विषादी प्रयोगले निम्त्याउने समस्या

नेपालमा कृषिले अर्थतन्त्रमा गर्ने योगदान क्रमशः घट्दै गएको छ । झन्डै डेढ दशकयता बढेको बेमौसमी खेती र मौसम या याममै पनि बढी उत्पादन र बढी मुनाफा कमाउने होड र सुरक्षित भण्डारणको नाममा तरकारी, फलफूल तथा खाद्यान्नमा मानव स्वास्थ्यमा गम्भीर हानि पु¥याउने विषादी र रसायनहरू प्रयोग गर्ने प्रवृत्ति बढेको छ, जसले सबैलाई चिन्तित तुल्याएको छ ।
सरकारी तथ्याङ्कका अनुसार मुलुकमा वार्षिक झन्डै साढे ३ सय मेट्रिकटन रासायनिक विषादी आयात हुने गरेको छ । कृषि विभाग बाली सरक्षण निर्देशनालयले नेपालमा गत वर्ष ४५४.६ मेट्रिकटन विषादी आयात भएको र आयातीत विषादीमध्ये झन्डै ८५ प्रतिशत तरकारी प्रणालीमा आधारित सघन खेती भएका स्थानमा प्रयोग भइरहेको जनाएको छ ।
जबकि अवैध रूपमा तस्करीका माध्यमबाट पनि ठूलै मात्रामा गुणस्तरहीन र हानिकारक विषादी भित्रिने गरेको छ । यसरी भित्रिने विषादीको जथाभावी प्रयोग, असुरक्षित भण्डारण एवं अव्यवस्थित विसर्जनका कारण मानव स्वास्थ्य एवं वातावरणमा नकारात्मक असर परेको छ ।
विषादीको नकारात्मक प्रभावको चर्चा धेरै अघिदेखि चले पनि कृषि उत्पादनमा विषादी परीक्षण नभएकाले यो कुरैमा सीमित थियो । यसले विषादीको प्रयोग दिनदिनै बढिरहेको थियो, जसबाट विषादी विक्रेता तथा खासगरी तरकारी र फलफूलका बिचौलियाले अनुचित लाभ लिएका थिए भने कृषक र उपभोक्ता यसको मारमा परेका थिए । २०७१ असार महिनादेखि भने मुलुककै प्रमुख तरकारी बजार कालीमाटीमा विषादी परीक्षण पारम्भ भयो ।
सो प्रविधिबाट गरिएका परीक्षणको परिणामले ताजा तरकारी र फलफूलमा प्रयोग हुने गरेको विषादीको स्थिति भयावह रहेको देखिएको थियो । कालीमाटीमा थालिएको परीक्षणले विषादी प्रयोगको गम्भीर अवस्था देखाएपछि सम्बन्धित निकाय यसप्रति गम्भीर भए, जसले तरकारी र फलफूलमा विषादीको अवशेष देखिएमा जफत गरी नष्ट गरिनुका अतिरिक्त त्यस्ता कृषक र व्यवसायीलाई कारबाही गर्ने नीति लिइयो । यसपछि यसमा केही सुधार पनि देखिन थाल्यो, तर सीमित स्थानमा हुने यस्तो परीक्षणलाई छल्ने काम भने जारी नै छ ।
कृषि उत्पादन वृद्धि गर्न र तिनलाई जोगाउन विभिन्न किसिमका रसायन र विषादीको प्रयोग गर्नुपर्छ । यसका लागि विषादीको प्रयोग विश्वभर नै हुन्छ । तर, हामीकहाँ जथाभावी विषादी छर्ने र त्यसको प्रभाव कम नहु“दै उत्पादन बजारमा पठाउने तथा उपभोक्ताले पनि आवश्यक सुरक्षा उपाय नअपनाई उपभोग गर्ने प्रचलनले गर्दा यसको असर निकै बढी पर्ने गरेको छ । केही विषादीको असर तत्काल देखिने भए पनि कतिपयको दीर्घकालमा देखिने हुन्छ ।
यसैले विषादीको प्रयोगमा सजगता अपनाउनुपर्छ । उपभोक्ता मात्र होइन, विषादी छर्ने किसानसमेत यसबाट प्रभावित हुन्छन् । यसका लागि सर्वप्रथम किसानमा चेतना अभिवृद्धि गर्नुपर्छ । विषादी छर्दा अपनाउनुपर्ने सजगता तथा प्रतीक्षा अवधि सकिएपछि मात्र उत्पादन बजारमा पठाउनुपर्नेबारे कृषकहरूलाई जानकारी गराउनुपर्छ ।
विषादीको परीक्षण, चेकजाँच, नियमन र नियन्त्रण निरन्तर हुनुपर्छ, तर कृषकलाई हतोत्साहित गरिनु भने हुँदैन । किनभने कतिपय कृषकले विषादीको प्रभावबारे ज्ञान नभएका कारण देखासिकीमै पनि यसको प्रयोग गरिरहेका छन् । कृषकहरूमा रासायनिक मल र विषादीको प्रयोग कम गर्न चेतना जगाउँदै प्राङ्गारिक मल तथा घरेलु र जैविक विषादी बनाउने र प्रयोग गर्ने कार्यलाई प्रोत्साहन गर्नुपर्छ ।