बिक्री हुँदैन माटोका भाँडा «

बिक्री हुँदैन माटोका भाँडा

झापाको बाह्रदर्शी गाउँपालिकाकी गंगादेवी पण्डित माटोको भाँडा बनाउने काम गर्छिन् । गंगाले पुख्यौली पेसालाई निरन्तरता दिएकी हुन् । तर, बजारमा आएका प्लास्टिक र अन्य सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्दा उनले पुख्यौली पेसाबाट हात नै धुनुपर्ने अवस्था आउन लागेको सुनाउँछिन् ।
पहिले यसै क्षेत्रबाट ठूलो परिमाणमा माटोका भाँडा झापाका मुख्य बजारसहित विभिन्न ठाउँसम्म पुग्ने गरेको थियो । बजारमा माटो बाहेकका जस्तो भन्यो त्यस्तै सामग्री पाइने भएकाले आफूहरूले बनाएको माटोको भाँडा नबिक्ने हुँदा पेसा परिवर्तन गर्नुपर्ने अवस्था आएको उनी सुनाउँछिन् । पण्डित मात्र होइन अहिले बाह्रदर्शीमा रहेका कुमाल बस्तिमा अधिकांशको घरमा माटोका सामग्री बन्न छाडिसकेका छन् । “मेरो बुबाले पनि माटोको भाँडा र गाग्रो बनाउनुभयो, म पनि बनाउँदै आएको छु, तर बजारमा आएका अन्य सामग्रीसँग प्रतिस्पर्धा गर्न गाह्रो भइसक्यो, अब अन्य क्षेत्रमा मजदुरी गर्नुपर्ने अवस्था आएको छ,” बाह्रदर्शी गाउँपालिकाकै विलाश पण्डित भन्छन् । “हाट बजारसम्म पुग्दा पनि कुनै दिन त बोनीसम्म हुँदैन, सबै सामान बोकेर घर फर्किनुपर्छ ।”
झापाकै अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीका जितबहादुर कुमालले माटोको भाँडा बनाउन छाडेको ३ वर्ष बित्यो । बजार अभावकै कारण जितबहादुर पेशाबाट हात धोएको बताउँछन् । पहिले जस्तै अहिले खुदुनाबारीसँगै जोडिएको चुरे पहाडमा गएर माटो खन्न नदिने भएकाले पनि पेसा जोगाउन नसकिएको उनको भनाइ छ । “माटोको भाँडा बनाउन राम्रो माटो चाहिन्छ, जहाँ पायो त्यहाँको माटोले हुँदैन, पहाडको खाँदबाट माटो खनेर ल्याउनुपर्ने हुन्छ, मेहनत धेरै लाग्छ, अहिले पहाडको फेदमा रहेका वनमा माटो खन्न दिँदैनन्, त्यो पनि समस्या भयो,” जितबहादुरले भने, “मेहनत गरेजतिको लगानी नउठ्ने भएकाले पनि कुमाल जातिहरू पेसा परिवर्तन गर्न बाध्य बनेका छन् ।”
उद्धगम थलो गोर्खा जिल्ला रहेका कुमाल जातिहरू माटोको भाँडा बनाउँदै र उपयुक्त माटो खोज्दै हिँड्दा धेरै वर्ष अघि झापाको खुदुनाबारीमा कुमाल जातिको बसोबास सुरु भएको इतिहास भेटिएको कुमाल सुधार समिति झापा जिल्ला अध्यक्ष खड्कबहादुर कुमाल बताउँछन् । “माटोको भाँडा बनाउनका लागि यो क्षेत्रको माटो धेरै राम्रो भएकाले यो स्थानमा कुमाल जाति आएर बसेको पूर्खाहरूले बताउने गरेका छन्,” खड्कबहादुर भन्छन्, “अहिले जंगलमा माटो खन्न नपाइने र सामग्रीले बजार नपाउने हुँदा पेसा परिवर्तनसँगै बसाई सर्ने क्रम पनि बढेको छ ।”

देशभर असंगठित रूपमा कुमाल जातीहरू छरिएर बसेकाले पनि कुमाल जातिको संस्कृति, रीतिरिवाज, परम्परासँगै पुख्यौली पेसा पनि माँसिदै गएको खड्कबाहदुर बताउँछन् । “संगठित भए सबै कुरा जोगाउने अभियान चलाउन पनि सजिलो हुन्थ्यो तर कोही कता, कोही कता यसले गर्दा काम समस्या भयो,” उनी भन्छन् । पेसा संरक्षणमा स्थानीय तहले नै योजना बनाउनुपर्ने खड्कबहादुर बताउँछन् ।
झापामा कुमाल जातिको पेसा, संस्कृति र रीतिरिवाज संरक्षणका लागि कुनै पनि काम भएको देखिँदैन । राष्ट्रिय जनगणना २०६८ अनुसार झापामा कुमाल जातिको संख्या २ हजार ३ सय छ । तर, जिल्ला अध्यक्ष खड्कबहादुर झापामा ३ हजारको हाराहारीमा कुमाल जातिको बसोबास रहेको बताउँछन् ।
खुदुनाबारीमा मात्रै २ सय ६७ जनाको संख्यामा कुमाल जातिको बसोबास छ । यो स्थान जिल्लामानै दोस्रो धेरै कुमाल जातिको बसोबास भएको स्थान हो । पहिलो क्षेत्र दमक नगरपालिका हो । बाह्रदर्शी गाउँपालिका र कनकाई नगरपालिकाको घैलाडुब्बामा पनि कुमाल जाती उल्लेख्य छन् । ४८१ जनाको संख्यामा कुमाल जातिको बसोबास रहेको सरकारी तथ्याङ्कले देखाएको छ । झापामा सबैभन्दा कम १२ जनाको संख्यामा जुरोपानीमा कुमाल जातिको बसोबास छ ।
शैक्षिक, आर्थिक अवस्था कमजोर र सरकारले कुमाल जातिको पेसा संरक्षणका लागि चासो नदिएका कारण उनीहरूको जातीय पहिचान संकटमा पर्दै गएको छ । कुमाल जातिको पेशालाई टिकाइराख्न सरकार र स्थानीय तहले समेत केही योजना नबनाउँदा कुमाल जाति पेसा परवर्तन गर्ने र बसाइ सरेर अन्य जिल्लासमेत जान थालेका छन् । स्थानीय तहले योजना बनाएर उनीहरूको पेसालाई पनि बजेटमा समेट्दै स्थानीय बजारमा माटोका भाडालाई पनि प्रोत्साहन गर्न सके कुमाल जातिको लोप हुन लागेका पेसालाई टिकाउन सकिने कुमाल जातिका अगुवाहरू बताउँछन् । माटोको भाँडा बनाउनु कुमाल जातिको पुख्यौली पेसा हो ।

प्रतिक्रिया दिनुहोस्