दुसित थानी हिमालयन रिर्सोटको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं- ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिर्सोट)ले आईपीओ जारी तथा निष्काशन गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
उक्त सम्झौतामा ओमस्टोन होटेल्सको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध निर्देशक रमेशकुमार हमाल र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड)को प्राथमिक शेयर सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
उक्त समारोहमा संस्थापकको तर्फबाट प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको उपस्थिति रहेको थियो । सन् २०२३ को चौथो त्रैमासिकदेखि सञ्चालनमा आएको दुसित थानी हिमालयन रिर्सोट काभ्रेपलाञ्चोकस्थित पात्लेखेत, धुलिखेलमा अवस्थित प्रसिद्ध थाई होटल ब्रान्ड दुसित इन्टरनेशनलको प्रमुख लक्जरी रिसोर्ट हो ।
हिमालय र उपत्यकाको मनोरम दृश्यसहितको पहाडको शिरमा रहेको दुसित थानी हिमालयन रिर्सोट अन्तराष्ट्रिय ब्रान्डको संरचना र प्रविधि मापदण्डमा निर्मित छ । नेपालको पर्यटन क्षेत्रको विकासको यात्रामा ”अद्वितीय उच्च-मूल्य एकीकृत रिसोर्ट” को रूपमा दुसित थानी हिमालयन रिर्सोट कोशे-ढुंगा स्वरूप स्थापना भएको कम्पनीको भनाई छ ।
राष्ट्रको ”उच्च मूल्यको पर्यटन लक्ष्य” प्राप्तिको लागि रिर्सोटले उत्प्रेरकको रूपमा काम गर्ने लक्ष्य राखेको छ । अन्तराष्ट्रिय (आतिथ्य शृङ्खला) ब्राण्ड दुसित थानीले नेपालसहित विभिन्न १८ वटा देशमा आतिथ्य सेवा प्रदान गर्दै आइरहेको छ र नेपालमा दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड) ले यसको प्रतिनिधित्व गरेको छ ।
राजधानी काठमाडौंबाट करिब ३८ कि.मि.मा रहेको दुसित थानी हिमालयन रिर्सोटमा शान्तपूर्ण तथा रमणीय वातावरणमा विभिन्न संघ–संस्थाले आफ्नो सम्मेलन, सेमिनार तथा कार्यक्रम पनि गर्ने गरेका छन् । सिटिजन्स क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सिटिजन्स क्यापिटलमा अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ तथा सिइओ सबिर बादे श्रेष्ठ रहेका छन् । नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटलमा सिटिजन्स बैंक र कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीको सह–लगानी रहेको छ ।