Logo

वडा कार्यालयको सेवा सडकबाट

धनगढी– कैलालीको गोदावरी नगरपालिकाका चार वटा वडा कार्यालयले चौकीडाँडा–ओलानी सडकबाट सेवा दिन थालेका छन् । गोदावरीको ३, १०, ११ र १२ नम्बर वडा कार्यालयले अपांग र जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता सम्बन्धीबाहेकका सेवा सडकबाट दिन थालेका हुन् । वडा–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले सामाजिक सुरक्षा भत्ताको नविकरण गर्ने अन्तिम महिना भएकोले सो सम्बन्धी काम वडा कार्यालयमै कम्प्युटर अप्रेटरमार्फत गरिरहेको बताए ।

उनले यस बाहेकका सेवाहरु लिन वडा वासीले आन्दोलन भइरहेको ठाउँमा आएर लिन सक्ने बताए । चौकीडाँडा–ओलानी–बान्द्रेखाल–कोल्मुडा–फल्टुडे सडकको चौकीडाँडा–ओलानी खण्डमा थेगिम कन्स्ट्रक्सन र तेडी निर्माण सेवाले छ वर्षदेखि कालोपत्रे गर्ने योजना अलपत्र पारेको विरोधमा ती वडा कार्यालयहरुल वडा–१० मा पर्ने चाक्लेखोला पुलमा वडा कार्यालय स्थापना गरेका छन् । आफूहरुले आन्दोलन सुरु गरेपछि प्रमुख जिल्ला अधिकारीले यस गोदावरीका नगरप्रमुखसंग कुरा गरेको खड्काले बताए ।

ठेक्का लगाउने पूर्वाधार विकास कार्यालय र ठेकदारका कोही पनि आन्दोलन स्थलमा नआएको बताउँदै उनले आफूहरुसँग वार्ता गर्न प्रशासन वडा कार्यालय स्थापना गरिएकै सडकमा आउनुपर्ने बताए । सडकमा परेको खाल्डाखुल्डीले गर्दा सामान्य आवत जावतमा मात्रै नभई एम्बुलेन्स, ढुवानीका साधन आउन, वडाबासीलाई रोजगारमा जानसमेत कठिन भएको भन्दै वडा कार्यालयहरुले आन्दोलन सुरु गरेका हुन् ।

सो सडक खण्डमा पर्ने कृष्णमन्दिरदेखि वडा–१० को कार्यालयसम्म २.५ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का हात पार्न थेगिमले एड्भेन्चर कन्स्ट्रक्सन र सनलाईट कन्स्ट्रसनसँग जेभी गरी पूर्वाधार विकास कार्यालय कैलालीले २०७७ साउन २४ गते ठेक्का लिएको थियो । थेगिमको ठेक्का सकिने स्थानदेखि बांगेसालसम्मको ३.१ किलोमिटर सडक कालोपत्रेका लागि तेडीले पूर्वाधार विकास कार्यालयबाट २०७९ चैत १७ गते ठेक्का लिएको थियो । पूर्वाधार विकास कार्यालय कैलालीले दुबै ठेक्कामा भौतिक प्रगति करिब ५०/५० प्रतिशत भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्