Logo

रसुवा–भोटेकोसी तीन वर्षमै निर्माण गरिने

रसुवा-आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रसुवा–भोटेकोसी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । एक सय २० मेगावाट क्षमताको उक्त आयोजनाको मंगलबार गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा शिलान्यास गरिएको हो ।
गोसाइँकुण्ड–१ र आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण गर्न लागिएको आयोजनाको आयोजना निर्देशक दीपक खड्का, गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पू तामाङ तथा चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लिउ जियन झिनले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
झण्डै २० अर्ब ३९ करोड रुपैयाँ लागत रहेको आयोजनामा चिनियाँ निर्माण कम्पनीको ९० प्रतिशत तथा नेपाली पक्षको १० प्रतिशत लगानी रहनेछ ।
आयोजनाका निर्देशक खड्काले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको बताए । आयोजना सम्पन्न गर्न स्थानीयवासीको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे । सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न आयोजनाबाट मद्दत पुग्ने निर्देशक खड्काको भनाइ थियो । करीब १२ वर्षअघि सो आयोजना निर्माणबारे अध्ययन थालिएको थियो । यस अवधिमा पटक–पटकको छलफलपछि चिनियाँ लगानीकर्ता लगानी गर्न सहमत भएको निर्देशक खड्काले बताए ।
आयोजनाले देशको उर्जा विकासमा ठूलो टेवा पु¥याउने विश्वास लिइएको छ । पूर्वमन्त्रीसमेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता खड्काले १२ वर्षअघिदेखि देखेको सपना साकार भएको छ ।
उनले भने, “देशलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउनको लागि मैले उर्जाको विकासमा हात हाल्ने योजना बुनेको थिएँ । हिजोको हाम्रा दिनहरु कहाली लाग्दा थिए, दैनिक १८ घण्टासम्म हामीले लोडसेडिङ भोगेका थियौं । त्यो अवस्था देखेर मैले उर्जामा लगानी गर्नुपर्छ भन्ने सोच राखेको थिएँ ।”
उनले यो आयोजना निर्माणको लागि आफूले चिनियाँ लगानीकर्तासँग दर्जनौं पटक वार्ता तथा छलफल गरेको पनि सुनाए । त्यतिमात्रै नभएर उनले यही आयोजनाको लागि आफूले धेरै पटक चीनको भ्रमणसमेत गरेको सुनाए । खड्काकाअनुसार आयोजनाले २०७० सालमा स्वीकृति पाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार पार्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । नेपालको समृद्धिको लागि उर्जा, कृषि, पर्यटन क्षेत्र भरपर्दो आधार भएको पनि उनको भनाइ छ ।

उनले विकास र समृद्धिको लागि राजनीति गर्न नहुने तर्क गरे । नेपाल विद्युत्मा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेको बताउँदै यहाँ उत्पादित जलविद्युत भारत, बंगलादेश र चीनलगायतका छिमेकी मुलुकमा निर्यात गर्न सकिने पनि बताए । उनले भने, “आज बंगलादेशबाट विद्युत्को माग बढेको छ । हामी यहाँ उत्पादित विद्युत् बेच्छौं ।”
उनले नेपाल अब विस्तारै सम्पन्न हुने बाटोतर्फ अघि बढेको सुनाए । खड्काको कम्पनी लाङटाङ भोटेकोसी हाइड्रोपावर प्रालि आयोजनाको प्रर्वद्धन कम्पनी हो । उनले परियोजना तोकिएकै समयभित्र सम्पन्न गरिसक्ने पनि विश्वास दिलाए ।
आयोजना निर्माण गर्न कम्पनीले छ वर्षअघि स्वीकृति लिएको हो । आयोजनाको सुरुङ निर्माण थालिएको छ । फङलुङखोला र भोटेकोसीको दोभानदेखि करीब १५० मिटरमाथि भोटेकोसीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । यस क्रममा चार हजार ८३५ मिटर लामो सुरुङ निर्माण गरिनेछ भने चिलिमेखोला र भोटेकोसीको सङ्गमस्थलमा विद्युत्गृह निमार्ण गरिने आयोजनाले जनाएको छ ।
उत्पादन गरिएको विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत चिलिमे जलविद्युत् आयोजनाको चिलिमे ‘हब’मा जडान गरिने निर्देशक खड्काले जानकारी दिए । रसुवा–भोटेकोसी आयोजनाको प्रवद्र्धक कम्पनी लाङटाङ भोटेकोसी हाइड्रोपावर कम्पनी प्रालि रहेको छ ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष तामाङले जनप्रतिनिधिसित समन्यव गरेर काम गर्न आग्रह गरे । स्थानीय जनप्रतिनिधि र स्थानीयवासी विकास निर्माणमा बाधक नबन्ने उनले स्पष्ट पारे ।
“यहाँ निर्माण गरिने आयोजनाबाट स्थानीयवासीको जीवनस्तरमा परिवर्तन आउनुपर्छ” उनले भने ।

प्रतिक्रिया दिनुहोस्