लामो दूरीको यातायात नखुली होटल सञ्चालन गर्न सकिन्नः व्यवसायी «

लामो दूरीको यातायात नखुली होटल सञ्चालन गर्न सकिन्नः व्यवसायी

भैरहवा-लुम्बिनी क्षेत्रका पर्यटन तथा होटल व्यसावयीले पर्यटक आउने वातावरण नहभएसम्म होटल खोल्नुको कुनै अर्थ नरहेको बताएका छन् । आन्तरिक पर्यटन क्षेत्रको अवस्था र त्यहाका पर्यटन व्यवसायीसँग राय लिँदै हिँडेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीसँग सिद्धार्थ होटल संघ सान नेपालले भैरहवामा आयोजित अन्तरक्रियामा पर्यटन व्यवसायीले सो धारणा राखेका हुन् ।
उनीहरुले लामो दूरीको यातायात सञ्चालन नहुँदासम्म नेपालको पर्यटन बजार उकासिने सम्भावना न्यून रहेको र अहिलकै अवस्थामा आन्तरिक पर्यटक नआउने भन्दै लामो दूरीका यातायात, एक जिल्लाबाट अर्को जिल्लासम्मको यातायातका साथै बन्द रहेका पर्यटकीय स्थल, मठ मन्दिर, निकुञ्ज क्षेत्रहरु सर्वसाधारणका लागि नखुलेसम्म पर्यटक नआउने सिद्धार्थ होटल संघ सान नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सिपी) ले बताए । “अहिलेको अवस्थामा होटल सञ्चालनमा ल्याउनुको अर्थ छैन, पाहुना कोही आउँदैनन, एकाध कोठा बिक्री होला तर पर्यटक आउँदैनन ।” श्रेष्ठले भने, “जिल्ला भित्रैबाट सहज रुपमा मानिसहरु आउन नसकेको अवस्थामा अहिले पर्यटक आउलान भन्ने ठान्नु मुर्खता हो ।”
अहिलेको अवस्था भनेको पर्यटन क्षेत्रका पूर्वाधार कसरी बचाउने भन्ने मात्र रहेको व्यवसायीहरुको भनाई छ ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले अब आन्तरिक पर्यटक कसरी बढाउने, नयाँ गन्तब्य के हुन सक्छन, पर्यटन व्यवसायीलाई कसरी राहत सहुलियत दिन सकिन्छ भन्ने बिषयमा बोर्डले गृहकार्य गरीरहेको बताए । रेग्मीले पर्यटन व्यवसायीलाई हतोत्साही नहुन आग्रह गर्दै एक दिन फेरि पुरानै बाटोमा फर्किने विश्वास व्यक्त गरे । पर्यटन क्षेत्रलाई कसरी उकास्न सकिन्छ र कुन कुन माध्यमबाट राहत प्याकेज दिन सकिन्छ भन्ने विषयमा सरकारसँग छलफल पनि भइरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्