यो वर्ष पनि पर्यटक १२ लाख नबढ्ने

काठमाडौं– सन् २०२५ को पहिलो आठ महिना (जनवरी–अगष्ट) सम्ममा ७ लाख ३६ हजार ५ सय पर्यटकले नेपाल भ्रमण गरेका छन् । गएको वर्ष यही अवधिमा ७ लाख २० हजार ३ सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यो हिसाबले यस वर्ष पनि गएको वर्षको हाराहारीमा पर्यटक आगमन खुम्चिने देखिएको छ । सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक आगमन भएको थियो । औसतमा हालसम्म नेपाल आएको पर्यटकको तथ्यांक हेर्दा मासिक ९२ हजारको हाराहारीमा पर्यटक आगमन भएको देखिन्छ । यो वर्षका चार महिना बाँकी हुँदा मासिक १ लाख पर्यटक आए पनि कुल पर्यटक संख्या १२ लाख ननाघ्ने आँकलन गर्न सकिन्छ । मुख्य सिजन सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बरमा अधिकतम चार लाखसम्म पर्यटक आगमन हुने अनुमान जानकारहरुको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको जनवरीमा ७९ हजार ९ सय ९१, फेब्रुअरीमा ९६ हजार ८ सय ८०, मार्चमा १ लाख २१ हजार ६ सय ८७, अप्रिलमा १ लाख १६ हजार ४ सय ९०, मेमा ८६ हजार २ सय १६, जुनमा ७६ हजार ४ सय २५, जुलाईमा ७० हजार १ सय ९३ र अगष्टमा ८८ हजार ६ सय ८० जना पर्यटकले नेपाल भम्रण गरेका छन् ।
यो वर्षका शुरुवाती महिनामा पर्यटन बजार लयमा फिर्ता हुने क्रममा देखिएको थियो । तर, पछिल्लो समय भने पर्यटक आगमन उल्लेख्य वृद्धि हुन सकेको छैन । पर्वतारोहणको सिजन (अप्रिल, मे र जुन)मा पर्यटक आगमनमा केही वृद्धि भए पनि त्यसयता उल्लेख्य वृद्धि नभएको देखिन्छ ।
सन् २०२३ को पहिलो आठ महिना (जनवरी–अगष्ट) सम्म ६ लाख १ हजार ३ सय ६० पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस वर्ष कुल पर्यटक आगमन भने १० लाख १४ हजार थियो । कोभिड सुरु हुनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएका थिए ।
पछिल्लो समय छिमेकी मुलुक र अन्य स्रोत बजारबाट पर्यटक आगमन कम हुँदा समग्र संख्यामा असर परेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले बताए । उनले भने, ‘पर्यटक बजारमा प्रचारप्रसार नपुग्नु र पूर्वाधारको अभावका कारण नै पर्यटक आगमन नभएको हो ।
पछिल्लो समय कैलाश मानसरोवर जाने धार्मिक पर्यटकले गर्दा भारतीय पर्यटक आगमनमा वृद्धि भए पनि भारतीय र चिनियाँ पर्यटकको आगमन गत वर्षदेखि नै बढेको छैन ।’ पर्यटकीय गन्तव्यमा जाने सीमा आसपासका सडकलाई मात्र स्तरोन्नति गरे पनि भारतबाट धार्मिक पर्यटक प्रशस्त भित्र्याउन सकिने उनको तर्क छ । सन् २०२४ यता भारतीय धार्मिक पर्यटकको आगमन न्यून रहेको अध्यक्ष थपलियाले बताए । सरकारले जनकपुर, लुम्बिनी, पोखरा र काठमाडौं आवतजावत गर्न सडक राम्रो बनाउनुपर्ने र पर्यटन बोर्डले चीन र भारतमा प्रचारप्रसारमा जोड दिनुपर्ने धारणा उनको छ ।
सिजनमा सीमित सिट र त्रिभुवन विमानस्थलले अधिकतम क्षमतामा पर्यटक ल्याउँदा पनि सन् २०२५ मा १२ लाख हाराहारीमा पर्यटक आगमन खुम्चिने होटल संघ नेपाल(हान)का अध्यक्ष विनायक शाहले बताए । उनले भने, ‘छिमेकी मुलुकबाट पर्यटक आगमन वृद्धि नहुँदा नै पर्यटक आगमनमा कमी आएको हो । २०२४ पछि चीन र भारतबाट पर्यटक बढेका छैनन् । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत बजारमा उडान भर्न सकेको खण्डमा २० लाख पर्यटक स्वतः आउने वातावरण तयार हुने थियो ।’ यथास्थितिमा भने ११ देखि १२ पर्यटक आउने विश्लेषण उनको छ ।
कोरोना महामारीले थला परेको नेपालको पर्यटन बजार क्रमशः पुनरुत्थानको क्रममा रहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, ‘भारतबाट एयर इण्डिया एक्सप्रेस थपिँदा पनि भारतीय पर्यटकको संख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौं ।’
नेपालमा अहिले साना–ठूला गरेर वार्षिक ४० लाखभन्दा बढी पर्यटकलाई सेवा दिन सक्ने गरी पूर्वाधार निर्माण भएको छ । पछिल्ला दिनमा प्रत्येक महिनाजसो नयाँ होटल बनेर सञ्चालनमा आएको देखिन्छ । निजी क्षेत्रबाट होटल क्षेत्रमा ठूलो लगानी भए पनि सरकारले पर्यटक आगमन बढाउने गरी नीतिगत व्यवस्था गर्न नसकेको अवस्था छ ।