले व्यावसायिक रुपमा दूध उत्पादनका लागि उन्नत जातका गाई पालन गर्ने कृषकलाई प्रतिगाई २० हजार उपलब्ध गराउने भएको छ ।
यसैगरी स्थानीय गाई संरक्षण अभियान अन्तर्गत प्रतिसुत्केरी गाई दुई हजार पाँच सय रुपैयाँ वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले जानकारी दिए । यसैगरी प्रतिहल गोरु प्रोत्साहन अनुदानका रुपमा १० हजार प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत रेश्मीले जानकारी दिए । वैदिक परम्परा अनुसार पुजा गरिने स्थानीय जातका गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपालिकाले संरक्षण अभियान थालेको हो ।
विहादी गाउँपालिकाले पालिका भित्रका छ वटै वडामा व्यावासायिक वा निर्वाहमुखी रुपमा स्थानीय जातका गाई पाल्ने कृषकलाई विगत तीन वर्षदेखि प्रोत्साहन समेत गर्दै आएको छ । पालिकाले सूचना जारी गर्दै स्थानीय जातका गाई पाल्ने कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । स्थानीय गाई पालन गरेका कृषकलाई प्रोत्साहन गर्न र गाईपालनतर्फ आकर्षण बढाउने अभियान थालिएको गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिए ।
गाई अभावमा विभिन्न पुजा पाठमासमेत गाईको दस्तुर भन्दै दक्षिणा राखेर उम्काउने गरिएको छ । यस्तो अवस्थामा हिन्दु धर्मनै संकटनमा पर्ने र हिन्दु धर्मावलम्बी नयाँ पुस्ताले स्थानीय जातका गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ । पालिकाले चालु आर्थिक वर्षको साउनयता सुत्केरी भएका स्थानीय गाईलाई दुई हजार पाँच सय रुपैयाँका दरले अनुदान दिने तयारी गरेको छ ।
जिल्लाका ७ स्थानीय तहमध्ये विहादीले पहिलो पटक स्थानीय गाई संरक्षणका लागि अभियान थालेको हो । यसअघि पालिकाले स्थानीय जातका गाई पाल्ने कृषकलाई प्रोत्साहन स्वरुप पाँच/पाँच हजार रुपैयाँ उपलब्ध गराएको थियो । यसअघि जिल्लाको जलजला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई १५ हजारका दरले अनुदान रकम उपलब्ध गराउँदै आएको थियो भने स्थानीय जातका गाईको मुत्र र गोबर प्रशोधनसमेत गर्न थालेको छ ।
पैंयुँ गाउँपालिकाले राँगो पाल्ने कृषकलाई २० हजार वार्षिक अनुदान वितरण गर्दै आएको छ । कृषकलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्ने उद्देश्यले पालिकाहरुले पशुपालन र कृषिको क्षेत्रमा लगानीसमेत बढाउँदै लगेका छन् । यस्तै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पनि यस वर्ष गाई भैंसीको सुत्केरी खर्चका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।