ठूला सिँचाइ आयोजना कार्यान्वयन हुँदैनन्, साना योजनमा केन्द्रीत हुँदा हासिल भएन लक्ष्य
सिँचाइ सुविधा विस्तारमा प्रदेश सरकार असफल

धनगढी– प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको लक्ष्यअनुसार सिँचाइ सुविधा विस्तार गर्न सुदूररपश्चिम प्रदेश सरकार असफल भएको छ । यो आवधिक योजनाको अन्त्यसम्म प्रदेशमा ५८ प्रतिशत कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखिएको थियो ।
आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्म अवधि तोकिएको योजनाको अन्तिम वर्ष लाग्दा प्रदेशमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको जमिन ३२.२४ प्रतिशत मात्रै छ । कुल तीन लाख ६९ हजार ७९६ हेक्टर कृषि भूमि रहेको सुदूरपश्चिममा एक लाख दुई हजार ६९१ हेक्टरमा मात्रै वर्षैभरि सिँचाइ सुविधा उपलब्ध रहेको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
आवधिक योजनाको सुरुवातमा २९ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध थियो । यो अवधिमा ३.२४ प्रतिशत (११ हजार ९८१ हेक्टर) भूभागमा बाह्रै महिना सिँचाइ सुविधा थपिएको छ । लक्ष्य पुर्याउन प्रदेशमा एकै वर्ष २५.७६ प्रतिशत (९५ हजार २५९ हेक्टर) कृषि भूमिमा वर्षैभरि सिँचाइ सुविधा विस्तार गर्न आवश्यक छ । तर, यो सम्भव छैन ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनियर मोहन कुँवरले आवधिक योजना लक्ष्यअनुसार सिँचाइ सुविधा विस्तार हुन नसकेको पुष्टी गरे । ‘आवधिक योजनाको लक्ष्यअनुसार सिँचाइ सुविधा विस्तारमा लगानी पुगेको छैन,’ प्रवक्ता कुँवरले भने, ‘नेपाल सरकारले थप केही काम गरेको भए लक्ष्य पुग्न सक्ला । तर प्रदेश सरकारको तथ्यांकअनुसार लक्ष्य पुग्दैन ।’
प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको सुस्त प्रगति र प्रदेश सरकारले ठूला सिँचाइ योजना निर्माणमा तदारुकता नदेखाउँदा आवधिक योजना अनुसार सिँचाइ सुविधा विस्तारको लक्ष्य नपुग्ने भएको हो । गुर्गी सिँचाइ आयोजना र खुरखुरिया सिँचाइ आयोजना जस्ता सिँचाइ प्रणाली प्रदेश सरकारले निर्माण सुरु नै गरेको छैन भने प्रदेशका अन्य सिँचाइ योजनामा पनि स्किम–स्किमका लागि स–साना टुक्रे बजेट विनियोजन भइरहेको छ ।
आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई गत आर्थिक वर्षमा गुर्गी सिँचाइ आयोजना निर्माण गर्न २० करोड र खुरखुरिया सिँचाइ आयोजना निर्माण गर्न २६ करोड ७४ लाख रुपैयाँको त्रिवर्षीय स्रोत सहमति दिएको थियो । निर्माणका लागि ५/५ करोड रुपैयाँ विनियोजन पनि भएको थियो ।
आयोजनाको डीपीआर, स्वीकृत डिजाइन, नक्सा र लागत अनुमान मन्त्रालय र मातहतको कार्यालयमा सुरक्षित रहेको भनि बजेट सुनिश्चितता तथा बहुवर्षीय ठेक्का सहमति लिएको भौतिक मन्त्रालयले भनिएको तयारी नगरेकाले आयोजना कार्यान्वयनको प्रक्रिया नै सुरु नगर्दा बजेट सुनिश्चितता स्वत: रद्द भएको छ ।
प्रदेश सरकारले सञ्चालन गरिरहेका सिँचाइ योजनामा पनि ठूलो लगानी आवश्यक छ । तर, करोडौं लागत लाग्ने योजनामा १० देखि ३० लाख रुपैयाँ मात्रै विनियोजन हुँदा ती योजना वर्षौंदेखि अधुरा छन् । सिँचाइ आयोजना ठूलो भएपनि टुक्रा टुक्रा गरेर बजेट विनियोजन गरी योजना कार्यान्वयन गर्दा अपेक्षित सिँचाइ सुविधा विस्तार हुन नसकेको भौतिक मन्त्रालयले जनाएको छ ।
२५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यका साथ बाजुराको बडिमालिका नगरपालिका–७ मा राप्लेखोला ढम्कने सिँचाइ योजना पाँच वर्षअघि सुरु गरिएको थियो । तर यो अवधिमा मुहान निर्माण र तीन सय मिटर पाइपलाइन बिछ्याउने काम मात्रै भएको छ । चार किलोमिटर पाइपलाइन र मुहानलगायतको निर्माण कार्य गर्न एक करोड ४० लाख रुपैयाँ लागत अनुमान भए पनि गत वर्ष २५ लाख रुपैयाँ विनियोजन भएको थियो भने यस वर्ष पनि २५ लाख मात्रै विनियोजन भएको छ ।
यो योजना जस्तै सुदूरपश्चिम प्रदेशमा चार वटा सिँचाइ योजना क्रमागत रुपमा चलिरहेका छन् । प्रत्येक आर्थिक वर्षमा क्रमागत योजनाको प्रस्तावित बजेटमा ८० प्र्र्र्र्र्रतिशत रकम कटौती भई कार्यक्रम स्वीकृत भएकाले क्रमागत योजना सम्पन्न गर्न १० वर्ष लाग्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बैतडीले जनाएको छ ।
सुदूरपश्चिम सरकारले सिँचाइका लागि आर्थिक वर्ष २०७५/०७६ देखि २०८१/०८२ सम्म १४ अर्ब ५७ करोड ८२ लाख विनियोजन गरेको भएपनि सो बजेट खर्च हुन नसक्दा सिँचाइ सुविधा विस्तारको लक्ष्य नपुग्ने भएको हो । तथ्यांक अनुसार सुदूरपश्चिममा आंशिक सिँचाइ ८० हजार ४२० हेक्टर कृषि भूमिमा पुगेको छ भने जम्मा सिञ्चित कृषि भूमि एक लाख ८३ हजार १२५ हेक्टर छ । प्रदेशको दुई लाख ६७ हजार १०६ हेक्टर जमिनमा आकाशे पानीको भरमा खेती हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ ।