प्रदेश राजधानीमा तयार हुँदै मन्त्रालयका भवन

दाङ– लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लालमटियामा भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्यमन्त्री कार्यालयसहित दस वटा निर्माणाधिन भवनको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ ।
प्रदेश सरकारले गुरुयोजना अनुसार मण्डला आकारमा आकर्षक शैलीमा प्रशासनिक केन्द्र निर्माण गरिएको छ । मुख्यमन्त्री कार्यालय र अन्य नौ वटा मन्त्रालयको ८५ प्रतिशत निर्माणको काम सकिएको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख इन्जिनियर प्रदीप भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार प्रदेशको आफ्नै खर्चमा निर्माण भइरहेका आधुनिक भवनसहितका संरचना अन्तिम चरणमा पुगेको हो । निर्माणाधिन मुख्यमन्त्रीको कार्यालय छ तला र अन्य मन्त्रालयका भवन पाँच तलाका रहेका छन् । जसमा अपांगतामैत्री, लिफ्टसहित अण्डर ग्राउण्ड पार्किङको सुविधा रहेको आयोजनाले जनाएको छ ।
भौतिक संरचना निर्माणको काम सकेर अहिले फिनिसिङ अन्तर्गत रंगरोगनसँगै विद्युत, खानेपानी, एसीलगायतका संरचना जडानको काम काम भइरहेको छ । भवनको बाहिरी क्षेत्रअन्तर्गत सडक विस्तार, ढल निकास, नाली, फुटपाथ निर्माणसँगै सरसफाईको काम भइरहको प्रमुख भट्राईले बताए ।
राजधानी क्षेत्रको १७ बिगाह १९ कट्ठा चार धुर क्षेत्रफलमा निर्माण भइरहेका संरचनाको अन्तिम चरणको पुगेको प्रमुख भट्राईले बताए । उनले भने, ‘सबै मन्त्रालयका भवनको मुख्य निर्माणको काम सकिएको छ । अब फिनिसिङको काम भइरहेको छ । सम्झौता अनुसार यहि पुस २८ गतेसम्म सम्पन्न गर्नेगरी निर्माणको काम भइरहेको छ ।’
२०८२ पुस २८ गतेसम्म राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण सम्पन्न गर्न २०७९ मंसिर २८ गते शर्मा सगुन जेभी काठमाडौंसँग भ्याटबाहेक तीन अर्ब नौ करोडमा ठेक्का सम्झौता भएको थियो । राजधानीका लागि भौतिक संरचना निर्माणमा हालसम्म ६७ प्रतिशत अर्थात करिब दुई अर्ब सात करोड रुपैयाँ बराबर खर्च भइसकेको आयोजनाले जनाएको छ ।
सम्झौता भएको करिव दुई महिनापछि फागुनबाट निर्माणको काम सुरु भएको थियो । ठेक्का सम्झौता अनुसार अझै करिव चार महिना बाँकी रहेको र मुख्य काम भइसकेकाले सम्झौता मितिमै काम सकिनेमा विश्वस्त रहेको कार्यालय प्रमुख भट्टराईले बताए । मुख्यमन्त्रीको कार्यालयसहित दस मन्त्रालयका भवन निर्माणको काम सकिएपछि विभिन्न शाखा व्यवस्थापनमा सहजता हुने छ ।
पर्याप्त संरचना नहुँदा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय राप्ती गाउँपालिकाको भवन, स्वास्थ्य मन्त्रालय राप्ती गाउँपालिका–५ सिसहनिया स्थित वडा कार्यालय र कृषि, भूमि तथा सहकारी मन्त्रालय राप्ती गाउँपालिका–१ भालुवाङस्थित वडा कार्यालयबाट सञ्चालन भइरहेका छन् । अस्थायी राजधानी बुटवलबाट २०७९ मंसिरमा प्रदेशको स्थायी राजधानी दाङमा सारिएपछि राप्ती उपत्यका अन्तर्गत लालमटियास्थित तत्कालिन राप्ती प्राविधिक शिक्षालयको भवन व्यवस्थापन गरेर सञ्चालन हुँदै आएको छ ।
२०७७ असोज २० गते बुटवलमा बसेको प्रदेशसभा बैठकले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका–१, २ र ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिका–८ र ९ लाई केन्द्र मानेर तोकेको थियो ।