संघीयतासँगै सडकले समृद्धिको ढोका खोल्न सहयोग गरेको छ

महाकुलुङ गाउँपालिका कोसी प्रदेशको सोलुखुम्बु जिल्लामा पर्छ । तत्कालीन बुङ, छेस्काम र गुदेल गाविस समेटेर बनाइएको यो गाउँपालिका पर्यटकीय सम्भावना अपार भएको गाउँपालिकासमेत हो । मेरापिक, सिलुछो डाँडा, केन्पा डाँडाको तीनतिर सीमा रहेको यस गाउँपालिकामा वि.सं. २०६८ को जनगणनाअनुसार ११ हजार ८ सय ४७ जनसंख्या छन् । भौगोलिक विकटताका कारण विकासमा पछाडि नै रहेको यस गाउँपालिकाले समृद्धिको प्रशस्त सम्भावना भएर पनि खास प्रगति गर्न सकेको छैन ।
यद्यपि विकासका काममा बामे सर्दै छ । विशेष गरी संघीयता आइसकेपछि यहाँ सडकको पहुँच भएको स्थानीयहरू बताउँछन् । यहाँका करिब ७० प्रतिशत नागरिक कृषि पेसामा संलग्न छन्, जसमा महिलाहरू बढी भेटिन्छन् । यसबाहेक पुरुषहरू भने ट्रेकिङ पेसामा संलग्न छन् । गाउँपालिकाको विकास निर्माणबारे पालिकाले गर्दै आइरहेको कामलगायतका विषयमा महाकुलुङ गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङसँग कारोबारकर्मी परिवर्तन देवकोटाले गरेको कुराकानीको सार :
पूर्वाधार विकासमा यस पालिकाको अवस्था कस्तो छ ?
विकासमा धेरै चुनौती थियो । सडक पूर्वाधार विस्तारमा नै धेरै समस्या सिर्जना भयो । सडक पनि चाहिन्छ, तर मेरो जग्गाचाहिँ खन्न हुँदैन भन्ने सोचले निकै गाह्रो बनाएको थियो । त्यस्तो अवस्थामा जबरजस्ती गरेर पनि सडक बनाउनुपर्ने अवस्था सिर्जना भयो । सडक संघीयतासँगै आयो । यसले आवतजावतमा सहजमात्रै हैन, समृद्धिका ढोका खोल्नसमेत सहयोग गरेको छ । विगतमा मानिसले नै सामान बोकेर ढुवानी गर्नुपर्ने बाध्यता थियो । अहिले त्यो अवस्था छैन । जसले लागत पनि सस्तो बनाइरहेको छ । यससँगै विकास हुन थालेको हामीले महसुस गरेका छौँ ।
विकासमा स्रोतहरू कसरी उठाउनुभयो ?
हामीले गाउँपालिकाले नै बजेट विनियोजन गरेका हौँ । प्रदेश सरकारले पनि बजेटमा सहजीकरण गर्दै आइरहेको छ ।
यसबाहेक यस क्षेत्रमा के–कस्ता सम्भावना छन् ?
हाम्रो गाउँपालिकामा कृषिका कामहरू भइरहेका छन् । अहिले धेरै उत्पादन गरेर बिक्री–वितरण गर्न नसके पनि विभिन्न सीप सिकेर तरकारी उत्पादन हुन थालेको छ । टोलटोलमा समूह गठन गरेर चेतनामूलक तालिम, कसरी उत्पादन गर्ने, मलजल कसरी गर्ने, औषधि उपचार कसरी गर्ने भन्नेबारे सिकाउँदै आएका छौँ । यसबाहेक यहाँका धेरैजसो पुरुषहरू ट्रेकिङ गाइडलगायतको काम गरिरहेका छन् । प्राय: महिलाहरू कृषिमा संलग्न हुँदै आएका छन् । उत्पादन बिस्तारै हुँदै गएको छ । तर, बजारीकरण नहुँदा समस्या छ । बजारीकरण कसरी गर्ने भन्नेतर्फ अहिले योजना बनाउन थालिएको छ ।
यस गाउँपालिकाले अहिले कुन–कुन क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएको छ ?
बजेट विनियोजन गर्दा हामीले स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकतामा राखेका छौँ । धेरै बजेट यस क्षेत्रमा विनियोजन त गर्छौं । हामीले बजेट राख्दै गर्दा धेरै शिक्षकहरू राहत तथा अनुदान कोटामा राखेका छौँ । स्थानीय सरकारले स्वास्थ्यकर्मीलाई पनि हाम्रै दायित्वमा राखेको छ । यसरी बजेट विनियोजन गर्दा कार्यक्रमपर्याप्त भएको छैन । अहिले सडक पूर्वाधारलाई प्राथमिकता दिएका छौँ । यसका लागि पुल बनाउने काम गरिरहेका छौँ । स्वास्थ्यमा नागरिकलाई नि:शुल्क औषधिलगायतका काम गर्दै आएका छौँ ।
महाकुलुङ गाउँपालिकालाई पर्यटनसँग जोड्न के–के काम भइरहेको छ ?
