आर्थिक समृद्धिका लागि युवा उद्यमी नेतृत्वमा आउनुपर्छ «

आर्थिक समृद्धिका लागि युवा उद्यमी नेतृत्वमा आउनुपर्छ

विगतमा चुनाव भन्नेबित्तिकै झोला बोकेर जेलनेल बसेका तथा राजनीतिक विचार भन्न सक्नेहरू मात्रै चुनावी मैदानमा हुनुपर्ने सोच रहँदै आएको थियो । तर, पछिल्लो समय चुनावमा भने सबै राजनीतिक दलले आर्थिक समृद्धि र विकासका नारा सार्न थालेका छन् । मुलुकको राजनीति र क्रान्तिकारी कुरा मात्रै बिक्ने समाज अहिले विकास खोजिरहेको छ भने प्रत्येक घर आर्थिक समृद्धिका लागि लडिरहेको छ । पछिल्लो समयका पार्टीहरूको घोषणापत्र हेर्ने हो भने पनि समृद्धि र आर्थिक विकासकै मुद्दा अगाडि बढाएको पाइन्छ । मुद्दा मात्रै फेर्ने तर नेतृत्व नफेर्ने पार्टीहरूले अहिले निकट भविष्यमै हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि भने युवा उद्यमीलाई उम्मेदवारका रूपमा अगाडि सारेका छन् । विकास र राजनीतिलाई अगाडी बढाउने सोचका साथ राजनीति गरिरहेका ठूलादेखि साना व्यवसायीहरू पनि उम्मेदवार भएका छन्, जसबाट के प्रस्ट हुन्छ भने अब प्राविधिक रूपमा ज्ञान भएका व्यक्तिको पनि खोजी गरेर पार्टीहरू आर्थिक समृद्धिमा जान चाहेको बुझिन्छ । संघीय संरचनामा गएको अवस्थामा प्रदेशको स्थायित्वका लागि पनि लगानी भिœयाउने र वातावरण तय गर्न सक्ने नेतृत्वको आवश्यकता छ । नेपालको परिवेशमा यो अझै आवश्यकता नै भइसकेको छ । लगानीको ठूला कुरा गर्ने तर लगानी कसरी भिœयाउने भन्ने जानकारी नभएका राजनीतिक पार्टीका नेतृत्वलाई युवा उद्यमीको आगमनले पक्कै पनि सहज बनाउनेछ । देशभर सयौंको संख्यामा व्यवसायीहरू चुनावी मैदानमा होमिएका छन् । प्रस्तुत छ, केही युवा उद्यमी उम्मेदवारसँग कारोबारले गरेको कुराकानीको सार ः
 

प्रदेश नम्बर ४ लाई पर्यटनको राजधानी बनाउनेछु
राजेन्द्र बजगार्इं
उम्मेदवार
प्रदेशसभा सदस्य, गोरखा १ (ख)

लामो समय पर्यटन क्षेत्रमा सक्रिय छु । अगामी चुनावका लागि गोरखा क्षेत्र १ (ख) बाट प्रदेशिक संसद्का लागि नेपाली कांगे्रसको तर्फबाट उम्मेदवार बनेको छु । विकासका लागि राजनीति भन्ने मेरो मूल नारा हो । 
४ नम्बर प्रदेशमा पर्यटनको सम्भावना धेरै छ । यस क्षेत्रमा पोखरा, गोरखा, लमजुङलगायत जिल्ला पर्छन् । पर्यटनको राजधानी भनेकै ४ नम्बर प्रदेश हो । मनास्लु, अन्नपूर्ण क्षेत्रसमेत यही प्रदेशमा पर्ने भएकाले निर्वाचित भएमा पर्यटनको पूर्वाधार विकासमा जोड दिने र धेरैभन्दा धेरै पर्यटक भित्रयाउने अभियान चलाउने मुख्य योजना छ । 
नेपालमा वैदेशिक लगानी भित्रयाएर आमूल परिवर्तन गर्न सकिने भएकाले पर्यटन, कृषि तथा अन्य उद्योगको विकासमा लाग्नुको विकल्प छैन । राजनीतिक क्रान्ति सकिएकाले अब सबैले विकास र समृद्धि नै मुख्य एजेन्डा बनाउनुपर्छ । म नेपालमा धेरैभन्दा धेरै विदेशी लगानी भित्रिनुपर्छ भन्ने मान्यता बोकेर विदेशी भित्रयाउन दिनरात लागिरहेको छु, जसका लागि राज्यले नीति–नियम बनाउनुपर्छ । यसमा समयअनुसार परिवर्तन गराउनुपर्छ भनेर लागिरहेको छु । नेपालको समस्या भनेकै ३० वर्ष अगाडिका नीति–नियमले मुलुक चलाउन खोज्नु हो । तर, समय धेरै अगाडि बढिसकेको छ । यसको सुधार हुनु जरुरी छ । नेपालबाट विदेशमा लगानी गर्न मनाही छ । तर, यहाँ भित्री रूपमा भइरहेको छ । यदि दिने हो भने कानुनी बाटो बनाउनुपर्छ, हैन भने रोक्नुपर्छ । नेपालमा मुख्य गरी पर्यटन क्षेत्रमा विदेशी लगानी भियाउन सकिन्छ । अब मुलुक संघीय संरचनामा गएकाले सबैले आफ्नो प्रदेशलाई बलियो बनाउने योजना आगाडि सार्नुपर्छ ।
मुख्य कुरा के हो भने मुलुकलाई राजनीतिले सही ढंगले डो¥याउने काम गर्नुपथ्र्यो, तर हुन सकेन । त्यसैले अबको राजनीति भनेको विकासका लागि गरिनुपर्छ, आर्थिक उन्नतिका लागि गरिनुपर्छ । त्यसका लागि व्यवसाय बुझेको, विकास बुझेको मानिसलाई राजनीतिक नेतृत्वमा लिनुपर्छ । नेपाली कांग्रेसले नै अब विकास र समृद्धिको नेतृत्व लिनु जरुरी छ । 

