अल्लोबाट चिनिँदै चित्रकली

प्यूठान- नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङकी चित्रकली बुढामगर १० वर्षको उमेरदेखि अल्लोबाट गाढाँ बनाइन् । मगर जातिमा महिलाले १० वर्षमै आफुले लगाउने गाढाँ बनाउनुपर्ने परम्पराअनुसार उनले गाढाँ बनाउन सिकिन् ।
सानै उमेरदेखि अल्लोको काम गर्न थालेकी चित्रकली अहिले जिल्लामै व्यावसायिक रुपमा अल्लो व्यवसाय गर्न थालेकी छिन् । विसं २०५७ देखि धागो खरिद–बिक्री, २०६२ सालमा अल्लोको धागोबाट कपडा बुन्ने तालिम लिएकी उनले २०६३ सालमा कोठी हिमाल अल्लो कपडा उद्योग दर्ता गरी बाहानेमा व्यावसायिक रुपमा अल्लो व्यवसाय सञ्चालन गरेकी हुन् ।
व्यावसायिक रुपमा अल्लो व्यवसायमा लागेकी चित्रकली प्यूठानकी एक सफल उद्यमी मानिन्छिन् । जिल्ला लघुउद्यम संघको संस्थापक सदस्य हुँदा जिल्लाबाहिर अल्लोको अवलोकन भम्रणमा गएको र यसले आफुलाई उद्योग स्थापनाका लागि प्रेरणा दिएको उनी बताउँछिन् ।
गत वर्ष अल्लोबाट लगभग ३६ लाखको कारोवार भएको उनी बताउँछिन् । महिलाले पहाडी भेगमा पाइने चाल्ने सिस्नो प्रशोधन गरेर धागो बनाई त्यसबाट झोला, कोट, गलबन्दी, टोपी, पछ््यौरीलगायत कपडा निर्माण गर्ने गरेका उनले बताइन् । उनीहरूले तयार गरेका कपडा तथा प्रशोधित धागोको माग जिल्लाबाहिर बढी छ । “यहाँको उत्पादन जिल्लाबाहिर नै बढी बिक्री हुन्छ”, उनले भनिन्, “यहाँ उत्पादित प्रशोधित धागो र सामान काठमाडाँै र पोखरा निर्यात हुँदै आएको छ ।”
उनले पछिल्ला वर्षमा मेला, महोत्सव र राजनीतिक दलका ठूला कार्यक्रममा अल्लोबाट निर्मित सामग्रीको प्रचारसँगै कारोवारसमेत गरिन् । उनीसँगै महिला उद्यमीले अल्लोका कपडा उत्पादन गरी वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । जिल्लाको उत्तरी भेगका लिघा, खवाङ, स्याउङ्लिवाङ, ओखरकोट लगायतका गाउँका महिलाले अल्लोबाट आम्दानी गर्दै आएका छन् ।
कोरिया विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट अल्लो पकाउने आधुनिक यन्त्रका लागि दुई लाख सहयोग पाएकाले यसलाई आधुनिक बनाउन सहज भएको उद्यमी उनले बताइन् । त्यस्तै उनले अघिल्लो वर्ष गाउँपालिकाले दुई लाख पाएको समेत बताइन् । उनले आफ्नो उद्योगमा पाँचजना बुन्नका लागि र चारजना सिलाउने गरी नौजनालाई रोजगारीसमेत दिइकी छिन् ।