यस गाउँपालिकालाई पर्यटनसँग जोड्न अहिले सडक पूर्वाधार बनाउने काम भइरहेको छ । बुङ, छेस्काङलगायतका क्षेत्रलाई पनि पर्यटनसँग जोड्नका लागि सोलुखुम्बुमै पर्ने पाँचपोखरी हिमाल जाने रुटसँग जोड्ने गोरेटो खन्नेलगायतका काम भइरहेका छन् । त्यसमा खानेपानीको पहुँच पुर्याउने, क्याम्पिङ, सूचना पाटीको व्यवस्था गर्नेलगायतका काम अहिले भइरहेका छन् । यसमा प्रदेश सरकारले केही बजेट विनियोजन गरेको छ । अहिले १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोहीअनुसार काम भइरहेको छ । समग्रमा हामीले पूर्वाधारमा प्राथमिकता दिएका छौँ ।
कृषिलाई अगाडि बढाउन पालिकाले के–के गर्दै आएको छ ?
कृषिमा पनि किसानलाई सहजीकरण गर्दै आएका छौँ । मौसमअनुसारको बीउ केही प्रतिशत छुट अनुदानमा दिँदै आएका छौँ । यसका लागि दर्ता हुनुपर्ने व्यवस्था छैन । हामीले यहाँका जो–कोही नागरिकलाई पनि बीउबिजन दिँदै आएका छौँ । साथै, खेती गर्नका लागि तालिमसमेत दिने गरेका छौँ । दर्ता प्रक्रिया छैन । यो प्रक्रिया निकै झन्झटिलो रहेछ । यहाँ किबीलगायतको खेती गरिन्छ । किसानलाई अग्र्यानिक र प्राङ्गारिक मल तथा जैविक विषादी बनाउने तालिम दिइन्छ । हामीले अहिले गाउँपालिकामा आधुनिक कृषि प्रणालीको सुरुवात भएको ठानेका छौँ । विभिन्न वडामा कृषि क्षेत्रलाई सहयोग गर्ने तालिम तथा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको छ । यसले कृषकको आयस्तर वृद्धि गर्नमा सहयोग पुर्याइरहेको छ ।
कृषिलाई व्यवसायीकरण गर्न केही पहल भएका छन् ?
कृषिलाई व्यावसायिक रूपमा लैजानका लागि विशेष केही भएको छैन । साझेदारी संस्था जी फाउन्डेसनसँगको सहकार्यमा मौसमअनुसारको तरकारी बाली उत्पादनका लागि सहजीकरण भइरहेको छ । तर, बजारीकरण नै भनेर काम भएको छैन । कृषि उत्पादन भएपछि बजार खोज्नुपर्ने अवस्था छ । त्यसको व्यवस्थापन गर्नका लागि अहिले नै विशेष योजना छैन ।
पर्यटनमार्फत पालिकाले कसरी समृद्ध बन्ने सोच राखेको छ ?
महाकुलुङमा पाँचपोखरी हिमाल, साल्पा, पर्यटकीय स्थल भुकुरलगायत छन् । पर्यटनलाई व्यवस्थित गर्न महाकुलुङको बुङ हुँदै पाँचपोखरी मेरापिकको क्षेत्रमा पर्यटकीय आवास सुविधाका लागि काम हुँदै छ । मुद्धि–खोङनादिङ रुटलाई खानेपानी तथा क्याम्पिङको व्यवस्था गर्ने काम भइरहेको छ । मुन्दुम ट्रेलसँग साल्पा, सिलुछोलाई जोड्नका लागि पनि काम भइरहेका छन् । यी कार्यक्रम नीति तथा कार्यक्रमअनुसार अगाडि बढ्दै छन् । महाकुलुङ क्षेत्रमा रहेका स्थानीय पदमार्ग घ्याङखर्क साल्पा सिलुछो–साउनेथान पोम्लालुङ–बुकुर–केन्पा गौवित्ता–जुक्तुस्को–पाँचपोखरीलगायतका रुटको पहिचान गरी गोरेटो बाटो निर्माणको काम भइरहेको छ । यसबाट पर्यटकको आवागमन बढाउने र आयआर्जन गर्ने योजना छ ।
संघ र प्रदेश सरकारले कत्तिको समन्वय गरिरहेका छन् ?
संघको बजेट हाम्रोमा त्यति आइपुग्दैन । प्रदेशको भने केही मात्रामा आइरहेको हुन्छ । तर समस्या, एउटा शीर्षकमा मागेको बजेट अर्को शीर्षकमा हालिदिन्छन् । त्यसले काम गर्न गाह्रो भइरहेको हुन्छ । कतिपय सम्पन्न भइसकेको आयोजनाको बजेट स्वीकृत नहुँदा भुक्तानी गर्न नसकिने समस्या छ । विगतमा स्वीकृत गर्ने, पारित गर्ने तर पछि अर्को अर्को शीर्षकमा बजेट जान्छ । आवश्यकता एउटा छ, अर्कै शीर्षकमा बजेट आउँछ, त्यो पनि आफ्नो पालिकामा आउँदैन । कामदारले भुक्तानी पाउन सकेका छैनन् ।