Logo

दुग्ध विकास संस्थानमा लागेको ताला अझै खुलेन

धनगढी– कैलालीको अत्तरियाबाट दुग्ध विकास संस्थान (डीडीसी) धनगढी सार्न लागिएको भन्दै डीडीसीको कार्यालयमा गरिएको तालाबन्दी अझै खुलेको छैन । अत्तरियाबासीले डीडीसीको अत्तरियास्थित दुग्ध वितरण आयोजना कार्यालयमा गत जेठ ८ गते गरेको तालाबन्दीका कारण आयोजनाको आर्थिक र प्रशासनिक काम प्रभावित भएको हो ।

कारखाना चले पनि आर्थिक र प्रशासनिक काम बन्द भएको हुँदा किसानले डीडीसीलाई बिक्री गरेको दूध भुक्तानी पाएका छैनन् । तालाबन्दीको कारण किसानलाई भुक्तानी दिन नसकिएको आयोजनाले बताए पनि किसानहरूले २०८१ माघदेखिको भुक्तानी पाएका छैनन् । डीडीसीबाट भुक्तानी नपाउँदा गाईभैँसीपालन अप्ठेरो हुन थालेको भन्दै भुक्तानीका लागि सहजीकरण गरिदिन कैलालीका प्रमुख जिल्ला अधिकारीलाई किसानले गुहारेका छन् ।

आयोजना प्रमुख निरन्जन भट्टराईका अनुसार संस्थानले कैलाली, कञ्चनपुर र डडेल्धुराका किसानलाई ६ देखि सात करोड बढी रुपैयाँ भुक्तानी दिन बाँकी छ । ‘किसानलाई माघ महिनादेखिको भुक्तानी दिन पाइएको छैन,’ उनले भने, ‘किसानलाई भुक्तानी दिन बाँकी कति रकम छ भन्ने पनि हिसाब गर्न पाइएको छैन । ६ देखि ७ करोड रुपैयाँ बाँकी होला । तालाबन्दी खुलेपछि हिसाब गरेर किसानलाई क्रमश: भुक्तानी दिंदै जानेछौं ।’

उनले जेठमा एक करोड रुपैयाँ भुक्तानी दिने तयारी गरिरहेकै बेला तालाबन्दी भएपछि सो रकम पनि भुक्तानी हुन नसकेको बताए । ‘तालाबन्दी नभएको भए सबै नभए पनि केही रकम भुक्तानी दिँदै फागुन चैतसम्मको भुक्तानी दिइसक्थ्यौं,’ उनले भने, ‘चैतसम्म नै बढी दूध संकलन हुन्छ । वैशाखदेखि वर्षासम्म कम संकलन हुन्छ ।’ लामो समयदेखि तालाबन्दी भए पनि तालाबन्दी खुलाउन पहल नहुँदा आर्थिक र प्रशासनिक कामहरू बन्द भई उत्पादनमा समेत असर पर्ने अवस्था आएको भट्टराईले बताए । उनले तालाबन्दीको कारण खारखाना धनगढी सार्ने प्रक्रियासमेत अवरुद्ध भएको बताए ।

सुदूरपश्चिममा संस्थानलाई स्थापित गर्न कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहल सुरु गरेका छन् । उनले अत्तरियाबासीका मागलाई पनि सम्बोधन हुने गरी र संस्थानलाई नयाँ ठाउँमा कारखाना सार्ने वातावरण मिल्ने गरी गोदावरीका मेयर वीरेन्द्र भट्ट र आन्दोलित समूहसँग छलफल गरेका छन् । अत्तरियामा संस्थानको संकलन र बिक्री केन्द्र राख्ने र कारखाना धनगढीमा राख्ने गरी पहल भइरहेको भट्टराईले बताए । उनले हाल कारखानामा काम गरिरहेका सबै स्थानीयलाई रोजगारमा राख्ने गरी सम्झौता हुन सक्ने बताए ।

संस्थानको कारखानाका लागि अत्तरियामा लामो सयमसम्म जमिन खोज्दा उपयुक्त जमिन नपाएपछि धनगढी उपमहानगरपालिकासंग सम्झौता गरी कारखाना सार्नका लागि धनगढी–१५, कनरीस्थित जडिबुटी प्रशोधन केन्द्रको गोदामलाई दुग्ध कारखानाका लागि आवश्यक फाउन्डेसन बनाएको छ । ‘हामीले लामो सयमसम्म अत्तरियामा जमिन खोजे पनि नमिलेपछि विकल्पको रूपमा धनगढी रोजेका थियौं,’ उनले भने, ‘धनगढीमा सस्तो भाडादरमा भवनसहित ठाउँ मिलेको छ ।’

दुग्ध संकलन र स्थानीय रोजगारीमा असर पर्ने भएकाले संस्थानले कारखाना सार्न नहुने मागसहित आफूहरू तालाबन्दी गरेको स्थानीय लोकराज पाण्डेले बताए । संघर्ष समिति संयोजकसमेत रहेका उनले संस्थान नसार्ने प्रतिबद्धता आएपछि तालाबन्दी खोलिदिने बताए । अत्तरियामा २०६७ सालमा स्थापना संस्थानको दुग्ध विकास आयोजना कार्यालय र कारखाना कृषि थोक बजारको सटर छ । संस्थानले थोक बजार व्यवस्थापन समितिलाई मासिक ३८ हजार ६०० रुपैयाँ भाडा तिर्दै आएको छ ।

कैलाली, कञ्चनपुर र डडेल्धुराको आलिताल क्षेत्रबाट दैनिक चार हजारदेखि सात हजार लिटर दूध संकलन गर्दै आएको छ । सो कारखानाबाट संस्थानले तयारी दूध, दही, मोही, घिउ, लस्सी, पनिर, आइसक्रिमगायत उत्पादन गरी बिक्री केन्द्रबाट बिक्री गर्दै आएको छ । सो कारखानामा दैनिक तीन सय लिटर दूध खपत भइरहेको भट्टर्राइले बताए । बाँकी दूध कार्यालयले हेटौडा र पोखरास्थित दुग्ध विकास आयोजना कार्यालयमा पठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्