लगानी सुरक्षा र पूर्वाधार विकासमै जोड दिन्छु
रमेश धमला 
उम्मेदवार
प्रदेशसभा सदस्य, धादिङ २ (क)

मैले ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष भई काम गरेको छु । मैले विगत लामो समयदेखि नेपालको पर्यटनलाई नजिकबाट नियालिरहेको छु । नेपाली कांग्रेसका तर्फबाट धादिङ क्षेत्र नम्बर २ को (क) प्रादेशिक संसद्का लागि उम्मेदवारी दिएर हाल चुनावी मैदानमा रहेको छु । प्रदेश नम्बर ३ रहेकाले पनि यहाँ प्रदेश सांसदहरू जिम्मेवार, सही नेतृत्व गर्न सक्ने आउनुपर्ने देखेर मैले उम्मेदवारी दिएको हुँ । प्रदेश नम्बर ३ मा राजधानी पर्ने भएकाले पनि यहाँ सम्भावनाहरूको खानी छ । लगानीका हिसाबले पनि यहाँ उर्वर रहेको छ । कृषि, पर्यटन अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रदेश नम्बर ३ नै सम्भावनाको क्षेत्र हो । सम्भावना भएको क्षेत्रमा सही नेतृत्व गर्न सक्ने र आर्थिक पक्ष बुझेको मान्छे नेतृत्वमा आउनु जरुरी छ । लोकतन्त्रलाई संस्थागत गर्दै आर्थिक समृद्धिमा जानु नै नेपालको अबको सही बाटो हो । यहाँ अब व्यवस्था परिवर्तनतर्फ लाग्ने प्रयास हुनु भनेको गलत बाटो हो । यसले मुलुकलाई अझ धेरै पछाडि लैजान्छ । यसका लागि आमव्यवसायी तथा सचेत वर्गले हस्तक्षेप गर्ने बेला आएको छ । यो भनेको चुनाव नै हो । प्रत्येक प्रदेशले विदेशी लगानीमैत्री वातावरण तयार गर्नु जरुरी छ । म प्रदेशसभामा निर्वाचित भएको खण्डमा समृद्ध अभियानलाई अगाडि सार्नेछु । 
मुख्य गरी तीन–चारवटा मुद्दा लिएर म अगाडि बढेको छु । पहिलो कुरा भनेको कृषिमा आधुनिकीकरण नै हो । कुन क्षेत्रमा कस्तो उत्पादन हुन्छ, सोहीअनुसार कृषिमा लगानी गर्नु आवश्यक छ, जसका लागि पुरानो सोचबाट कृषिको विकास सम्भव छैन । त्यस्तैगरी पर्यटन क्षेत्रको पूर्वाधारमा विकासमा जोड दिनु आवश्यक छ । विमानस्थल र सडक सञ्जाल विस्तार गर्न सके नेपालमा पर्यटनले फड्को मार्नेछ । यसतर्फ नेतृत्वको ध्यान जगाउन पनि हामीजस्तो व्यवसायमा लागेको र राजनीति बुझेको व्यक्ति संसद्मा आउनुपर्छ । यहाँ निजी क्षेत्रको लगानीका कुरा छन् । अझै पनि नेपालमा लगानी सुरक्षित हुने हो कि होइन भनेर त्रसित अवस्थामा निजी क्षेत्र रहेको छ । यसका लागि पनि अब सही नेतृत्व आउनु जरुरी छ । संघीय संरचनामा मुलुक गएपछि अब वित्तीय व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएको छ । अधिकार मात्रै दिएर हँुदैन । जबसम्म कुनै पनि प्रदेश आर्थिक रूपमा समृद्ध हुँदैन, तबसम्म संघीयताले स्थायित्व नपाउने भएकाले आन्तरिक तथा बाह्य लगानी भिœयाउनेलगायतका मुद्दा लिएर म चुनावी मैदानमा होमिएको छु । 

