Logo

सिटिजन्स सदावहार योजनामा लगानीकर्ताले राम्रो प्रतिफल पाउने छन्

सिटिजन्स क्यापिटलले शुक्रबारदेखि सिटिजन्स सदावहार योजनाको सार्वजनिक निष्कासन गर्दै छ । पछिल्लो समय बचतको उपयुक्त विकल्प बन्दै गएको एसआईपी हो, यो । अर्थात् खुलामुखी म्युचुअल फन्डको रुपमा कम्पनीले यसलाई ल्याएको हो । यो कस्तो लगानी योजना हो, के–कस्ता विशेषता र फाइदा छन् भन्नेबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठसँग कारोबारकर्मीले गरेको कुराकानीको सार :

सिटिजन्स सदावहार योजना के हो ?
सिटिजन्स बैंकबाट प्रवद्र्धित योजना हो । यसको फन्ड म्यानेजर सिटिजन्स बैंककै सब्सिडरी सिटिजन्स क्यापिटल रहेको छ । यो म्युचुअल फन्ड हो । म्युचुअल फन्ड बन्दमुखी र खुलामुखी गरी दुई प्रकारका हुन्छन् । यो खुलामुखी योजना हो । यसमा लगानी गरिसकेपछि यसको युनिट नेप्सेमा ट्रेड हुँदैन । यसको नेट एसेस्ट भ्याल्यू (न्याभ) क्यापिटलले दैनिक रुपमा निकाल्छ र प्रकाशित पनि हुन्छ । सोही न्याभको भ्यालूमा लगानीकर्ताले बिक्री गर्न पनि सक्छन् । तर, हाम्रो चाहना लामो समयसम्म लगानी भइरहोस् भन्ने हो ।

यसको लगानी सेयर बजार, मौज्दात र डिबेन्चरमा हुन्छ । त्यसैबाट हुने आम्दानी नै क्यापिटलको आम्दानी हुन्छ । प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ५ करोड इकाइमध्ये पहिलो चरणमा न्यूनतम ४ करोड २५ लाख इकाइ सार्वजनिक निष्कासन गर्न लागिएको हो । योजनामा न्यूनतम १५ प्रतिशत अर्थात् ७५ लाख इकाइ कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेसनलका लागि सुरक्षित राखेका छौं । बाँकी इकाइ सर्वसाधारणका लागि खुलाएका हौं । योजनाको कुल आकार ५० करोड रुपैयाँ रहेको छ ।

यसमा छिटोमा असार १७ र ढिलोमा २७ सम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिन्छ । संकलित रकमबाट सेयर बजारमा अधिकतम ७५ प्रतिशत, मुद्दती निक्षेपमा १०, कल निक्षेपमा ५ र ऋणपत्रमा १० प्रतिशतसम्म लगानी गर्न सक्ने अधिकतम सीमा रहेको छ । योजनामा आवेदन दिन असार १७ सम्म समय निर्धारण गरिएको छ ।

उक्त अवधिमा सम्पूर्ण इकाइ बिक्री नभए असार २७ सम्म आवेदन खुला रहनेछ । यसलाई सिस्टमेटिक इन्भेस्टमेन्ट प्याल (एसआइपी) पनि भनिन्छ । यसमा बचतको केही रकम नियमित रुपमा बचत गर्न सकिन्छ । राम्रो प्रतिफल दिने गरी यो योजना ल्याइएको हो । विगतका म्युचुअल फन्डमा पनि राम्रो प्रतिफल दिएको रेकर्ड छ । त्यसले यसमा पनि अपेक्षा राम्रो छ ।

यसमा लगानी किन गर्ने ? लगानीकर्तालाई के फाइदा हुन्छ ?
नेपालमा अहिले लगानीका लागि सर्वसाधारणलाई मुद्दती निक्षेप, सेयर मार्केट र डिबेन्चर हो । जग्गा र सुन धेरै महँगो छ, लगानीका लागि । त्यसमा पनि मुद्दती निक्षेपमा ब्याजदर निकै कम भइरहेको अवस्था छ । यस्तो अवस्थामा बचतका लागि एसआईपी एकदमै राम्रो र आवश्यक हुन्छ भन्ने हाम्रो विश्वास छ । त्यसले एक त कम प्रतिफल आउने पनि चिन्ता भएन । त्यसबाट आएको प्रतिफलले आफ्नो जीवनमा प्रयोग गर्न सक्छौं ।

सिटिजन्स क्यापिटलमा प्रोफेसनल फन्ड म्यानेजरले लगानी व्यवस्थापन गर्ने भएकाले लगानीकर्ताले प्रत्यक्ष जोखिम लिनुपर्दैन । जोखिमका हिसाबले पनि यसमा कम जोखिम हुन्छ । सिटिजन्स क्यापिटलका यसअघि तीन वटा म्युचुअल फन्ड छन् । सीएमएस १ ले डिभिडेन्ड १३ प्रतिशत दिएको थियो । सीएमएस २, सीएमएस सुपर ३० ले पनि राम्रो प्रतिफल दिइरहेको छ । हामीले फरक–फरक विशेषतासहित यी योजनालाई अगाडि बढाइरहेका हुन्छौंं । अहिलेको खुलामुखी योजना पनि बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी ल्याइएको छ ।

