चापाकोटको रामडाँडा पर्यटकले भरिभराउ

स्याङ्जा– चापाकोटको पर्यटकीय क्षेत्र रामडाँडा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । बर्खा सकिए लगतै दृश्यावलोकनका लागि पुग्ने आन्तरिक पर्यटकले रामडाँडा भरिभराउ भएको हो ।
पछिल्लो समय रामडाँडामा दैनिक करिब ३/४ सयको संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । जिल्लाका वालिङ्, गल्याङ्, हरिनाश, छिमेकी पाल्पा, गुल्मी, तनहुँ र पर्वत जिल्लाबाट आन्तरिक पर्यटक रामडाँडा पुगेका छन् । रामडाँडा पुग्ने अधिकांश आन्तरिक पर्यटकले धार्मिक मनोकांक्षा पुरा हुने अपेक्षासहित दृश्यावलोकनलाई प्राथमिकता दिने गरेका छन् ।
आसपासका विद्यालय, युवा क्लब, आमा समूहले भ्रमण गर्ने रामडाँडा युवायुवतीका लागि पिकनिक गन्तव्य बन्दै गएको छ । रामडाँडाबाट स्याङ्जाको उत्तरीभेग, पाल्पाको रामपुर उपत्यका, तनहुँ, कास्की, नवलपुर जिल्लाका पहाडी भूभाग दृश्यावलोकन गर्न सकिन्छ । विशेष गरी माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्णसहितका हिमश्रृखला अवलोकन गर्न पर्यटक आउने गरेको स्थानीय दानबहादुर थापाले बताए । चाडपर्व सुरु भएसँगै आन्तरिक पर्यटकले रामडाँडा भरिभराउ भएको थापाले सुनाए ।
चापाकोट नगरपालिकाको सक्रियतामा गण्डकी प्रदेश सरकारको सहयोगमा रामडाँडामा पछिल्लो सयम भौतिक संरचना बन्दै गएको छ । पुरानो मनकामना मन्दिरको जिर्णोद्धार, भगवान शिवको अग्लो प्रतिमा सहितको पार्क निर्माण, प्रतिक्षालय, पिकनिक स्थल बनाउन पछिल्लो ६ वर्षको अन्तरालमा सरकारका तर्फबाट झण्डै ४० लाख रुपैयाँ लगानी भएको छ । रामडाँडाको पर्यटकीय गतिविधि व्यवस्थापनको जिम्मेवारी स्थानीय सिर्जना क्लबले लिएको छ ।
आन्तरिक पर्यटकले भरिभराउ भए पनि नियमित श्रोत अभावमा पर्यटकलाई थप सेवा र आवश्यक सहजीकरण गर्न नसकिएको क्लबका अध्यक्ष निर्मल थापाले बताए । रामडाँडामा पर्यटकको आगमनसँगै आर्थिक गतिविधि बढ्दै गएको छ । स्थानीय युवाहरू स्वरोजगारमूलक आयआर्जनमा लागेका छन् । युवा–युवतीविहीन बन्दै गएको गाउँमा आन्तरिक पर्यटकले चहल–पहल बढाउँदै लगेको अध्यक्ष थापाले जानकारी दिए ।
रामडाँडा पुग्ने पर्यटकको बसाई लम्ब्याउन सके स्थानीयको आर्थिक उन्नतीमा टेवा पुग्नेमा थापाले बताए । पर्यटकीय क्षेत्र रामडाँडाबाट हिमश्रृखला र पहाडी क्षेत्रको दृश्यावलोकन गर्दा आनन्द हुने र सुखानुभूति मिल्ने गरेको पर्यटक बताउँछन् । जाडोयाममा घमाइलो र गर्मियाममा चिसो हावा पाइने रामडाँडा पुग्ने पर्यटकले वातावरणीय आनन्द लिँदै आएको उनीहरूले बताए । आन्तरिक पर्यटकले खचाखच भरिने रामडाँडामा बिदेशी पर्यटक नगन्य मात्रामा पुग्ने गरेका छन् ।
हिन्दु धर्मावलम्बिहरूको आस्थाको मनकामना मन्दिरमा साउन महिना बाहेक वर्षभरिको पूर्णिमाका दिन बलि चढाएर पुजाआजा गरिन्छ । बडादशैं र चैतेदशैंको पूर्णिमाका दिन ठूलो मेला र अन्य महिनाको पूर्णिमामा बलि चढाउन आउने आन्तरिक धार्मिक पर्यटकको संख्या पनि उत्तिकै छ । रामडाँडासँगै उपल्लो डाँडाको कोटकालिका मन्दिरमा त्यस क्षेत्रका हिन्दु धमार्वलम्बिहरूले पञ्चबली पुजा लगाउने गरेका छन् ।
सिद्धार्थ राजमार्गको पोखरा–बुटवल खण्डअन्र्तगत वालिङको मिर्दिबाट झण्डै २०, पृथ्वी राजमार्गको पोखरा–काठमाडौं खण्डको तनहुँको दुलेगौडाबाट हरिनाश हुँदै करिब ३० र पाल्पाको रामपुरबाट चापाकोट–८, दामाचौर हुँदै झण्डै ९ किलोमिटरको यात्रापछि चापाकोट नगरपालिका–५ सेखामास्थित समुन्द्र सहतदेखि झण्डै ११ सय मिटर उचाइमा रहेको प्याराग्लाईडिङगका लागि प्रचुर सम्भावना बोकेको रामडाँडा पुग्न सकिन्छ ।