पुतलीबजारमा ५७ करोडका पूर्वाधार

स्याङ्जा– विकासको प्रमुख आधार भएको मान्दै तीनै तहका सरकार पछिल्लो समय सडक तथा पूर्वाधार निर्माणमा केन्द्रित छन् । सडक नबनेसम्म विकासमा पछि परिन्छ भन्ने हाम्रो मानसिकता छ । आमनागरिकको यस्तै बुझाइसँगै सरकारले पुँजीगत खर्चको ठूलो हिस्सा सडक र पूर्वाधार निर्माणमै लगानी गरेको छ । केन्द्र तथा स्थानीय तहले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाले सडकसमेतका पूर्वाधारमा झण्डै ५७ करोड लगानी गरेको छ ।
पुतलीबजारले ठूला सडक तथा पूर्वाधारतर्फ ९ वटा सडकमा ५२ करोड ६१ लाख ७६ हजार र सिँचाइ तथा खेलकुदमा ४ करोड ६७ लाख ८३ हजार रुपैयाँ लगानी गरेको नगर प्रमुख तुलसी रेग्मीले बताए । आर्थिक वर्ष २०८१/०८२ मा नगरका ठूला ११ वटा सडक र पूर्वाधार निर्माणमा ५७ करोड २९ लाख रुपैयाँ लगानी गरेको रेग्मीले जानकारी दिए ।
स्याङ्जा र तनहुँ जोड्ने प्रगतिनगर–बहाकोट, काल्खु सडकमा ३६ करोड ५३ लाख रुपैयाँ लगानी भएको पुतलीबजारको सबै भन्दा ठूलो योजना हो । करिब ७ किलोमिटर पक्की सडक संघीय सरकारमार्फत विश्व बैंकको झण्डै ४५ करोड सहुलियत ऋण सहयोगमा निर्माण गरेको पुतलीबजारले जनाएको छ । ट्रयाक खोलेको झण्डै २५ वर्षपछि स्तरोन्नति गरिएको सडक समयसिमा भित्रै एकै वर्षमा निर्माण सम्पन्न भएको हो ।
पुतलीबजारले पुतलीखेत–सतौ, आरुचौर जोड्ने सडकमा ७ करोड ५२ लाख, नयाँबजार–ठूलाडिही सडक स्तरोन्नतिमा ५ करोड १७ लाख लगानी भएको जनाएको छ । बाडखोला–नयाँबजार खण्डको चम्फापानीमा एक करोड १५ लाख लगानी भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले मसर्का–मोहोरिया, रामकोष–नयाँखोरिया, जाँडखोला–पेल्काचौर, नयाँबजार–पौवैगौडे, टक्सार र पुराना सडकको स्तरोन्नति गर्न झण्डै ३ करोड लगानी गरेको बताए । जिल्ला मुकाममै झण्डै ५ करोडको लागतमा १० वर्षपछि कभर्ड हल निर्माण भएको छ ।
गत वर्ष पुतलीबजारले दुई करोड ७५ लाख लगानी गरेपछि कभर्ड हल निर्माण सम्पन्न भएको हो । करोडौं लगानीमा वर्षौपछि बनेको कभर्ड हलमा ब्याडमिन्टनका ४ टिमलाई खेल्न मिल्ने दुईवटा कोट मात्रै छन् । पुतलीबजारले पूर्वाधारतर्फकै ठूला योजना सिँचाइमा एक करोड ९२ लाख, खानेपानी संरचनामा एक करोड ६ लाख, सरसफाई संरचनामा ३४ लाख ५० हजार र भवनको संरचनात्मक सुधारमा २० लाख ५० हजार लगानी गरेको जनाएको छ ।
गत वर्ष १४ वडाका दुई दर्जन सडकमा पुतलीबजारले करिब २ करोड रकम खर्चेर स्तरोन्नति गरेको जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ को एक अर्ब ३४ करोड ६० लाख रुपैयाँको बजेटमा एक अर्ब ११ करोड १४ लाख अर्थात ८२ प्रतिशत कुल वित्तीय प्रगति हासिल गरेको पुतलीबजारले पुँजीगत शीर्षकको भौतिक निर्माणमा ७९ प्रतिशत रकम खर्च गरेको छ ।