यस्तो किसिमको योजना बैंकले पहिलो पटक ल्याएको हो । बैंकका ग्राहक र अन्य लगानीकर्तालाई नयाँ किसिमको लगानीको विकल्प बैंकले अफर गरेको हो । बन्दमुखी योजना नेप्सेमा सूचीकृत हुने भएकाले सेयर बजार घट्दा यसमा पनि घट्ने अवस्था आउँछ । तर, खुलामुखीमा त्यस्तो हुँदैन । त्यसले पनि यो लगानीकर्तालाई लाभदायक छ । बजारमा खुलामुखी मुचुअल फन्ड आधा दर्जन हाराहारी मात्रै छन् । यस्तो अवस्थामा हामीले पहिलो पटक यो फाइदा सबैलाई उपलब्ध गराउन लागेका हौं ।

यो ६–७ वटा लगानीका लागि ‘एसआईपी’ योजना सञ्चालनमा छन् । यस्तो अवस्थामा सिटिजन्सको अन्यभन्दा फरक हुने के–के आधार छन् ?
एसआईपीमध्ये कतिपयले राम्रो गर्न नसकेको अवस्था पनि हामीले महसुस गरेका छौं । केहीले मात्रै राम्रो गरिरहेका छन् । अन्य कम्पनीले यस्तो योजना ल्याइसकेका कारण उनीहरूले भोगेका चुनौती पनि हामीले महसुस गरेर नयाँ किसिमले यसलाई ल्याएका हौं । यसको सञ्चालन कसरी गर्ने भन्ने बारे करिब दुई वर्ष अनुसन्धान भएका छन् । त्यसकारण पनि यो बजार सुहाउँदो बनाइएको छ । यसमा सकेसम्म नागरिकलाई जोड्दै हरेक महिना बचत गर्ने बानी बसाउन पनि यो योजना विशेष छ ।

सेयर बजारमा नभिजेका मानिसका लागि पनि लगानीका लागि यसलाई उपयुक्त विकल्प बनाइएको छ । यसलाई सुरुवातमा १० रुपैयाँमै किन्न सकिन्छ । पछि किन्दा महँगो पर्ने अवस्था हुन सक्छ । न्याभ ११/१२ रुपैयाँ पुग्यो भने १० रुपैयाँमा किन्न पाइँदैन । यस्तै, आवेदन दिनेहरूलाई पनि जति आवेदन दियो, त्यति नै पर्छ । कसैलाई महिनामा ५–५ हजार एसआईपी गर्न मन छ र अहिले एक लाख डिपोजिट गर्छु भन्ने छ भने त्यो मिल्छ । अहिले लगानीकर्ताले सक्दो लगानी गर्दा सबैलाई राम्रो हुन्छ ।

जोखिम लिन नचाहने र नसक्नेका लागि यो बढी लाभदायक हो ?
हो । साक्षर नभएका व्यक्तिका लागि पनि यसले सहयोग गर्छौं । सचेत लगानीकर्ता नै लगानीका बेलामा बढी झुक्किरहने अवस्था आउने हुन्छ । सबैका लागि हामीले लक्षित गरेका हौं । ‘प्यासिभ इन्भेस्टर्स’का रुपमा लगानी गर्न यो योजना उपयुक्त हुन्छ । ‘डिसिजन मेकिङ’को समय हुने गल्तीबाट बच्न पनि यो उपयुक्त छ ।

यति धेरै एसआईपी उपलब्ध छन् । कति वटामा लगानी गर्ने ?
यसका लागि ३ वा ६ महिनामा एकपटक आफूले लगानी गरेको एसआईपीको न्याभ विश्लेषण गर्नु उपयुक्त हुन्छ । त्यतिखेर कति न्याभ र नेप्से सूचक थियो, अहिले कति छ हेर्ने, त्यसमा राम्रो देखियो भने लगानी गरिरहने होइन भने सिफ्ट हुने पनि विकल्प रहन्छ । साथै, अहिले हाम्रो एसआईपीमा लगानी गर्ने, विगतमा अरूकहाँ पनि गरिएको छ ।

अब केही समयपछि आफूले गरेका लगानीको तुलना गर्ने । जुनमा राम्रो छ, त्यसमा रहने । अरुको बचत पनि यतै सार्ने गर्न सकिन्छ । यसलाई जसको राम्रो न्याभ छ, उसको राम्रो भनेर बुझ्न सकिन्छ, सामान्य हिसाबमा । यसबाहेक विभिन्न कम्पनीका एसआईपी लिन सकिन्छ । यसलाई बैंक खाता जसरी लिन सकिन्छ । अर्थात्, दुई–तीनवटामा लगानी गर्ने र केही वर्षपछि जुन राम्रो छ, त्यसमा सिफ्ट हुने गर्न पनि सकिन्छ ।

अहिले सिटिजन्स क्यापिटलले के–कस्तो काम गर्दै आएको छ ?
हामीले लगानीमा विविधीकरण गर्दै आइरहेका छौं । म्युचुअल फन्ड, पोर्टफोलियो म्यानेजमेन्ट गर्ने काम पनि गर्दै आएका छौं । यस्तै आईपीओ, एफपीओ निष्कासन गर्ने काम गरिरहेका छौं । सेयर अन्डरराइटिङ र सेयर रजिस्टर्डको पनि काम गर्दै आएका छौं । यसबाहेक हामीले परामर्शदाताको रुपमा पनि काम गर्दै छौं ।

प्रतिक्रिया दिनुहोस्