Logo

नयाँ पर्यटकीय गन्तव्यः च्छो रोल्पा

च्छो रोल्पा ताल दोलखा जिल्लाको उत्तरी भेगमा पर्ने गौरीशंकर गाउँपालिकामा अवस्थित छ । समुद्री सतहबाट करिब ४ हजार ५ सय ८० मिटरको उचाइमा रहेको यो ताल नेपालकै सबैभन्दा ठूलो हिमताल हो । यो तालको नाम शेर्पा भाषाका दुई शब्द ‘च्छो’ अर्थात् ताल र ‘रोल्पा’ अर्थात् उपत्यका मिलेर बनेको पाइन्छ । रोल्वालिङ उपत्यकाको काखमा, गौरीशंकर हिमालको छायामा मुस्कुराइरहेको च्छो रोल्पा ताल प्रकृतिको अनुपम उपहार हो ।

च्छो रोल्पा हिमताल गौरीशंकर संरक्षण क्षेत्रभित्र समेत पर्ने भएकाले पदयात्राको क्रममा जैविक विविधताको आनन्द लिन सकिन्छ । यहाँको जंगलमा लोपोन्मुख प्रजाति रेडपान्डा, हिमचितुवा, थार, झारल, डाँफे, चिलिमे आदि जीवजन्तु र विभिन्न प्रजातिका गुराँस, सल्ला, धूपी र यहाँका रैथाने वनस्पतिहरूले यस क्षेत्रलाई थप विशेष बनाएको छ ।

यो क्षेत्र सांस्कृतिक मान्यताले समेत धनी छ । यात्राका क्रममा ढुङ्गाले छाएका घर, गुम्बाका ध्वजापताका, आलु र उवाका खेतले यहाँको हिमाली जीवनशैलीको सुन्दर झलक दिन्छन् । यहाँ बसोबास गर्ने शेर्पाको जीवनशैली, भाषा, वेशभूषा र परम्परा तिब्बती संस्कृतिसँग गहिरो रूपमा जोडिएको छ । उनीहरूको आतिथ्यता र सरल जीवनशैली पर्यटकका लागि एक प्रमुख आकर्षण हो । बेदिङ र ना गाउँमा रहेका प्राचीन गुम्बाहरू यस क्षेत्रका आस्थाका केन्द्र हुन् । यी गुम्बाहरूमा रहेका पुराना ग्रन्थ, मूर्ति र थाङ्का चित्रहरूले यस क्षेत्रको धार्मिक इतिहासलाई झल्काउँछ । यस क्षेत्रमा ल्होसार, मणि रिम्दुजस्ता पर्व मनाइन्छ ।

रोल्वालिङ उपत्यकालाई तिब्बती बौद्ध धर्ममा एक ‘बेयुल’ अर्थात् ‘पवित्र लुकेको उपत्यका’ को रूपमा लिइन्छ । आठौँ शताब्दीमा पद्मसम्भव–गुरु रिन्पोछेले तिब्बत र हिमालय क्षेत्रमा बौद्ध धर्मको प्रचार गर्दा भविष्यमा आउन सक्ने युद्ध, अनिकाल, महामारी र धर्ममाथिको संकट आदिबाट बच्नका लागि केही पवित्र स्थानलाई अभिमन्त्रित गरी लुकाएर राख्नुभएको थियो । यी स्थान भौतिक मात्र नभई आध्यात्मिक रूपमा पनि अत्यन्त शक्तिशाली मानिन्छन् जहाँ सच्चा साधकहरूले शान्ति, सुरक्षा र आध्यात्मिक उन्नतिका लागि शरण लिन सक्छन् ।

रोल्वालिङ उपत्यकाका विभिन्न पवित्र गुफाहरूमा गुरु रिन्पोछे ध्यान र साधना गरेको विश्वास गरिन्छ । साथै, बेदिङ गाउँनजिकै एक विशाल चट्टानमा स्पष्ट देखिने पाइलाको छाप गुरु रिन्पोछेको भएको जनविश्वास समेत रहेको छ । गुरु रिन्पोछेले पवित्र बनाएको यस भूमिमा कुनै पनि जीवको हत्या गर्नु ठूलो पाप मानिन्छ । त्यसैले रोल्वालिङ उपत्यकाका स्थानीय शेर्पा समुदायले परम्परागत रूपमा सिकार खेल्दैनन् र पशुबलि दिँदैनन् । यहाँका बासिन्दाहरू मासुका लागि बाहिरबाट ल्याइएका पशुपन्छीमा निर्भर हुन्छन्, तर उपत्यकाभित्र कुनै पनि जीवको हत्या गर्दैनन् । यो अभ्यासलाई ‘चेथर’ अर्थात् ‘जीवन मुक्ति’ को एक रूप मानिन्छ ।

