Logo

चौकीडाँडा–ओलानी सडक अलपत्र

धनगढी– डेढ वर्षमै निर्माण सम्पन्न हुने गरी कैलालीको चौकीडाँडा–ओलानी–फल्टुंडे सडक ठेक्का लिएको एड्भेन्चर थेगिम सनलाइट जेभीले काम नगर्दा सो सडक अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालय कैलालीले २०७७ साउन २४ गते सो सडकको चौकीडाँडाको कृष्ण मन्दिरदेखि वडा–१० को कार्यालयसम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्न सो निर्माण कम्पनीलाई ठेक्का दिएको थियो ।

पाँच करोड ४८ लाख २५ हजार १३ रुपैयाँमा ठेक्का कबोल गरेको भेजीले थेगिम कन्स्ट्रसनले गरी १८ महिनामा काम सक्ने गरी ठेक्का लिएको थियो । तर, थेगिमले काम नै नगरी पटक पटक म्याद थप गर्दा सडक अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालयले सोही सडकमा थप तीन किलोमिटर (१० नम्बर वडा कार्यालयदेखि बांगेसालसम्म) सडक कालोपत्रे गर्नका लागि २०७९ चैत १७ गते अर्को ठेक्का लगाएको थियो ।

सो ठेक्का अढाई वर्षमा सम्पन्न गर्ने गरी छ करोड ६१ लाख ४१ हजार २०६ रुपैयाँमा तेडी निर्माण सेवा प्रालिले लियो । यो ठेक्काको म्याद २०८१ साउन १७ गते सकिएपनि तेडीले काम गरेको छैन । पटक पटक म्याद थप गरेपनि तेडीले काम नगरेपछि यो ठेक्का पनि अलपत्र गरेको छ । यस सडकमा लगाइएका दुवै ठेक्काको भौतिक प्रगति ५०/५० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका इञ्जिनियर सूर्यप्रकाश जोशीले दुवै ठेक्कामा ग्राभेल हाल्लेसम्मको काम मात्रै भएको बताए । उनले ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि सबबेसको ग्राभेल हाल्ने बाहेक काम नभएको बताए । उनका अनुसार गत आर्थिक वर्षमा ४३ लाख रुपैयाँको मात्रै काम भएको थियो । सो सडकको ठेक्कावापत थेगिमले दुई करोड ८३ लाख ६९ हजार र तेडीले दुई करोड १८ लाख ३३ हजार भुक्तानी लिइसकेका छन् ।

पटक पटक म्याद थप गरेपनि काम नभएपछि यी कम्पनीलाई कारबाही गर्ने तयारी भइरहँदा खरिद नियमावलीको संशोधनले स्वत: आउँदो चैतसम्मको म्याद थपिदिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । इञ्जिनियर जोशीका अनुसार ठेकदारलाई कारबाही गरेर अर्को ठेक्का लगाउँदा समय बढी लाग्नुका साथै लागत पनि बढ्ने भएकाले प्रक्रियामा जान सकिएको छैन ।

उनले दुई वटा पुरानो ठेक्कामा काम नभएकाले सो सडकमा नयाँ ठेक्का पनि लगाउन नसकिएको बताए । चौकीडाँडादेखि बान्द्रे खालसम्मको सडकको लम्बाई १६ किलोमिटर छ भने यो सडकलाई फल्टुडेसम्म विस्तार गरी महाकाली हाइवेसँग जोड्ने योजना छ । प्रदेश सरकारले बांगेसालसम्मको सडक ठेक्का लगाए छ भने बांगेसालदेखि ओलानी, बान्द्रेखाल हुँदै कोलमुडासम्म सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का लगाएको छ ।

संघीय ठेक्काबाट भइरहेको कामबाट प्रगति भएपनि प्रदेशको ठेक्का अलपत्र परेको गोदावरी वडा–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताए । उनले बांगेसालदेखि ओलानीसम्म कालोपत्रे भइसकेको बताउँदै चाँडै नै कोल्मुडासम्म सडक कालोपत्रे हुने बताए । यो सडकको बान्द्रै खालबाट कोलमुडा हुँदै फल्टुडेसम्म ट्रयाक पहिले नै खोलिएको छ ।

विरोधमा सडकमै वडा कार्यालय सञ्चालन गरिने
सडक निर्माणका लागि ठेक्का लगाएको छ वर्षसम्म सडक निर्माण नभएपछि सो सडकमा पर्ने गोदावरी नगरपालिकाका वडा कार्यालयहरुले आन्दोलन गर्ने भएका छन् । गोदावरी नगरपालिकाको वडा–३, १०, ११ र १२ ले बिहीबारदेखि सडकमै वडा कार्यालय सञ्चालन गर्ने जनाएका छन् । यी चार वटै वडा कार्यालयका वडाध्यक्षहरुले बुधबार पत्रकार सम्मेलन गरी ठेकेदारको लापरवाहीविरुद्ध सडकबाट वडाबासीलाई सेवा दिने जनाए ।

वडा–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले ६ वर्ष पहिले नै सम्झौता भएको सडक निर्माण गर्न पटक पटक ध्यानाकर्षण गराएपनि ठेकेदारले काम नगरेकाले सडक निर्माणमा दवाव दिन सडकबाट वडा कार्यालयको सेवा सञ्चालन गर्ने निर्णय गरेको बताए । उनले दुवै ठेकेदारको लापरवाहीले सडक अलपत्र परेको बताए ।

थेगिम र तेडीले सम्झौतानुसार काम नगर्दा सडकमा खाल्डाखुल्डी भएको र आवतजावतमा कठिनाइ उत्पन्न भएको वडाध्यक्ष खड्काले बताए । उनले चार वटै वडा कार्यालयले संयुक्त रुपमा वडा–११ मा पर्ने चाक्लेखोलामा वडा कार्यालय स्थापना गरी वडाबासीलाई सेवा दिनुका साथै विरोध गरिने बताए ।

पटक पटक ठेकेदारलाई काम गर्न दवाव दिँदा काम गर्न आउने र केही दिनमै गायव हुने गरेको वडा–३ का वडाध्यक्ष तेजराज अवस्थीले बताए । उनले ठेकेदारबाट सडक निर्माण गर्ने प्रतिवद्धता नआएसम्म आन्दोलन जारी रहने बताए । उनले सडक अप्ठेरो भएको कारण वडाबासीहरुले रोजगारी गर्न समेत कठिन भएको बताउँदै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्