दाङका भूमिहीनलाई लालपुर्जा वितरणकाे तयारी

दाङ– जिल्लामा भूमिहीनलाई लालपुर्जा वितरणको कामलाई तीव्रता दिइएको छ । लमही नगरपालिकाले गत असार १० गते वडा–३ स्थित कान्छिगाउँका २३ भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेएको छ । लामो समयदेखि जग्गा जोतभोग गर्दै आए पनि पुर्जाविहीन भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाको लालपूर्जा वितरण गरिएको हो ।
लमहीमा जग्गाको पुर्जाको माग गर्दै एक हजार ३३२ भूमिहीन सुकुम्वासी परिवारसहित सात हजार ८३५ परिवारले निवेदन दिएको भूमि शाखाका प्रमुख प्रकाश भण्डारी जानकारी दिए । जसमा २३० भूमिहीन दलित र छ हजार २७३ अव्यवस्थित बसोबासी छन् । निवेदन दिएकामध्ये थप ७७ परिवारलाई लालपुर्जा वितरण गर्ने काम भइरहेको शाखा प्रमुख भण्डारीले बताए ।
लगत संकलन, फारम प्रमाणीकरण, जग्गा नापजाँचको काम सकेर पालिकाले भूमि आयोग दाङमा पठाउने र आयोगको निर्णय अनुसार जग्गाको नक्सांकन गरेर हकदाबीका लागि सूचना प्रकाशित गरिएको उनले जानकारी दिए । शाखा प्रमुख भण्डारीले भने, ‘जग्गा वितरणका लागि पालिकाले नक्सांकन गरेर सूचना निकालेको छ । सूचनामा कसैले हकदाबी नगरे आयोगमा पठाउने र आयोगमा पनि उजुरी नपरे जग्गाको पुर्जा वितरण हुनेछ ।’
७७ परिवारमध्ये वडा–३ जखेरामा २७ घर अव्यवस्थित बसोबासी, दुई घर भूमिहीन दलित र एक घर भूमिहीन सुकुम्वासी छन् । वडा–३ कै कान्छीटोलमा १८, वडा–४ को पथ्वरपुरुवामा १८, वडा–७ को हस्नापुरमा ११ घर अव्यवस्थित बसोबासीका लागि लालपुर्जा वितरणका लागि प्रक्रिया अघि बढेको छ । गढवा गाउँपालिकाले थप ३०९ अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरणका लागि प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ ।
सूचना अधिकारी सञ्जित पौडेलका अनुसार ३०९ परिवारको तथ्यांकक संकलन, प्रमाणीकरणसँगै नापजाँच गरेर सूचना प्रकाशन, फिल्ड बुक तथा नक्सा तयार गर्ने काम भइरहेको छ । सूचनामाथि कसैको दाबी विरोध नपरे गाउँकार्यपालिका हुँदै भूमि आयोगको निर्णय अनुसार जग्गाको पुर्जा वितरण गरिने सूचना अधिकारी पौडेल बताए ।
गढवा–१ को मलमलामा १०, वडा–२ को डाडाँगाउँमा २७५, वडा–३ को गोबरडियामा पाँच, वडा–४ को गोविन्दनगरमा ११ र वडा–५ को बाँकीमा आठ परिवारलाई पुर्जा वितरणका लागि अन्तिम चरणको काम भइरहेको छ । गढवामा पाँच हजार ९९४ परिवार अव्यवस्थित बसोबासी, एक हजार ९१ परिवार भूमिहीन सुकुम्वासी र भूमिहीन दलित ३१४ गरेर सात हजार ३९९ परिवारको निवेदन परेको छ । गढवामा नौ जना भूमिहीन दलित र सुकुम्वासी परिवारलाई गत साउनमा पुर्जा वितरण गरिएको थियो ।
जिल्लामा नापी भएका अधिकांश जग्गा वन क्षेत्रमा पर्ने, भूमिहीन दलित तथा सुकुम्वासीको तीन पुस्ते विवरण नभेटिनेलगायतका समस्या रहेपनि लमही र गढवासँगै राप्ती र राजपुर गाउँपालिकामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई पुर्जा प्रदानका लागि तीव्र गतिमा काम भइरहेको भूमि समस्या समाधान आयोग दाङका सदस्य सचिव एवम् नापी कार्यालयका घोराहीका प्रमुख पुरण चौधरी बताए ।
चौधरीका अनुसार लमही र राप्तीका आठ, गढवामा सात र राजपुर गाउँपालिकामा दुईवटा वडाको नापीको काम सकिएको छ । बबई, बंगलाचुली, दंगीशरण तथा घोराही उपमहानगरपालिकामा लगत संकलन गरेर जग्गा नापजाँचदेखि नक्सांकनसम्मको काम भइरहेको छ । शान्तिनगर गाउँपालिका र तुलसीपुर उमहानगरपालिकामा भने अन्य पालिकाको तुलनामा ढिलाइ भइरहेको छ ।
दाङमा छ हजार ५०३ घरपरिवार भूमिहीन दलित, दस हजार ९९२ परिवार भूमिहीन सुकुम्वासी र ५२ हजार ३४ अव्यवस्थित परिवार गरेर ६९ हजार ५३२ परिवारले जग्गाको पुर्जाका लागि आयोग दाङमा निवेदन दिएका छन् । जसमध्ये हालसम्म ८१ हजार ३९१ बिघा १८ कट्टा छ धुर अर्थात् ५५ हजार १२३.७९ हेक्टर जमिन अहिलेसम्म नापी भएको छ ।
भूमि समस्या समाधान आयोग दाङका विज्ञ सदस्य यज्ञनारायण आचार्यका अनुसार भूमिहीन सुकुम्वासी, दलित र अव्यवस्थित बसोबासीलाई जग्गाको पुर्जा दिनका लागि सात चरणको प्रक्रिया पूरा गर्नुपर्ने तर त्यस अनुसारको आवश्यक जनशक्ति नहुँदा काममा ढिलाइ भइरहेको बताए ।