राजधानी काठमाडौँबाट नजिकैको र सहजैको यात्रामा पुग्न सकिने च्छो रोल्पा हिमताल पुग्न दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट सिँगटी हुँदै छेतछेत, सिमीगाउँ, दोङगाङ, बेदिङ, ना गाउँ हुँदै पुग्न सकिन्छ । छेतछेतदेखि च्छो रोल्पासम्म करिब ४० किलोमिटर पदमार्गको पुनःनिर्माण तथा स्तरोन्नति भएको अवस्था छ । त्यस्तै, पदमार्ग रोल्वालिङ खोलाको किनारैकिनारबाट भएकाले ठाउँठाउँमा बनाइएका आकर्षक झोलुङ्गे पुलहरूले यात्रालाई थप रोमाञ्चक बनाउँछ । यो पर्यटकीय गन्तव्य नयाँ र भीडभाड नभएकाले एक अविस्मरणीय अनुभव बटुल्न सकिन्छ ।

विश्वमा सूचना र संचारको जगत्मा एक्काइसौँ शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोतसाधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र स्वदेशी तथा वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै विभिन्न ऐतिहासिक पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । देशमा बढ्दो बेरोजगारी समस्या समाधान गर्नका लागि धार्मिक पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायन रोक्दै जन्मभूभिमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको धार्मिक, प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताका आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै धार्मिक पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

च्छो रोल्पा हिमतालको क्षेत्रफल १.६५ वर्गकिमि छ भने पृथ्वीको बढ्दो औसत तापक्रम तथा जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लने क्रम बढेसँगै यसको क्षेत्रफल पनि बढिरहेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सन् २०२० मा प्रकाशित विस्तृत अनुसन्धान प्रतिवेदनले नेपालको कोसी, गण्डकी र कर्णाली बेसिनमा कुल ४७ वटा विस्फोटका सम्भावित खतरनाक हिमतालहरू पहिचान गरेको छ, जसमध्ये ३१ वटा श्रेणी–१, १२ वटा श्रेणी–२ र चारवटा हिमताललाई श्रेणी–३ मा राखेको छ भने च्छो रोल्पा हिमताल श्रेणी–१ मा पर्छ ।

च्छो रोल्पा ताल क्षेत्र भौगोलिक रूपमा संवेदनशील स्थानमा रहेकाले यस स्थानमा व्यवस्थित तवरले पर्यटनको विकास गर्नु अति आवश्यक छ । यस क्षेत्रको हिमाली जीवनशैली, यहाँको मौलिक रहनसहन, खानपान, वेशभूषा र संस्कृतिमा समेत पर्यटकको आगमनसँगै प्रभाव पर्ने हुँदा सोको संरक्षणका लागि विशेष कार्यनीति तथा रणनीति सुरुवातदेखि नै अपनाउन आवश्यक छ । यस क्षेत्रको दिगो पर्यटन विकासका लागि पर्यावरणमैत्री पर्यटन विधि अपनाई सोही अनुसारका होटल, होमस्टे, लजको स्थापना गर्न सकिन्छ । साथै, फोहोरमैला व्यवस्थापनका लागि ‘आफ्नो फोहोर आफैँ लैजाऔँ’ नीतिलाई कडाइका साथ लागू गरी पदमार्गका विभिन्न गाउँछेउमा कलर कोडसहितका कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था गरी नियमित फोहोरमैला व्यवस्थापन गर्न आवश्यक छ । त्यस्तै, पदमार्गको निर्धारित दूरीमा विश्रामस्थल, व्यवस्थित शौचालय र खानेपानीको व्यवस्था, सूचना बोर्ड, आपत्कालीन सम्पर्क सेवा, आपत्कालीन स्वास्थ्य सेवा र पर्यटकको सामान्य रेकर्ड राख्नेसमेत व्यवस्था गर्न आवश्यक छ । पहिरो जोखिमको क्षेत्रमा पहिरो नियन्त्रणका कार्यक्रमहरू गर्न सकिन्छ ।

ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै यहाँको धार्मिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो । गौरीशंकर गाउँपालिकाभित्र रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । अन्तरपालिका समन्वयमा स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै प्राकृतिक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, गुम्बा र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक छ ।

नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी दोलखाली बासिन्दादेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई व्यवस्थित तवरबाट प्रवद्र्धन गरिनु अहिलको समयको माग हो ।

प्रतिक्रिया दिनुहोस्