तातोपानी नाका सञ्चालनमा ल्याउने पहल गर्छु
राजेन्द्रकुमार श्रेष्ठ
उम्मेदवार
प्रदेशसभा सदस्य, सिन्धुपाल्चोक १ (ख)

सिन्धुपाल्चोक जिल्ला आफैंमा लगानीका हिसाबले अत्यन्त महवपूर्ण जिल्ला हो । नेपालको कुनै समयको लाइफ लाइनका रूपमा विकास भएको तातोपानी नाका पुनः सञ्चालन गर्ने मेरो मुख्य उद्देश्य हो । सिन्धुपाल्चोक पर्यटन, कृषि तथा अन्य लगानीको सम्भावना भएको जिल्ला हो । 
हालसम्म पनि हामीले कृषिलाई प्रविधिमैत्री तथा आधुनिकीकरण गर्न सकेका छैनौं । समृद्ध सिन्धुपाल्चोक निर्माणका लागि पनि निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जिताउनुको विकल्प छैन । स्वदेशी तथा विदेशी लगानी भिœयाउने तथा प्रदेश नम्बर ३ लाई समृद्ध बनाउन पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक छ । सिन्धुपाल्चोक जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगारी तथा पर्यटन पूर्वाधारको विकासमै मेरो पहिलो प्राथमिकता हुनेछ । शिक्षालाई आधुनिक स्तरको बनाउनुका साथै सामुदायिक विद्यालयलाई पनि सरकारले कम्प्युटर र इन्टरनेटको व्यवस्थासहित व्यावसायिक शिक्षामा जोड दिनेछौं । 
म सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यसमेत रहेकाले यहाँ लगानी कसरी भियाउन सकिन्छ भन्ने योजना रहेको छ । प्रदेशहरूलाई कसरी समृद्ध बनाउँदै आर्थिक रूपमा स्थायित्व गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नेछु । त्यसका लागि पूर्वाधार विकास नै मुख्य एजेन्डा हो । सिन्धुपाल्चोकमा पर्यटनका साथै हाइड्रोसमेत अपार सम्भावना भएकाले पनि लगानी भियाउन सहज वातावरण बनाउन सके प्रदेश आर्थिक रूपमा धनी हुनेछ । संघीय संरचनामा वित्तीय व्यवस्थापन गर्नका लागि पनि भिजन र मिसन भएको नेतृत्व आवश्यक छ ।


सोलुको विकासका लागि मेरो जित आवश्यक
प्रकाशसिंह कार्की
उम्मेदवार
प्रदेशसभा सदस्य, सोलुखुम्बु ‘क’

सोलुखुम्बु जिल्ला पर्यटकीय हिसाबले राम्रो गन्तव्य मानिए पनि विकासका हिसाबले भने पछाडि परेको छ । नेपालमा भन्दा गरिब र पछि विकासको गति लिएका देशको अवस्था अहिले धेरै सुुधार भइसकेको छ । नेपाल पनि विकास गर्न कठिन धरातल भएको मुलुक होइन । हामीले देश–विदेश घुमेर जानकारी लिएका हुन्छौं, त्यसलाई व्यवहारमा ल्याउन सके मात्र हाम्रो भ्रमण सार्थक हुन्छ । 
सोलुखुम्बुले विकास खोजेको छ, त्यही चाहना पूरा गर्न मलाई पार्टीले सोलुखुम्बु ‘क’ मा प्रदेशसभातर्फ टिकट दिएको छ । कार्गो व्यवसायीहरूको छाता संगठन नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनको अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य हुँदा पनि धेरै अुनभव प्राप्त भएको छ । यसले व्यवसायतर्फ जनताको सेवा अझ प्रेरित गर्नेछ भन्ने मैले बुझेको छु । नमस्ते कार्गोमा १० वर्ष सेवा गरी सन् १९९२ देखि आफ्नै व्यवसाय सुरु भएको हो । मेरा एजेन्डाहरू सोलुको विकास लागि केन्द्रित छन् । सोलुको आर्थिक विकास नै त्यहाँका जनताको समुन्नति भएकाले मैले यहाँ जित्नैपर्छ । अहिलेको अवस्था हेर्दा जित सुनिश्चितजस्तै छ । सोलुको पहिचान बनेको पर्यटन विकासमा लाग्ने र पर्यटन प्रवद्र्धन गर्न मेरो प्रयास रहनेछ । मैले चुनाव जितेँ भने राज्यले दिने सेवा–सुविधा केही नलिई सोलुको विकासमा खर्च गर्नेछु । मेरो उद्देश्य नै सोलुको आर्थिक विकास हो ।

प्रतिक्रिया दिनुहोस्