Logo

महत्त्वपूर्ण भुक्तानी प्रणाली छुट्याउन नयाँ व्यवस्था

काठमाडौं– राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकमध्ये प्रणालीगत महत्त्वपूर्ण संस्था पहिचान गर्ने ‘फ्रेमवर्क’ जारी गरेको छ । केन्द्रीय बैंकले उक्त फ्रेमवर्कका आधारमा भुक्तानी प्रणाली संस्थाहरूको वर्गीकरण गर्ने नीतिगत व्यवस्था गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भुक्तानी प्रणाली सञ्चालकरूलाई प्रणालीगत महत्त्वपूर्ण प्रणाली पहिचान गरिने उल्लेख छ ।

सोही व्यवस्था कार्यान्वयन गर्न केन्द्रीय बैंकले प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली पहिचान गर्न आवश्यक फ्रेमवर्क तयार गरी जारी गरेको हो । फ्रेमवर्कअनुसार कारोबार सम्पन्न गर्ने समय र ठूलो आकारको भुक्तानी सञ्चालन गर्ने प्रणालीलाई महत्त्वपूर्ण सूचीमा राखिने छ । केन्द्रीय बैंकले देशको एक मात्र वा महत्त्वपूर्ण भुक्तानी प्रणाली पनि यस्तो सूचीमा पर्न सक्ने बताएको छ ।

केन्द्रीय बैंकले जारी गरेको फ्रेमवर्क अनुसार भुक्तानीको कुल आकारका आधारमा सबैभन्दा ठूलो भुक्तानी प्रणाली, कारोबार आकारका आधारमा सम्बन्धित खुद्रा बजारको एक तिहाइभन्दा बढी बजार हिस्सा वा कारोबार संख्याका आधारमा दुई तिहाइ बजार हिस्सा भएको भुक्तानी प्रणालीलाई प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणालीमा वर्गीकरण गरिने व्यवस्था छ ।

साथै, अन्य भुक्तानी प्रणालीहरूसँग उच्च स्तरको अन्तरसम्बद्धता रहेको प्रणाली पनि प्रणालीगत महत्त्वपूर्ण सुचीमा पर्ने व्यवस्था फ्रेमवर्कले गरेको छ । बढ्दो विद्युतीय भुक्तानीसँगै प्रणाली सञ्चालकको पूर्वाधार, सुरक्षा व्यवस्था, कारोबार राफसाफ समय र कारोबार आकारमा ध्यान दिँदै सम्भावित जोखिम न्यूनीकरण गर्न प्रणालीगत प्रणाली पहिचान गर्न फ्रेमर्वक जारी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार हालसम्म भुक्तानी प्रणाली सञ्चालकको संख्या ९ वटा रहेको छ । यीमध्ये कुन–कुन प्रणालीगत महत्त्वपूर्ण हुने भनेर आगामी दिनमा केन्द्रीय बैंकले सुची तयार गर्नेछ । उक्त फ्रेमवर्कका सन्दर्भमा अन्तर्राष्ट्रिय रूपमा पनि सुझाव एकीकृत गरी जारी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले केही समयदेखि वाणिज्य बैंकमध्येबाट पनि प्रणालीगत महत्त्वपूर्ण बैंक पहिचान गरी छुट्टै नियमन तथा सुपरिवेक्षण गर्ने प्रक्रिया सुरू गरिसकेको छ । सोही अनुसार बढ्दो विद्युतीय भुक्तानी ट्रेन्डका कारण भुक्तानी प्रणालीका जोखिम मध्यनजर गर्दै प्रणालीगत महत्त्वपूर्ण प्रणाली पहिचान प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्